• सोमबार-कार्तिक-१२-२०८१

अनमोल स्टार फिल्म ‘जेरी अन टप’ को छायांकन सुरु

 

काठमाडौँ । अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार बिहान पाटनस्थित बगलामुखी मन्दिरमा फिल्मको शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन शुरु भएको हो । मुहुर्तमा फिल्मका मुख्य कलाकारहरु केदार घिमिरे (माग्ने बुढा), विपना थापा, अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ लगायतको उपस्थिति थियो ।

 

मुहूर्तसँगै फिल्मको छायांकनका लागि निर्माण टिम धुलिखेल तर्फ लागेको छ । धुलिखेलमा फिल्मको तीन दिनसम्म छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । त्यसपछि काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन हुने बताइएको छ । फिल्मको छायांकन करिब ६० दिनमा सकिने भएको छ ।

 

सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतको पनि अभिनय रहनेछ ।

 

यसमा भुवन र विपनाले अनमोलको बुबा-आमाको भूमिका निर्वाह गर्नेछन् । १८ वर्षपछि उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने फिल्म आगामी फागुन २ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी निर्माण पक्षको छ ।

 

फिल्मको कथा हेमराज बिसीको हो भने विश्व तिमिल्सेनाको पटकथा छ । उज्जवल जोशीको छायांकन रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । 

प्रतिकृया दिनुहोस