• बिहीबार-असोज-३-२०८१

नेपालमा क्यानाडाको राजदूतावास आवश्यक : परराष्ट्रमन्त्री डा आरजु राणा


 

काठमाडौं । क्यानाडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा क्यानाडाको राजदूताबास आवश्यक भएको बताएकी छिन । उनले दूताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह गरेकी छन्। क्यानेडियन विदेशमन्त्री मेलानी जोलीसँग ओटावामा भएको द्विपक्षीय भेटवार्तामा उनले यस्तो आग्रह गरेकी हुन् ।

 

‘अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानेडियन पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ,’ उनले भनिन, ‘त्यसैले क्यानाडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।’

 

द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको जनाइएको छ । क्यानेडियन विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा.राणा क्यानाडा पुगेकी हुन् ।


भेटका क्रममा परराष्ट्रमन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्याएको सहयोगको सराहना गरिन् । नेपालको संसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरु पनि पूर्ण हुने जानकारी उनले गराइन ।

 

क्यानाडा र नेपालबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् । 

 

 

प्रतिकृया दिनुहोस