• बुधबार-फाल्गुण-१४-२०८१

ट्रम्पको पोलिसी : विश्वव्यापी संकटको संकेत  

 

राष्ट्रपति ट्रम्पले भूराजनीतिमा हलचल हुने गरी ‘मेक अमेरिका ग्रेट एगेन’को नारा कार्यान्वयन गर्दैछन् । अमेरिकी सहयोग रोक्ने, इलिगल इमिग्रेन्स निकाला गर्ने र भिषामा कडाइ गर्न थालियो । युव्रmेनमा गरिएको सैन्य सहयोगको ‘इन्ट्रेस्ट’ स्वरुप युक्रेनले आधा प्राकृतिक खनिज पदार्थसम्बन्धी पूर्णअधिकार अमेरिकालाई सुम्पिनुपर्ने ठाडो घोषणाले अमेरिकी सोच मात्र सार्वजनिक गरेन भूराजनीति समेत तरङ्गित बनायो । अमेरिकाले गर्दै आएको मानवीय समयोग र मानव अधिकारसम्बन्धी वकालतको पनि यसले पर्दा च्यातिदिएको छ ।


पुँजीवादी विश्वव्यवस्थाको कारण विश्व बजारमा मानिसलाई समेत वस्तुसरह विक्रीको साधन बनाइएका छन् । अमेरिकी धनाढ्य इलन मक्सले अमेरिकी सत्ता राजनीति र विश्वको व्यापार लगभग कब्जा गरिसके । असमान र अन्यायपूर्ण पुँजीवादी विश्व व्यवस्था र राजनीतिक, आर्थिक तथा सांस्कृतिक प्रणालीका कारण विश्वमा केही सय मानिसको सम्पत्ति विश्वका सात अरब जनताको बराबर भन्दा पनि बढी भयो । पुँजीवादी र उद्योगी वा व्यवसायी कम्पनीको हातमा विश्वको भूराजनीति र अर्थराजनीतिको सम्पूर्ण सम्यन्त्रको साँचो र चावी पुगिसक्यो । त्यसले पुँजीवादी विश्वमा एकछत्र शासन गर्दैछ । अमेरिकाले जे व्याख्या गर्दछ त्यै मानवीयता, मानवअधिकार र लोकतन्त्र हो भन्ने बनाइयो । अमेरिकी र पुँजीवादी कम्पनीले चाहेको शासन, प्रणाली वा व्यवस्था मात्र विश्वमा टिक्ने स्थिति बन्दैछ । 


यता चीनको समाजवादी गणतन्त्र पनि पश्चिमा र विश्वका ठूला कम्पनीको हितमै चलेको छ । चीनसँग वा चीनमा उनीहरूको  व्यापार छ र व्यापारिक सम्बन्ध रहेको छ । चीनको व्यापार अमेरिकी बजारमा ठूलो छ । यसले उनीहरू त्यहाँको समाजवादी प्रणालीलाई चुपचाप सहेर बसेका छन् । पुँजीवादी प्रणाली र विश्व व्यवस्थाले व्यापार र आफ्नो नाफा सिवाह केही हेर्न र सोच्न सकेन । उनीहरूले मानवीय संवेदनशीलता नै गुमाईसके । जहाँसुकै र जस्तोसुकै ठूला मानवीय संकट र समस्या हुन् वा भईरहुन कुनै मतलवको विषय भएन । यहीकारण अमेरिकाले युक्रेनमा ‘सहयोग’को नाममा भयानक हिंसा मच्चायो । अहिले सहयोगको साँवा र व्याजसमेत जोडेर युक्रेनको प्राकृतिक खनिजमाथि अमेरिकी नजर सिधै प¥यो । 


पुँजीवादी विश्व
भूराजनीतिमा आएको परिवर्तन र एकल धु्रवीय विश्व व्यवस्थाका कारण विश्वमा पश्चिमा विचारधारा, मान्यता, विचार, मूल्य, व्यवस्था, प्रणाली आदिको बोलवाला बढ्दै आयो । जसरी पनि आफू धनि हुने मात्र सोच्ने तरिकाको विकास र विस्तारले व्यापकता पायो । यहीकारण समाजवादी विचारधारा र सार्वजनिक हित तथा मानवीय मूल्य भन्ने कुरा हराएको छ । एकातर्फ दास प्रथा र कमारा–कमारी प्रथा र व्यवस्थालाई विश्वव्यापी रूपमा गैरकानुनी भनियो । उता बहुराष्ट्रिय कम्पनी तथा उद्योगहरूमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दलाल कम्पनीहरू मार्फत श्रमिक तथा नोकरहरू दाससरह नै बिक्री गरिदैछन् ।

 

मानवीय शक्ति तथा श्रमशक्तिलाई ठेक्का र दलाली प्रथाबाट सञ्चालित गर्ने तरिकाले मानिसहरू वस्तु समान बनाइए । करार र ठेकेदारी वा दलाली वा बिचमा बसी श्रम उपलब्ध गराउने एजेन्ट मार्फत नै सबै काम हुने भएकोले सिधै मालिक वा उद्योगी वा पुँजीपतिसँग श्रमिक सम्पर्कको ढोका बन्द गरिएका छन् । यो तरिकाले श्रमिक बजारबाट मानिस खरिद गर्ने र उद्योग–व्यापार सञ्चालन गर्ने विधि र व्यवहारले गर्दा विश्व बजारमा श्रमिक र सामान्य मानिसको दैनिकी थप कष्टकर बन्दै गएको छ । सरकार र राज्यले कुनै पनि क्षेत्र र सेवामा प्रत्यक्ष लगानी र व्यवस्थापन नगर्ने अभ्यास लागु गरिएका छन् । 


आम नागरिक तथा श्रमिकसँग सम्पर्क नै नगर्ने विश्व पुँजीवादी प्रणालीका कारण मानिस र श्रमिकहरू टुकुचामा विक्रीमा राखिएका खसि–बोका समान भएका छन् । नेपालमा समेत यही सोच र शैली अपनाइएको छ । जसले राजनीतिक प्रणाली, संवैधानिक प्रबन्ध, राजनीतिक र सामाजिक विचारधारा, समाजवाद उन्मुख संविधान, श्रमिक र मजदुर केन्द्रीत राजनीति जस्ता अवधारणा र मान्यता पुँजीवादी विश्वव्यवस्था र प्रणालीको छायाँमा परेको प्रस्ट हुन्छ ।

 

राजनीतिक दर्शन, मूल्य, विचार, सिद्धान्त तथा संवैधानिक व्यवस्था केवल काला र अमूर्त अक्षरले भरिने पुस्तकका पानामा मात्र देखिन्छन् । यस्तो स्थितिमा समाजवादी प्रणाली, सामाजिक न्याय, समानता, उत्पादनमा सामुहिकता, योजना र आय वितरणमा प्रत्येक नागरिकको भूमिका र सहभागिता जस्ता समाजवादी अर्थतन्त्र र अर्थव्यवस्थाका मूल्य र मान्यताहरू ध्वस्त बनाईयो । नागरिक हित तथा जनताको लागि गरिने राजनीति र दर्शनमाथि नै यस्तो खाले विश्व व्यवस्था तथा प्रणालीका कारण गम्भीर खतरा उत्पन्न भएको छ । उता अमेरिकी राष्ट्रपति ट्रम्पको मेक अमेरिका ग्रेट एगेनको नीतिले अमेरिकी पुँजीवाद नाङ्गो रूपमा आएको देखिन्छ ।


अमेरिकी नीति
सन् १९८९ मा तत्कालिन सोभियत संघको विघटन भई विश्व कम्युनिष्ट प्रणालीले ऐतिहासिक धक्का खाएपछि विश्व एकधु्रवीय पुँजीवादी प्रणालीमा गयो । सोभियत संघको पतनसँगै तत्कालिन सोभियत समूह (वार्सा सन्धि संगठन) समेत विघटन गरिएपछि समाजवादी सत्ता र आन्दोलनमा नै ठूलो धक्का पुग्यो । जसले भूराजनीतिमा अमेरिकी प्रभाव बढ्दै आएको छ । अर्काेतर्फ अमेरिकी नीति र राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिलो’ भन्ने सोच तथा व्यवहारका कारण भूराजनीतिमा अनेकौँ त्रास थपियो ।

 

अर्काेतर्फ ट्रम्पको आक्रामक नीतिले पुँजीवादी विश्व व्यवस्थामा अनेकौं प्रकारका सामाजिक, राजनीतिक, आर्थिक तथा अन्य समस्या र विश्वव्यापी सङ्कटहरू आउँदैछन् । नागरिक समानता, न्याय, पुँजीको समानुपातिक वितरण र व्यवस्था, समान अवसर तथा अधिकार, पछि परेका र पारिएका मानिसको हित र स्वार्थको रक्षा तथा सुरक्षा जस्ता आधारभूत मानवीय पक्षमा ध्यान दिन ‘नारा र नीति’ राष्ट्रपति ट्रम्पले पूरै लत्याएका छन् । ट्रम्पको ‘अमेरिका फस्ट’को नीतिले विश्वमा अनेकौं प्रकारका सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक समस्या र द्वन्द्वहरू बढ्ने प्रस्ट देखियो । 


 बहुराष्ट्रिय व्यापारिक कम्पनीहरूले ट्रम्प–इलन सत्तासँग टाइअप गरी विश्व बजार नियन्त्रण गर्ने सोच र नीति बनाएका छन् । पुँजीवादी विश्व व्यवस्था र प्रणालीले आम हित र मानिसको भलाई सोच्न सक्दैन भन्ने कुरा ट्रम्पका अभिव्यक्ति र व्यवहारबाट थप पुष्टि भइसक्यो । सन् २०२२ फेब्रवरी २४ बाट सुरु भएको युद्धका नाममा युक्रेनमाथि गरिएको आर्थिक सहयोग र कार्यशैलीको अहिले अमेरिकाले पूरै व्याजसहित असूल गर्न खोजेपछि त्यसले भूराजनीतिमा अमेरिकालाई नाङ्गो बनाएको छ ।

 

उता समाजवादी भनिएका चीन जस्ता मुुलुकहरूले अमेरिकी कार्यशैलीको टडकारो प्रतिरोध गर्न सक्ने अवस्था रहेन । यहीकारण अमेरिकी राष्ट्रपति ट्रम्प थप आक्रामक बन्दैछन् । जसको असर नेपालसम्म पनि परेको अनुभव गर्न सकिन्छ । ट्रम्पका घोषणा र पुँजीवादी विश्व व्यवस्थाका सोच, कार्य र नीतिबाट अब नेपाल आफ्नै बुताबाट अघि बढ्नुपर्ने प्रस्ट देखायो । विदेशी सहयोगका नाममा देशलाई परनिर्भर पार्ने नीतिको पुनर्विचार गर्नुपर्ने देखिन्छ । (साँघु साप्ताहिक, २०८१ फागुन १२)

प्रतिकृया दिनुहोस