काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माण गर्न खरिद गरेका करोडौं मूल्यका बेली ब्रिज अलपत्र अवस्थामा सडकको कुनामा थन्किएको फेलापरेपछि महालेखा परीक्षकको प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ । सेनाको बेली ब्रिज उपयोगविहीन अवस्थामा वेवारिस भेटिएका छन् । काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका लागि १४ बेली ब्रिजका पार्टस् खरिद गरिएका थिए ।
ती मध्ये तीनवटा खियाले खाएर काम नलाग्ने भएर अलपत्र अवस्थामा रहेको महालेखाको प्रतिवेदनले उजागर गरेको छ । महालेखापरीक्षक कार्यालयको पछिल्लो २०८० सालको ६१औं वार्षिक प्रतिवेदनले यस्तो दुरावस्था औंल्याएको हो । नेपाली सेनाद्वारा आपूर्तिकर्तासँग खरिद गरिएका करोडौं करोडका सामग्री प्रयोगविहीन हुँदा एकातिर राज्य कोषमा ठुलो क्षति पुगेको छ भने अर्कातर्फ व्ययभार थपिएको छ ।
अत्यावश्यक बेलीब्रिज निर्माण नहुँदा द्रुतमार्ग सडक आयोजना समयमै सम्पन्न हुन सकेको छैन । यता, करोडौं मूल्यका बेली ब्रिज अलपत्र परेको विषयमा जिम्मेवार निकाय नेपाली सेना भने मौन छ । अहिलेसम्म यस विषयमा कारवाही वा छानबिन भएको विषय बाहिर आएको छैन । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा हाल अवकास विदामा रहेको अवस्था छ । नेपाली सेनाले २०८१ भदौ २४ गतेबाट रथी अशोक सिग्देलले प्रधानसेनापतिको कमाण्ड सम्हाल्दै छन् । हाल का.मु. प्रधानसेनापतिको कार्यभार सम्हालेका सिग्देलले नेपाली सेनाको बद्नाम गर्ने र राज्य कोषमा नोक्सान पु¥याउने काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका क्रममा भएको अनियमित कार्यको छानबिन गर्ने अपेक्षा गरिएको छ ।
अत्यावश्यक बेलीब्रिज परेको भन्दै नेपाली सेनाले २०७५ असार ११ गते खरिद सम्झौता गरेको थियो । ४१ करोड ४० लाख २३ हजार रुपैयाँ खर्चेर १४ बेलिब्रिज खरिद गरिएका थिए । महालेखा परीक्षकले खरिद गरिएका बेलीब्रिजका पार्टस् उपयोगविहीन बनेका कारण राज्य कोषमा हानी भएको तथ्य औंल्याएको छ । द्रुतमार्ग सडक आयोजनाका लागि आवश्यक सामग्री खरिदमा प्रश्न नरहे पनि महंगा सामग्री खरिद गरेर उपयोग नगर्ने विषय भने भ्रष्टाचारकै एउटा रुप मानिन्छ ।
नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाका लागि भन्दै ५१ मिटर लम्बाइका १४ सेट बेलीब्रिज खरिद गरेको प्रकाशमा आएको थियो । साथमा बेली ब्रिजका लागि आवश्यक पार्ट्स खरिद गरिएका थिए । खरिद भएका १४ सेट बेली ब्रिजका पार्टस्मध्ये ३ वटा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको महालेखाको प्रतिवेदनले जनाएको छ । १४ बेलीब्रिजमध्ये आपूर्तिकर्ताले ८ सेट जडान गरिएको थियो भने ३ सेट सेनाको ब्रिजिङ महाशाखाबाट जडान भएको थियो । तर झण्डै आठ करोड मूल्यका पार्टस्हरु खोकना साइटमा यत्तिकै अलपत्र अवस्थामा भेटिएका छन् । महालेखाको प्रतिवेदनले रु. ७ करोड ८५ लाख १३ हजार मूल्यका ३ सेट खियाले खाएको अवस्थामा भेटिएको उल्लेख गरेको छ ।
यता, कोभिड–१९ संक्रमणको अवधिमा प्रयोग गर्न सेनाका युनिटहरु अन्तर्गत खरिद गरिएका करोडौं मूल्यका स्वास्थ्य उपकरण समेत प्रयोगविहीन अवस्थामा भेटिएका छन् । महालेखाले झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा एक हजार शैया क्षमताका ७ होल्डिङ सेन्टर निर्माण भएको थियो । जस्का लागि २ अर्ब १६ लाख ३५ हजार खर्च औंल्याएको छ ।
२०७८ असार ३ गते ती सामग्री खरिद गरिएको थियो ।
महालेखाको ६१औं प्रतिवेदन अनुसार मौजुदा अवस्थामा जडान गरिएका अक्सिजन, आपूर्ति उपकरण, शैया तथा त्यस्मा प्रयोग गरिएका २ अर्ब १६ लाख ३५ हजारका स्वास्थ्य सामग्री समेत प्रयोगविहीन अवस्थामा भेटिएका छन् । राज्य कोषको २ अर्ब १६ लाख ३५ हजार रकम खर्च भएको प्रोजेक्टको यस्तो दुःखदायी भेटिनुलाई राज्य र सेनाको बेथिति र आर्थिक अपराधको रुपमा हेरिएको छ । (साँघु साप्ताहिक, २०८१ भदौ १०)
प्रतिकृया दिनुहोस