• शुक्रबार-असोज-४-२०८१

परराष्ट्रमन्त्री र क्यानडा–नेपाल संसदीय समूहका पदाधिकारीबीच छलफल

काठमाडौँ, ३ असोजः क्यानडा भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच भेटवार्ता भएको छ ।

समूहका अध्यक्ष तथा सांसद डा सोनिया सिद्धुले परराष्ट्रमन्त्री डा देउवालाई स्वागत गर्दै दुई देशका संसद् सदस्यहरूबीच अनुभव आदानप्रदान हुनुपर्नेमा जोड दिनुभएको छ ।

 

ओटावास्थित नेपाली राजदूतावासका अनुसार क्यानडा–नेपाल संसदीय मैत्री समूह एकअर्काको लोकतान्त्रिक प्रक्रियाबाट अनुभव आदानप्रदान र सिक्ने एउटा महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको बताउँदै परराष्ट्रमन्त्री  देउवाले दुई देशबीचको सम्बन्ध प्रवद्र्धनमा समूहले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसप्रति आभार व्यक्त गर्नुभयो ।

 

साथै उहाँले नेपालको सङ्घीय संसद्मा नेपाल–क्यानडा संसदीय मैत्री समूह गठनका बारेमा जानकारी दिँदै यस्ता समूहबाट दुई देशका संसद्बीच सहयोग आदानप्रदान र सहकार्यलाई प्रवद्र्धन गर्न बल पुग्ने  विश्वास व्यक्त गर्नुभयो ।


अध्यक्ष  सिद्धुले क्यानडा र नेपालका सांसदहरुबीचको सहकार्यले दुवै मुलुकका सांसदबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभयो । 

 

उहाँले लैङ्गिक समानता र महिला तथा बालिकाको सशक्तीकरणमा संसद् र स्थानीय सरकारमा नेपाली महिलाको बढी प्रतिनिधित्वका साथै सार्वजनिक जीवनमा उनीहरूले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

 

त्यस अवसरमा क्यानडाका लागि नेपालका  राजदूत भरतराज पौड्याल र दूतावासका अन्य अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो । २०८१ असाेज २ गते बुधबार नै परराष्ट्रमन्त्रीले राजदूतावासको भ्रमण गरेर नियोगका गतिविधिबारे जानकारी लिनुभएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
–––

प्रतिकृया दिनुहोस