• शनिबार-असार-२८-२०८२

मुख्यमन्त्री–मन्त्रीहरु हेरफेरको तयारी ?

 

काठमाडौं । एमाले र कांग्रेसको गठबन्धन सरकारले प्रदेश सरकारहरु हेरफेर गर्ने तयारी थालेका छन् । सबै प्रदेशको बजेट पास भएपछि सरकारहरु परिवर्तनका लागि प्रयास गर्न खोजेका हुन् । उनीहरुको पहिलो प्रयास मधेश प्रदेशबाट हुने भएको छ । प्रदेश सरकारका बजेट पारित भएपछि जनमत पार्टीलाई सरकार छोड्न भनिसकेको छ । कांग्रेसले अनौपचारिक रुपमा सरकार परिवर्तनका लागि जनमतलाई सन्देश दिइसकेको नेताहरुले बताएका छन् । २०८२ असार २२ गतेपछि सरकार हेरफेरका लागि तयारी हुुनु भन्दै मधेश प्रदेशका कांग्रेस सांसदले औपचारिक रुपमै धारणा राखेका थिए । 


प्रदेश सरकार परिवर्तनको कुरा मधेशबाट सुरु भएर अन्य प्रदेशमा केन्द्रित हुने तयारी भएको छ । अन्य प्रदेशमा भने मुख्यमन्त्री भन्दा पनि मन्त्रीहरु हेरफेर गर्ने तयारी भइरहेको कांग्रेस स्रोतले जानकारी दिएको छ । मन्त्रीहरु साटफेर गरेर पालो पु¥याउने प्रयासमा दलहरु रहेको भन्दै आलोचना पनि भइरहेको छ । एक वर्षको कार्यकाल पुगेका मन्त्रीहरुलाई फेरेर अर्को अर्को पठाउने र पार्टीभित्रको समीकरण मिलाउने प्रयासमा दलहरु रहेको पनि बताइन्छ ।


त्यसो त, मन्त्री फेर्ने कुरासँग कतिपय प्रदेशमा पनि मुख्यमन्त्री पनि परिवर्तन गर्नुपर्ने मसिनो आवाज उठेको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी दूरी सत्ता गठबन्धनभित्रै बढेको छ । कांग्रेसका जीवन बहादुर शाही र एमालेबाट मुख्यमन्त्री भएका यामलाल कँडेलवीच अविश्वासिलो सम्बन्ध रहेको छ । अनि गण्डकी प्रदेशमा पनि एमालेका खगराज अधिकारी र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेवीच सम्बन्ध निकटको रहेको छैन । पहिला नै अधिकारीले मुख्यमन्त्रीका लागि अडान राखेका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको अडानका कारणमात्रै पाण्डेले मुख्यमन्त्री पाएका हुन् ।

 

गण्डकी र कर्णालीको जस्तै समस्या भने सुदूरपश्चिममा पनि रहेको छ । त्यसैले, मन्त्री हेरफेरको कुरासँगै मुख्यमन्त्री पनि फेरबदलको कुरा उठ्ने डर पनि सत्ता गठबन्धनमा रहेको छ । सत्ता गठबन्धनभित्र दलहरुवीच असन्तुष्टि मिलाउन  नै समस्या भइरहेको छ । (साँघु साप्ताहिक, २०८२ असार २३)
 

प्रतिकृया दिनुहोस