काठमाडौं । नेपाल प्रहरीमा २०५५ साल कात्तिक र पुसगरी दुई पटक भर्ना भएर सँगसँगै जागिरमा प्रवेश गरेकाहरू तीन तह बढुवा भएर एसएसपी बन्न सफल भइसकेका छन् । तर, सोही व्याजका आठजना भने अझै वरिष्ठ सईको दर्जामा थन्किन बाध्य हुनु परेको गुनासो छ । सो व्याचबाट असईमा प्रवेश गरेर त्यसपछि निरीक्षकमा प्रतिस्पर्धा गरेकाहरु नेपाल प्रहरी र सशस्त्रमा दुई–दुई जना एसएसपी पदमा बढुवा हुन सफल भए । नेपाल प्रहरीतर्फ ४७ जना डीएसपी र २० जना एसपी भइसकेका छन् ।
सशस्त्रमा भने चारजना डीएसपी र ६ जना एसपी दर्जामा पुगिसकेको सम्वद्ध स्रोतले जानकारी दिएको छ । यस्तै, २०५८ सालमा असईमा भर्ना भएका १ सय २३ जनाको टोली २०६२ र ०६३ सालमा सईमा बढुवा भएका थिए । उनीहरूमध्येबाटै २०७८ फागुन÷चैत्रमा ९१ जना वरिष्ठ सईमा ‘पानी’ बढुवा भएको बताइन्छ । त्यसबेला हवल्दार र इन्स्पेक्टरको पाँच–पाँच सय दरबन्दी सिर्जना गरी बढुवा गर्नुपर्ने थियो ।
तर, तत्कालीन नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीको पहलमा सहायक, वरिष्ठ हवल्दार र वरिष्ठ सईको ‘पानी बढुवा’ दरबन्दी सिर्जना गरी बढुवा गरिएको स्रोत बताउँछ । त्यसबखत पहिलो र दोस्रो लटमा वरिष्ठ सईमा बढुवा हुनेहरू नै यतिखेर इन्स्पेक्टरको पदमा बढुवाको मुख्य दावेदार रहेको स्रोतले बताएको छ । हाल, प्रहरी निरीक्षक पदका लागि ५१ सिटमात्रै रिक्त रहेको अवस्थामा पुरानो टोली बढुवामा फेरि छुट्ने अवस्था रहेको स्रोत बताउँछ ।
संगठनमाथि निरन्तर दवाव
यतिखेर दुई वर्षपछि भर्ना र बढुवा भएका वरिष्ठ सईलाई भने इन्स्पेक्टरमा बढुवा गर्नुपर्ने दबाब राजनीतिक तहबाट संगठनको नेतृत्वमाथि पर्ने गरेको प्रहरी हेडक्वार्टर स्रोतले जानकारी दिएको छ । २०६३ बैशाख ११ गते अगाडि सशस्त्र द्वन्द्वकालमा युनिफाइड कमाण्डमा रहेर काम गरेका वरिष्ठ सईमध्ये कतिपयले हैदरावाद कमाण्डो तालिम पनि गरेका छन् । तर, त्यसपछि असईमा भर्ना हुने बिरलैले मात्र कमाण्डो तालिम लिएको स्रोत बताउछ ।
२०५८ सालमा भर्ना भएकालाई संगठनमा द्वन्द्वकालमा लडेका र दुःखको समयमा खटेको ब्याचीका रुपमासमेत हेरिने गरेको छ । कमाण्डो तालिम लिनेहरुलाई वाइपास गरेर मन्त्री, संवैधानिक निकायका प्रमुखहरूको वरीपरी बसेकाहरूलाई मात्र बढुवामा प्राथमिकता दिंदा फोर्समा निराशा बढ्ने गरेको बताइन्छ । यस ब्याचहरु दुई पटक इन्स्पेक्टरमा बढुवा भइसकेको जानकार स्रोतको भनाई रहेको छ । उनीहरुलाई पन्छाएर अर्को ब्याचकालाई बढुवा गर्दा संगठनमा राम्रो सन्देश नजाने अडानमा आइजीपी बसन्त बहादुर कुँवर रहेको बताइएको छ । तर, कमाण्ड र अडान दह्रो भएको भए द्दर जाने बेलामा न्याय दिन हच्किनु पर्ने थिएन । आइजीपी बसन्त बहादुर कुँवरको कमाण्ड नै फितलो रहेकाले फोर्सका कर्मचारीहरु अन्याय सहन बाध्य हुनु परेको अवस्था रहेको छ ।
यतिखरे बढुवाका दावेदारहरु २०५८ का असईहरू रहेका छन् । उनीहरुले जागिर खाएको २४ वर्ष र सईमा बढुवा भएको १८ र १९ वर्ष बितिसकेको छ । उक्त टोलीका कतिपय दावेदारलाई पन्छाएर २०६० मा भर्ना भएका १ सय २५ मध्येको लटका केही वरिष्ठ सईहरूलाई बढुवा गर्न संगठनको नेतृत्वमाथि दबाब पर्दै आएको स्रोतले बताएको छ । अहिले मन्त्री, संवैधानिक अंगका पदाधिकारी र अन्य विशिष्ट व्यक्तिहरूको निजी सुरक्षा अधिकृत (पिएसओ)हरुलाई बढुवा गर्नुपर्ने दवाव पर्दै आएको छ । उनीहरु प्रायः २०६० र त्यसपछि भर्ना भएका असईहरू रहेको बताइन्छ ।
२०६० मा मात्रै एकैपटक १ सय २५ जना असई भर्ना भएका थिए । ती सबै अहिले वरिष्ठ सईको दर्जामा कार्यरत रहेका छन् । त्यसकारण पनि केही दिन भित्रैमा इन्स्पेक्टरमा बढुवा सिफारिस गर्ने र घर विदामा बस्ने तयारीमा पुगेपनि गृह मन्त्रालयले आइजीपी कुँवरको विदा स्वीकृत नगरेको चर्चा छ । आइजीपी कुँवर भने सकेसम्म पीडित वरिष्ठ सईहरुलाई अन्याय हुन नदिने गरी बढुवा सिफारिस गर्ने पक्षमा लागेको सचिवालय स्रोत बताउछ । आईजीपी कुँवर १५ दिनपछि २०८१ चैत ५ गते ३० वर्षे सेवा अवधि पुगेर अवकाश हुँदैछन् ।
कुन–कुन पिसिओलाई बढुवा गर्न दवाब ?
नेपाल प्रहरीतर्फ आन्तरिक बढुवाका लागि ५१ इन्स्पेक्टर पद रिक्त रहेको छ । ती पदमा बढुवा सिफारिसमा पर्नको ‘अति विशिष्ट’, ‘विशिष्ट’ व्यक्ति अर्थात् भीभीआईपी र भीआईपीको सुरक्षार्थ खटिएकाहरुले दवाव बढाएको स्रोत बताउछ । ती वरिष्ठ सईहरुले बढुवाका लागि दवाव बढाएका कारण यतिखेर सिफारिस नै अन्योलमा परेको समाचार छ । प्रहरी इन्स्पेक्टरमा ६० प्रतिशत खुला र ४० प्रतिशत आन्तरिक बढुवा गर्ने हाल कानूनी व्यवस्था रहेको छ ।
हाल कुल १ सय १३ इन्स्पेक्टर पद रिक्त रहेको छ । जसमा ६२ जना खुला प्रतिस्पर्धाबाट छनोट गर्न सार्वजनिक सूचना प्रकाशित गरिनेछ । ५१ जनाका लागि भने आन्तरिक बढुवा प्रक्रियाबाट गरिने भएको छ । यसअघि नै ७५ इन्स्पेक्टरहरूको डिएसपीमा बढुवा भइसकेको छ । इन्स्पेक्टरमा बढुवाका लागि २०६० को पछिल्लो ब्याचीले शक्ति केन्द्रमा दबाव बढाएपछि सिफारिस नै अन्योलमा परेको प्रहरीको ‘कप्र’ स्रोत बताउछ । मुख्यतः प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्री, शक्तिशाली संवैधानिक निकायका प्रमुखहरुसँग रहेका पीएसओहरु बढी सक्रिय भएको बताइन्छ ।
शक्तिकेन्द्र प्रमुखहरुको अंगरक्षक अर्थात् पीएसओहरुले आफूहरु जसरी पनि बढुवा सिफारिसमा पर्नुपर्ने दवाव बढाएको चर्चँ छ । प्रहरी हेडक्वार्टर भने जति दबाब परेपनि इन्स्पेक्टरमा बढुवा सिफारिसमा अन्याय हुन नदिने पक्षमा रहेको कारण सिफारिस नै अन्योलमा परेको बताइन्छ । प्रधानमन्त्री ओलीको सुरक्षामा खटिएका वरिष्ठ सई विजय श्रेष्ठ, उप–प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलका पिएसओ रामबहादुर अधिकारी र पर–राष्ट्रमन्त्री डा.आरजु राणा देउवाको सुरक्षामा खटिएकी पीएसओ रश्मी सिलवालले शक्ति केन्द्रको आडमा दवाव बढाएको बुझिएको चर्चा छ ।
यस्तै, गृहमन्त्री रमेश लेखकका पिएसओ रमेश पाण्डे, अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त प्रेमकुमार राईका पिएसओ सनम राई, प्रमुख राईका आफ्नै भतिजो विजय राईलगायतले आफूहरु कुनै पनि हालतमा वरिष्ठ सईको बढुवामा छुट्न नहुने भन्दै दबाब बढाएको स्रोतले जनाएको छ । जसका कारण इन्स्पेक्टर पदमा बढुवा सिफारिस गर्न प्रहरी प्रधान कार्यालयका अधिकारीहरू नै अलमलमा परेको बताइएको छ । सिनियरहरूलाई पन्छाएर ब्याच नै टपेर बढुवा गर्न भिभिआईपीहरूबाटै दबाब परेको बताइन्छ । त्यसपछि अवकासका मुखमा रहेका आईजीपी कुँवर पनि अलमलमा परेको स्रोत बताउँछ । (साँघु साप्ताहिक, २०८१ फागुन १९)
प्रतिकृया दिनुहोस