• बिहीबार-असोज-३-२०८१

कोटीहोमको नाममा 'धर्मको तावामा स्वार्थको रोटी सेक्दै' भण्डारी !

ठगी सुध्रिएर कोटीहोम चलाए कि कोटीहोम चलाएर ठग्न खोजे ?

 

काठमाडौँ,१४ साउन । अहिले पशुपतिनाथ मन्दिर क्षेत्रमा कोटीहोम चलिरहेको छ । गत साउन १ गतेदेखि सुरु भएको कोटीहोम ३२ गतेसम्म चल्नेछ । एक महिनासम्म चल्ने कोटीहोमको मुख्य उदेश्य धर्मको नाममा ठगी गर्ने पाइएको छ । 

कोटीहोमका मुख्य डिजाईनर हुन् अमेरिका पठाउँछु भन्दै युवाहरुसँग करोड ठगेर जेल बसेर आएका विष्णु भण्डारी उर्फ विष्णु प्रपन्नाचार्य । तर, उनले भक्तजनले यहीँ नाम थाहा पाउँछन् भनेर नै   कोटीहोममा आफ्नो नाम समेत परिवर्तन गरेका छन् ।

 

उनले अहिले आफ्नो नाम श्री विजय कृष्णमूर्ति जी महाराज राखेका छन् । नाम फेर्दै धर्मको नाममा योजनावद्ध रुपमा ठगी धन्दा चलाउँदै आएका उनले अहिले पशुपतिनाथ मन्दिरमा कोटीहोमको ठगीधन्दा चलाइरहेको खबर छ । धार्मिक विधि र पद्धतिलाई नै चुनौती दिनेगरी चलिरहेको उक्त कोटीहोमको मुख्य उदेश्य धर्मको रमिता देखाएर मोटो रकम झार्ने बाहेक अरु केही देखिन्न ।

 

पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका प्राध्यापक डाक्टर रामचन्द्र गौतमको अनुसार कोटीहोममा धर्म नभई अपराध भईरहेको छ । सोझासाझा मानिसलाई झुक्याएर धेरैभन्दा धेरै पैसा उठाउँने उदेश्यले कोटीहोम चलाइरहेको गौतमको आरोप छ ।

 

पशुपतिमा चलिरहेको  कोटीहोम  नभई महाठगको अभियान रहेको  उनको तर्क छ । भनिन्छ, धर्म कुनै पैसासँग तुलना हुन सक्दैन । थोरै पैसा भएकाहरुले थोरै धर्म कमाउने, धेरै पैसा हुनेहरुले धेरै धर्म कमाउने भन्ने नै हुँदैन । तर पशुपतिमा यस्तो देखियो कि जसले धेरै रकम दान गर्न सक्छ, उसले ठूलै धर्म कमाउन सक्छ ।

 

स्रोतका अनुसार ५ हजार रुपैयाँ दान गर्न भनेर पशुपति पुगेकी ७८ वर्षकी लक्ष्मी सिलवाल नमज्जाले ठगिएकी छन् । सहयोग गरेको रकम असाहय र अनाथहरुको लागि जान्छ र मरेपछि स्वर्ग तरिन्छ भन्दै फकाएर कोटीहोमका धार्मिक ठगहरुले क्षणभरमै ५ लाख रुपैयाँ झारेको स्रोत बताउँछ ।

 

स्रोत भन्छ,' दानको रुपमा दिइएको ५ लाख रुपैयाँ रकम उनै विष्णु भण्डारी प्रपन्नाचार्यलगायत धार्मिक ठगहरुको गोजीमा पुग्ने पक्कापक्की छ । अरुलाई सहयोग त परको कुरा ।' सिलवाल त एक उदाहरण मात्र हुन् । यसैगरी त्यहाँ पुग्ने कैयौँ भक्तजनहरु ठगिने क्रम जारी छ ।

 

पशुपतिक्षेत्रभित्र सल्बलाईरहेका यी जुकाले स्वच्छ धार्मिक आस्था बोकेर गएका मान्छेको भावनामाथि खेलवाड गर्दै पशुपतिनाथ मन्दिरलाईसमेत ठगी धन्दा चलाउने  अखडा बनाइरहेका छन् । कोटीहोमको मुख्य उदेश्य भनेको नै धार्मिक आस्था भएका मान्छेसँग मोटो रकम कुम्ल्याउँने भएको धार्मिक क्षेत्रका जानकारहरु बताउँछन् ।

 

धार्मिक विधिलाई नै लत्याएर कोटीहोम 

अहिले कोटीहोम लगाउन मिल्ने समय नै नरहेतापनि ठगी धन्दा चलाउनको लागि कोटीहोम सञ्चालन गरेको  धार्मिक क्षेत्रका जानकारहरु बताउँछन् ।  उनिहरुको अनुसार कोटीहोम संचालन गर्दा कैयौँ धार्मिक विधिहरुसमेत मिलिरहेको छैन । 


धार्मिक विधिलाई नै चुनौती दिएर लगाईएको यो कोटीहोममार्फत कुनै धर्म नभई अपराधकर्म गरेर कमाउने धन्दा चलाइरहेको  जानकारहरुको भनाइ  छ । संस्कृतीविद्हरुको अनुसार यो कोटीहोम अरबौँ रुपैयाँ कुम्ल्याउने  मनसायले कथित धर्मगुरु विष्णु भण्डारीले यतिम्मको ग्रान्ड डिजाईन गरेको हो ।

 

को हुन् विष्णु भण्डारी उर्फ विष्णु प्रपन्नाचार्य ?

भण्डारी यस्ता व्यक्ति हुन् जसलाई ठगी धन्दा मच्चाएको अभियोगमा अदालतले नै कैद सजाय तोकेर करार गरेको छ । पटकपटक जेलको हावा खाने भण्डारी अहिले हिन्दु धर्मको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर हिन्दु धर्ममाथि नै प्रहार गर्दै ठगी धन्दा चलाइरहेका छन् ।


भण्डारी  वि.स २०७६ वैशाख १३ देखि ३१ गतेसम्म कारागारमा बसेका व्यक्ति हुन् ।वि.स २०७१ असोज ६ देखि २०७३ चैत्र ४ गते केन्द्रीय डिल्लीबजार कारागारमा, २०६९ कार्तिक १४ गते जिल्ला प्रहरी कार्यालय गुल्मीबाट पक्राउ परि काठमाडौं परिसरमा हिरासतमा बसेका उनी त्यसअघि २०६८ फागुन ११ गते र साउन ३२ मा १\१ दिन हिरासत बसेका थिए ।


गुल्मीको धुर्कोट घर भएका भण्डारी आफूलाई स्वघोषित महाराज बताउँछन् ।उनले विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु भन्दै एक करोड २७ लाख रुपैयाँ ठगी गरेको जाहेरी काठमाडौं प्रहरी परिसर र  अपराध महाशाखमा समेत परेको थियो । तर अहिले पशुपतिमा कोटीहोमको नाममा खुलेआम ठगी धन्दा चलिरहदा पनि सम्बन्धित निकाय मौन बसेको देखिन्छ ।

 

प्रतिकृया दिनुहोस