काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि प्राप्त उपलब्धि र अधिकार रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स)को २६औँ स्थापना दिवसका अवसरमा आज भक्तपुरमा आज आयोजित कार्यक्रममा उहाँले आजको अधिकार प्राप्तिका लागि नेपालका राजनीतिक दलको त्याग, सङ्घर्ष र बलिदान भएको बताउनुभयो ।
महासचिव पोखरेलले २००७ को परिवर्तनपछि नेपाली जनताले केही अधिकार पाएका भए पनि पुनःराजाले त्यो अधिकार खोसेको उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक राज्य जति बलियो हुन्छ त्यति नै मानव अधिकार सुनिश्चित हुने धारणा राख्नुभयो । राज्यलाई मानव अधिकार विरोधी भनी गरिने परिभाषा नै गलत रहेको भन्दै यसले सामाजिक अराजकता बढाउने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले सामाजिक अराजकताले अन्ततःराज्यलाई कमजोर बनाउने र मुलुकको विकासलाई रोक्ने भनाइ राख्नुभयो । लोकतान्त्रिक राज्य मानवअधिकार विरोधी नभई मानव अधिकारको रक्षक भएको उहाँले बताउनुभयो ।
वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेले देश र जनताको हितमा काम नगर्ने उहाँको धारणा छ । उनीहरूले सामाजिक अराजकता बढाउने र प्रतिगमनलाई नै सहयोग पु¥याउने पोखरेलले बताउनुभयो ।
महासचिव पोखरेलले नेपालको आर्थिक विकासमा अहिले नयाँ चुनौती सिर्जना भएको बताउनुभयो । “काम गर्ने उमेरका सबै मान्छे विदेश गएपछि देश बन्छ कसरी ? काम गर्ने मान्छे सबै विदेश जाने, अनि देश बनेन भनेर गाली गर्ने, देश बनेन भनेर चिन्ता गरेर हुँदैन, यसका लागि देशमा नै बसेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । देशलाई समृद्ध बनाउने हो भने नागरिक समृद्धिको यात्रामा जुट्नैपर्ने उहाँको भनाइ छ ।
त्यस अवसरमा मानव अधिकार एलाइन्सका इञ्चार्ज विष्णु रिजालले एमालेलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । मानव अधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदीले मानव अधिकार उल्लङ्घनका घटना बढिरहेकाले सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस