• सोमबार-कार्तिक-१२-२०८१

इजरायली हवाई आ क्र म ण मा २४ घण्टामा ७० जनाको ज्या न गयो

काठमाडौं । इजरायली हवाई आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा करिब ७० जना व्यक्तिको ज्यान गएको जनाइएको छ ।

 

उत्तरी गाजामा आक्रमण जारी रहँदा तीन महिनापछि पुनः सुरु भएको युद्धविराम वार्ताले कुनै ठोस परिणाम देखाएको छैन । गाजामा विशेषगरी जबालिया, बेइत लहिया र बेइत हनुनमा केन्द्रित इजरायली सैन्य आक्रमणले चौथो हप्तामा प्रवेश गरेको छ ।


आइतबार इजरायलको तेल अविभको उत्तरमा रहेको रमात हशरोनमा ट्रकले बस स्टपमा ठक्कर दिँदा एक जनाको ज्यान गएको र ४० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

 

प्रहरीका अनुसार, यो आक्रमणलाई आतंकवादी घटना मानिएको छ र ट्रक चालकलाई गोली हानीएको थियो । हमास र इस्लामिक समूहले यस आक्रमणको प्रशंसा गरे पनि जिम्मा भने लिएका छैनन् ।


इजरायली सेनाले आइतबार कब्जा गरिएको पश्चिम किनारामा हिज्मा भन्ने ठाउँमा एक प्यालेस्टिनी व्यक्तिलाई सैनिकहरूलाई छुरा प्रहार गर्न प्रयास गर्दा गोली हानी हत्या गरेको बताएको छ ।


इजरायली सेनाले शनिबार उत्तरी गाजामा रहेको कमल अदवान अस्पतालमा छापा मारेपछि आइतबार बिहान अस्पतालबाट फिर्ता गएको थियो । घटनामा दर्जनौं पुरुष स्वास्थ्यकर्मी र केही बिरामीलाई नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ ।

 

२०८१ कात्तिक १० गते शनिबार साँझ बेइत लहियामा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने जबालियामा आइतबार बिहान भएको बम विस्फोटमा २० जनाको ज्यान गएको छ ।

 

शती क्षेत्रमा रहेको विद्यालयमाथि आक्रमण हुँदा ११ जना मारिएका छन । इजरायली रक्षा बल (आईडीएफ) ले जबालियामा ४० भन्दा बढी ‘आतंकवादी’लाई निसाना बनाएको दाबी गरेको छ भने बेइत लहियामा भने ज्यान जानेको एकिन संख्या सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


उता, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा फसेका सर्वसाधारणको अवस्था सहनै नसक्ने भएको बताएका छन् ।

 

युएनको कार्यालयले उत्तर गाजामा मृत्यु, घाइते र विनाशको उच्च स्तर देखेर महासचिव स्तब्ध भएको जनाएको छ ।


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भाषणको क्रममा गाजामा फसेका इजरायली बन्धकहरूको परिवारले उनको भाषण अवरुद्ध गरेका थिए । इजरायलीहरूले नेतान्याहूमाथि युद्धकै कारण बन्धकहरूलाई फिर्ता ल्याउनको लागि प्रयास नगरेको आरोप लगाएका छन ।


यसैगरी, लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको तीन स्थानमा भएको इजरायली आक्रमणमा कात्तिक ११ गते आइतबार कम्तीमा २१ जनाको ज्यान गएको छ । इजरायली सेनाले लेबनानी आतङ्कवादी समूह हिज्बुल्लाहसँगको लडाइँमा ७० भन्दा बढी लडाकू मारेको दाबी गरेको छ । साथै, इजरायलले आफ्ना पाँच सैनिकहरूको मृत्यु भएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस