• मंगलबार-फाल्गुण-२०-२०८१

राजधानीको मूल्य ५० हुँदा सोसाइटी जिल : श्रमजीवी पत्रकारलाई ‘तातो न छारो’ !

 

काठमाडौं । राजधानी राष्ट्रिय दैनिकले एकाएक आफ्नो मूल्य १०। रुपैयाँबाट बढाएर ५०। रुपैयाँ पु¥याएपछि मिडिया सोसाइटी नै जिल खाएको खबर छ । तर, श्रमजीवी पत्रकारबाट भने ‘हर्ष न विस्मात’को शैलीमा प्रतिक्रिया सामाजिक सञ्जालमार्फत आइरहेका छन् । राजधानीले विज्ञापन नै गरेर २०८१ फागुन १६ गते शुक्रबार चार सय प्रतिशत मूल्य बृद्धि गरेको हो । पत्रिकाले आफ्नो पहिलो पृष्ठमा ‘बिक्दै नबिक्ने पत्रिका, न बिक्छ, न त झुक्छ, अब रू. ५०’ भन्दै विज्ञापन नै गरेको छ ।

 

राजधानीका प्रकाशक तथा प्रबन्ध निर्देशक आशिष शेरचनले आफ्नो प्रकाशकीयमा २०७२ को महाभूकम्प, कोभिड–१९ महामारी, आर्थिक मन्दी, महँगी, विज्ञापन बजारमा गिरावट र छपाई सामग्रीको मूल्यवृद्धिजस्ता कारणले गर्दा पत्रिकाको मूल्य ५०। रुपैयाँ पु¥याउनुपरेको कारण दर्शाएका छन् । शेरचनलले कारण खोल्दै लेखेका छन्, ‘हामी बुझ्छौं कि पत्रिकाको मूल्य समायोजनले पाठकवर्गलाई केही असुविधा त पक्कै हुनेछ । तर, निडर भई सत्यतथ्यमा आधारित रहेर अरूभन्दा भिन्दै समाचार प्रेषित गरी हामी हाम्रा पाठकको सुसूचित हुने अधिकारको पूर्ण ग्यारेन्टी दिन प्रतिबद्ध छौं ।’ अरु दैनिक पत्रिकाहरूको मूल्य ५। रुपैयाँदेखि १०। रुपैयाँ हुँदा राजधानीको मूल्य एक्कासी चार सय प्रतिशतले बढाइएको छ । 


राजधानीको यस कदमले मिडियाका मालिकहरुको संस्था मिडिया सोसाइटीलाई नै चकित पारेकोे छ । पाठक र बजारको अवस्था नहेरी भएको यो निर्णयलाई कतिपयले राजधानीको दुष्साहसपूर्ण कदमका रुपमा लिएका छन् । मिडिया मालिकबाट संस्थापक रुपमा औपचारिक निर्णय नआए पनि अनौपचारिक रुपमा कुराकानी चलेको बताइएको छ । ‘सोसाइटीमा आबद्ध अधिकांश सदस्यको राजधानीको निर्णय अप्रत्याशित र आश्चर्यपूर्ण कदम भन्ने छ । सोसाइटीकै एक सदस्यबाट यस्तो निर्णय आउँदा अरु मिडियालाई नैतिक रुपमा दबाबसँगै अप्ठ्यारोमा धकेल्ने बुझाई छ,’ सोसाइटी निकट स्रोतले भन्यो । 


यता, राजधानीको निर्णयपछि पत्रकारहरूमाझ विभिन्न क्रियाप्रतिक्रिया आइरहेका छन् । मिडिया अध्येयता एवम् विज्ञ भानुभक्त आचार्य अप्रत्याशित रुपमा मूल्य बढेको विषयमा आश्चर्य मिश्रित कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अझ एक हजार मूल्य राखे त त्यहाँ काम गर्ने पत्रकार र कर्मचारीलाई तलब दिन नि पुग्दो हो । ५० ले धान्ला र ?’ यता, नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले राजधानीको अप्रत्याशित निर्णयबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेख्छन्, ‘सायद प्रकाशक वाक्क दिक्क भएर होला ।’ 


 पत्रकार खगेन्द्र भण्डारी पनि व्यंग्यात्मक टिप्पणी गर्दै लेख्छन्, ‘अनि बिक्दै नबिक्ने पत्रिकाको ५०। रूपैयाँ ? राम्रो आइडिया । ५। रूपैयाँमा पनि नबिकेपछि बरू ५०। रूपैयाँ बनाइदिएपछि उसै बिक्दैन, त्यसै बिक्दैन ।’ पत्रकार विनु सुवेदीले व्यङ्ग्यात्मक रुपमा लेखेकी छिन्, ‘यो पत्रिकाका साहुजीले पहिले–पहिले जागिर पनि तलब पनि दिन सकिन्न भन्थे रे, अब छाप्ने पनि बेच्ने पनि गर्न सकिन्न भन्नेमा पुगेछन् ।’ 


पत्रकार सविन धमलाले भने फरक मत राखेका छन् । उनी राजधानीको निर्णयलाई स्वभाविक भन्छन् । उनले लेखेका छन्, ‘सित्तैमा सूचना र समाचार पाइन्जेल यस्तै हो । रु ५० भोलि देखि ठहरै हुनेवाला छ । यो सत्य हो । तर बहस ‘सूचना र समाचार सित्तैमा पाइने सेवा हैन, किन्नु पर्छ’ भन्ने तर्फ मोड्नु पर्ने हैन र ? कम्तीमा यति गर्न सकियो भने ‘ठोककारिता’, ‘रोककारिता’ र ‘बोककारिता’ कम हुन्थ्यो । पत्रिकाको मनसाय के हो, त्यो यसै भन्न सकिएन तर बहस गर्न ढिला गर्न हुन्न ।’ 


अर्का पत्रकार सूर्य सुवेदीले मिडियाको हालत देख्दा दुःख लागेको बताएका छन् । राजनीतिक पार्टीका मुखपत्र बन्दा धेरै दैनिक पत्रिकाहरू स्वाहा भए । सगरमाथा दैनिकदेखि अहिलेसम्म हिसाब गरौं । त्यसैले मिडियालाई पार्टीको  मुखपत्र न बनाउ, श्रमजीवीको श्रमलाई उच्च सम्मान गरौं । पार्टीहरुले प्रयोग मात्रै गर्छन् संरक्षण गर्दैनन्,’ उनी लेख्छन् ।  


राजधानीका पूर्व सम्पादक डिल्ली आचार्यले राजधानीको निर्णयको ठाडो विरोध गरेका छन् । आचार्य फेसबुकमा लेख्छन्, ‘गलत गर्नु भो आशिष सर । न बढाएको मूल्य ठिक छ, न तय गरेको नारा ?’ अर्की शोभिता रिसालले पत्रकारहरूको तलबमा सुधार हुने आशा व्यक्त गर्दै ५०। रुपैयाँको मूल्य अनुसारको गुणस्तर पाउन पाठकहरूले पाउलान् ? भन्ने प्रश्न गरेकी छिन् । तर, कतिपयले सञ्चालकहरूको सम्पत्तिको कचिङ्गलले निम्तिएको सङ्कटका रुपमा अथ्र्याएका छन् । (साँघु साप्ताहिक, २०८१ फागुन १९) 
 

प्रतिकृया दिनुहोस