• मंगलबार-फाल्गुण-२०-२०८१

मदिराको बिर्को तस्करीको आरोप :  खनाल र गौतमविरुद्ध मुद्दा दायर

 

बुटवल । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत शशांक खनाल र रमेश गौतमलाई प्रतिवादी बनाएर राजश्व छलीको आरोपमा अभियोग पत्र दायर गरेको खबर छ । विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरेको आरोपमा उनीहरुविरुद्ध सोही ऐनको दफा ४ बमोजिम उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा अभियोग दर्ता गरेको बताइएको छ । प्रतिवादीहरु खनाल र गौतमविरुद्ध जनही रु.१ करोड ३० लाख २७ हजार २ सय ९० रुपैयाँ बिगो र जरिवाना असुलीसहितको माग दावीसहित अभियोग पत्र दायर गरिएको छ ।


खनाल रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका, वडा नं. १, बेलहिया निवासी हुन् । गौतम भने काभ्रे जिल्ला चौरी देउराली निवासी रहेको बताइएको छ । उनीहरुले विना स्रोतका ईम्पोर्टेड ह्वीस्कीलगायतका मदिराका ढक्कन अर्थात् बिर्को अन्य सामग्री चोरी तस्करी गरेको आरोपमा मुद्दा दायर अभियोगमा लगाइएको छ । उक्त आयातित सामग्रीको कानूनी प्रयोगको कुनै आधार, कारण  उनीहरुले प्रमाण पेश गर्न नसकेको बिभाग स्रोतले जनाएको छ । भन्सार चोरीपैठारी गरेका उक्त मालवस्तुको आयात गर्दा भन्सार महसुल, मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्कलगायत राजस्व चुहावट गरेको आरोप दायर अभियोगमा उल्लेख छ ।


राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (छ) र (झ) बमोजिम कसूर गरेको पुष्टि भएकोले सो ऐन, २०५२ को दफा २ (छ १) माथि उल्लेखित बिगोको शतप्रतिशत रकम र जरिबाना असुलको माग गरिएको छ । साथै, सोही ऐनको दफा २३ (१) (ख) बमोजिम प्रतिवादीहरुलाई हदैसम्म कैद सजायको माग दावीसहित बिभागले २०८१ फागुन १३ गते उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा अभियोग पत्र दायर गरेको विभागकी उप–महानिर्देशक एवम् प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । (साँघु साप्ताहिक, २०८१ फागुन १९)
 

प्रतिकृया दिनुहोस