• मंगलबार-पौष-२-२०८१

उद्योग–बाणिज्य मन्त्रालयमा बढ्दो बेथिति 

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहत निकायमा कार्यरत कर्मचारीहरुको अवधि नपुग्दै सरुवा भएको गुनासो बाहिर आउन थालेका छन् । मन्त्रालयले उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, खानी तथा भू–गर्भविभागलगायत निकायमा कार्यरत कर्मचारीहरुले अवधि नपुग्दै अन्तर निकायमा सरुवा गरेर दुःख दिएको गुनासो पीडित कर्मचारीहरुले गरेका छन् । जसका कारण उनीहरुको काम गर्ने मनोवलसमेत कमजोर हुन थालेको गुनासो पीडितहरुले गरेका छन् ।

 

खासगरी मन्त्री दामोदर भण्डारीको निजी र स्वकीय सचिवालयका कर्मचारीहरुले व्यक्तिगत स्वार्थका आधारमा यस्तो काम गर्दै आएको बुझिएको छ । मन्त्री भण्डारी सुदूपश्चिम निवासी भएपनि मन्त्रालयका अन्य प्रदेशका कर्मचारीहरुको वोलवाला निकै बढेको गुनासो पीडितहरुले  गरेका छन् । उद्योग विभागमा कार्यरत केही उपसचिवलाई बिना जानकारी र अवधि नपुग्दै बवरमहलस्थित वाणिज्य विभागमा सरुवा गरिएको स्रोतले जानकारी दिएको छ । तर, सो कुराको सुइँको पाएपछि उनीहरुले मन्त्री भण्डारीको निजी र स्वकीय सचिवालयमा कार्यरत केही कर्मचारीलाई गुनासो गरेका थिए । त्यसपछि थमौतीको लागि आवश्यक बन्दोवस्त गर्न सचिवालयमा कार्यरत कर्मचारी नगद माग गरेको भुक्तभोगीले बताएका छन् । अवधि नपुगी सरुवा गरेको विषयमा मन्त्री भण्डारीसँग गुनासो गर्दासमेत सचिवालयका कर्मचारीसँग ‘मिलाएर कुरा गर्न’ आग्रह गरेको स्रोतको भनाई रहेको छ ।

 


 मन्त्री भण्डारी नेकपा एमाले पार्टीमा राजनीतिक संभावना बोकेका नेतासमेत गनिन्छन् । तर, उनले दोश्रो पटक सो मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएपनि कर्मचारीलाई चित्त बुझाएर काममा लगाउन नसकेको गुनासो पीडित कर्मचारीहरुले गरेका छन् । मन्त्रालयमा कार्यरत उनी निकटका कर्मचारीहरुले गोप्य कोठामा बसेर दुई वर्ष अवधि नपुगेका कर्मचारीलाई अन्य निकायमा सरुवा गर्ने र आफू अनुकूललाई सरुवा गरेर अतिरिक्त लाभ लिने गरेको चर्चा हुने गरेको छ । त्यसका लागि नै कतिपय कर्मचारीहरुको एकवर्ष र कतिपयको डेढ वर्ष अवधि नपुग्दै सरुवा गरेर लाभ उठाउने गरेको गुनासो पीडितहरुले गर्दै आएका छन् ।


यी विषय बारेमा मन्त्री भण्डारी र सचिव कृष्णबहादुर राउतसमक्ष पीडित कर्मचारी गुनासो गरेपनि सुनुवाई हुन नसकेको उनीहरु बताउँछन् । आफू अनुकूलका केही कर्मचारीहरुलाई भने लामो समयसम्म कार्यरत रहेकै निकायमा लेनदेनको आधारमा थमौती गरिएको गुनासोसमेत बाहिर आएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा एकजना सुब्बास्तरका कर्मचारी चारवर्षसम्म लेनदेनका आधारमा थमौती भई कतै सरुवा भएर नगएको  स्रोतले बताएको छ । तर, आफूहरु भने सरुवा भएर गएको डेढ महिनामा नै अन्यत्र सरुवा हुनु परेको पीडितहरुको भनाई रहेको छ । (साँघु साप्ताहिक, २०८१ पुस १) 

प्रतिकृया दिनुहोस