• बिहीबार-असोज-३-२०८१

अमेरिकी राजदूत थम्पसनद्वारा पुस्तकालय उद्घाटन


भक्तपुर, १ असोज : नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भक्तपुरको नागाँचामा आरपी फाउन्डेसनद्वारा सञ्चालित नेपाल भोकेसनल एकेडेमीमा पुस्तकालयको आज उद्घाटन गर्नुभएको छ ।


करिब ५० वर्ष नेपालमा रहेर यहाँका कला, सम्पदा र विभिन्न पक्षको अध्ययन गर्नुभएका अमेरिकी प्राध्यापक स्वर्गीय थियोडोर टेड रिकार्डीले सङ्कलन गरेका पाँच हजार पुस्तकसहितको पुस्तकालयको उहाँले आज उद्घाटन गर्नुभएको हो ।


अमेरिकी दूतावासको सहयोगमा अमेरिका र अन्य क्षेत्रबाट नेपाली सोध–अनुसन्धान तथा एशियाली सन्दर्भ एव साहित्यिक–प्राज्ञिकलगायत विभिन्न कला, संस्कृति, वास्तुकला, सम्पदासम्बन्धी अनुसन्धानमूलक पुस्तक तथा सोध सामग्री सङ्कलनगरी पुस्तकालयमा राखिएका छन् । 

    
त्यस अवसरमा राजदूत थम्पसनले वर्षौंदेखिको अमेरिका र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई पुस्तकालयले थप स्मरणीय र मजबुद बनाएको बताउनुभयो । उहाँले हजारौँ वर्ष पुराना र महत्वपूर्ण पुस्तकले उचित स्थान पाएको र  पुस्तकालय नेपालकै लागि महत्वपूर्ण रहेको धारणा राख्नुभयो । “यो पुस्तकालय नयाँ पुस्तालाई इतिहासदेखि विभिन्न चरणका महत्वपूर्ण जानकारीबारे अध्ययन गर्न निकै उपलब्धिमूलक हुनेछ । यो नेपालकै लागि वरदान सावित हुने विश्वास लिएको छु”, राजदूत थम्पसनले भन्नुभयो ।


कार्यक्रममा स्व रिकार्डीकी श्रीमती कुनले आफ्नो श्रीमान्को जीवनी र उहाँले नेपालमा गरेको सेवा र अध्ययनका बारेमा चर्चा गर्नुभयो । अमेरिकामा रहेका पुस्तकहरु ल्याएर नेपालमा उहाँकै नाममा पुस्तकालय स्थापना गर्नु शौभाग्य भएको भन्नुहुँदै कुनले आफ्नो नासो नेपालका लागि सुम्पेको बताउनुभयो । उहाँले यहाँ राखिएका पुस्तक नेपाली र विदेशी नागरिकका लागि अध्ययन अध्ययापनमा उपयोगी हुने बताउनुभयो ।

    
कार्यक्रममा प्रा डा निर्मलमान तुलाधरले प्रा टेडले नेपालमा विभिन्न धर्म, संस्कृति, नेवारी परम्परा, धार्मिक सम्प्रदायका बारेमा अध्ययन अनुसन्धान गरेर महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो । 

    
आरपी फाउण्डेसनका प्रमुख रविन्द्र पुरीले सन् १९६८ मा पहिलो पटक फुलब्राइट कमिसनको आवासीय प्रमुख भएर काठमाडौँ आउनुभएका टेडले नेपाली सोध–अनुसन्धान तथा एशियाली सन्दर्भ र साहित्यिक–प्राज्ञिक कृतिको सङ्कलन गरेका पाँच हजारभन्दा बढी पुस्तक उहाँको श्रीमतीको सहयोगमा पुस्तकालयमा राखिएको बताउनुभयो । उहाँले एकेडेमीमा टेडकै नाममा ‘प्रोफेसर टेड रिकार्डी मेमोरियल रुम’ स्थापना गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्नुभयो । लिच्छवीकालीन इतिहास, सभ्यता अन्वेषणका काम गरेर विज्ञता हासिल गर्नुभएका टेडले नेपालका विभिन्न सम्पदाको उत्खननमा योगदान दिएको पुरीले जानकारी दिनुभयो । 

    
कमलविनायक (नागांचा) मा रहेको एकेडेमीमा पुस्तकालय स्थापना गरी टेडकै सम्मानमा उहाँको अर्धकदको सालिकसमेत राखिएका छ । 
---

प्रतिकृया दिनुहोस