• सोमबार-कार्तिक-१२-२०८१

बमको सूचना झुटो भएपछि दिल्ली फर्किँदै एयर इण्डियाको विमान

 

काठमाडौँ । काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना झुटो साबित भएको छ ।

 

सुरक्षा जाँचपछि विमानमा कुनै बम नभएको पुष्टि भएको हो । एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस विमानबाट दिल्ली १५८ यात्रु चढिसकेको अवस्थामा बमको सूचना आएपछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । जाँचका लागि प्रहरीले कुकुरसमेत परिचालन गरेको थियो । 

 

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको विमानमा बम रहेको सुचनापछि प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि विमानलाई नियन्त्रणमा लिएको थिए । बमको सूचना भने दिल्लीमा रहेको एयर इण्डियाको कार्यालयबाट काठमाडौं विमानस्थलमा आएको बताइएको छ ।

 

बमको सूचना झुटो साबित भएसँगै विमान दिल्ली फर्किने तयारीमा रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यसअघि अघिल्लो साता पनि भारतको भिस्तारा एयरको विमानमा बमको सूचना प्राप्त भएको थियो । तर पछि चेकजाँच गर्दा बम रहेको सूचना झुटो बनेको थियो ।

 

 

प्रतिकृया दिनुहोस