• शुक्रबार-कार्तिक-२-२०८१

आपराधिक क्रियाले गणतन्त्रमाथि धब्बा !

 

लोकतान्त्रिक गणतन्त्रको विकल्प बढी लोकतन्त्र हो । समावेशी–समुन्नत, सामाजिक न्यायमा आधारित लोकतन्त्र हो । लोकतन्त्रमा नागरिकका चाहना तीव्ररूपले प्रकट हुन्छन् । प्रत्येकलाई आफ्ना आवश्यकता र हितमा बोल्ने अधिकार हुन्छ ।  दुःखको कुरा जनआवाज उठाउने नाममा देशका ठग, राजश्वमारा र अपराधीहरू नै चर्का कुरा गर्दैछन् ।


बढ्दो दुरुपयोग
सामाजिक सञ्जालको दुरुपयोग अति धेरै बढेको छ । फटाहा र गलत सोचका केही युट्युबरका झुट्टा र फट्याइँपूर्ण हर्कतले समाज भ्रमित मात्र बनेको छैन् राज्यसत्ता, नेता, सरकार, प्रणाली नै ध्वस्त भएको र कालो धब्बा लागेको भन्ने सूचना प्रवाहित गरिँदैछ । आपराधिक सोच भएका कतिपले जस्तोसुकै अराजक, गैरकानूनी आक्षेप लगाउन पाउने जस्तो वातावरण निर्माण गरियो, गरिँदैछ । समाजमा गलत हल्ला, कुप्रचार, अनावश्यक हल्ला, झुट्टा प्रचार र अफवाह फैल्याएर निहित स्वार्थसिद्ध गर्ने तत्व बढेका छन् । सहकारीका ठग नै ठूला नेता भएका देखिन्छन् । चर्काे स्वरले कराउने रवि लामिछाने प्रवृत्ति बढेको छ । आफू बाहेक सबैलाई ‘चोर’ र ‘निकम्मा’ भन्ने, देखाउने प्रवृत्ति यसबिचमा हुर्किएको देखिएको छ । देशमा आफू विभिन्न प्रकारका ठगी, गैरकानूनी हर्कत, धन्दा गर्ने, भ्रष्टाचार र लुट मच्चाउने अनि लुक्न र छोपिन राजनीतिक दल र सत्ताको जामा पहिरने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यही कारण गणतन्त्र धमिलो बन्ने र चन्द्रमा जस्तो गणतन्त्रमा कालो धब्बा लाग्ने खतरा बढेको छ । आफू पानीमाथिको ओभानो भएर ‘सच्चा र चोखो’ देखाउँदै ‘ठूलो बन्ने’ प्रवृत्ति राजनीतिमा बढ्यो । 


 ठग र अपराधी नै राजनीतिक नेतृत्व गर्ने र तिनै व्यक्ति ‘नेता’ बन्न पुग्दा मुलुकको लोकतान्त्रिक प्रणाली जनताको होइन यिनै ठगको व्यवस्था जस्तो कालो भइदियो । ठग र अपराधी आफैँ अरुलाई अराजक, अशिष्ट र गैरकानूनी आक्षेप लगाउने प्रवृत्ति बढ्दै गएकाले गणतन्त्र चोरको व्यवस्था जस्तो बनाइयो । सञ्चार माध्यमको नाममा, दल र पार्टीको नाममा, सत्ता र शक्तिको नाममा ठग, अपराधी र राजश्वमारालाई नै सलाम गर्दै जानु पर्ने हो भने गणतन्त्रको औचित्यमाथि नै प्रश्नचिन्ह उठन पुग्दछ । ठूला स्वर गर्ने अपराधीलाई सबैतिरबाट बहिस्कार गर्ने र कानून अनुसार सजाय गर्नु आजको आवश्यकता र चुनौती भएको छ । यस्तो नगर्ने हो भने जनतन्त्रमा नागरिक सरोकार, अपनत्व र विश्वास वृद्धि हुन सक्दैन ।


मर्यादाको खडेरी
आपराधिक कार्यमा संलग्न हुनेहरू स्वयम् नै अराजक र अमर्यादित शैलीमा ठूला दल र नेतालाई गाली–गलौजपूर्ण भाषाशैलीको व्यापक प्रयोग गर्दै पानीमाथिको ओभानो हुन खोज्दैछन् । आखिर किन यस्ता सोच, प्रवृत्ति, संस्कृति र संस्कारको वृद्धि हुँदैछन् ? किन कुनै नेता, व्यक्ति र निकायप्रति अराजक आक्षेप–आरोप लगाइन्छन् ? त्यतिमात्र होइन कतिपय सन्दर्भमा राजनीतिक नेतृत्व र राज्यप्रणालीप्रति गैरकानूनी तथा फौजदारी प्रकृतिका गम्भीर खालका दुषित मिथ्या आरोप लगाउने प्रवृत्ति बढ्दै गएका देखिन्छन् । गैरकानूनी कार्य गरेको आरोपमा कानूनी कारबाही अघि बढाउँदा कैलाश सिरोहियाको स्वर चर्काे देखियो । 


सहकारी ठगहरूको जालो
जनता, नागरिक र बचतकर्ताबाट सानासाना बचत उठाएर धनी भएका सहकारी ठगको जालोले मुलुकको अर्थतन्त्र ध्वस्त बन्दैछ । सर्वत्र अविश्वास र अन्योल देखिन्छ । ठगलाई कसैले केही गर्न नसक्ने भाष्य स्थापित भएको देखिन्छ । ठूला सहकारीका मालिक र सञ्चालक भनाउँदाहरू देशै लुटेर वेपत्ता भए । ठग, अपराधी, करमारा, राजश्वमारादेखि अनेकौँ धन्दाबाट अकुत धन कमाउनेहरू भने सानसँग चर्का स्वरमा ठूला कुरा गर्दैछन् । अहिले ठग र अपराध कर्ममा संलग्न भएकाहरू नै आफैँ नेता भइटोपलेका देखिन्छन् ।

 

यस्ता कार्य र हर्कतले लोकतन्त्र धमिलिँदै गएकोले गगतन्त्रमाथि धब्बा लागेको जस्तो भएको छ । अराजकताले सीमा नाघ्यो । राजनीतिक स्वतन्त्रताको दुरुपयोग गर्ने बढ्यो । आफूलाई मन नपरेको जो कसैलाई जस्तोसुकै प्रकृतिको गम्भीर आरोप–आक्षेप लगाउने संस्कृति बढ्दै गएको कारण सर्वत्र अविश्वास देखिन्छ । लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त भएका राजनीतिक स्वतन्त्रतालाई गलत अर्थमा बुझ्दा यस्ता कुसंस्कार बढेको हो । प्रत्येकले अधिकारै अधिकारको बारेमा चर्का कुरा गर्ने तर आफ्ना आधारभूत दायित्व पूरा नगर्ने प्रवृत्ति बढ्दै गएका कारण प्रणाली धमिलो बन्यो । 


सामाँ प्रवृत्ति घातक
विकसित पश्चिमा र युरोपका देशहरूका शासन प्रणाली हेर्ने हो भने अधिकारका साथै प्रत्येकले आफ्ना दायित्व पूरा गर्ने गरेको देखिन्छ । समाजवादी चीनको शासन प्रणाली मूल रुपमा दायित्वमा बढी निर्भर रहेको छ । नेपालमा चाहिँ स्वतन्त्रताको उपयोग गर्ने नाममा ठग र अपराधीहरूको नै ठूला स्वर देखिन्छन् । यो लाजमर्दाे कुरा हो । यस्तो प्रवृत्तिले लोकतान्त्रिक गणतन्त्रमाथि कालो धब्बा लाग्ने खतरा हुन्छ । साथै आधुनिक, पढेका र नवयुवा भनिएका ठूलो जमात चाहिँ राजनीति, राजनीतिक प्रणाली, देश, राजनीतिक नेतृत्व र शासन सत्ता सञ्चालन एवम् प्रणालीप्रति अनदेखा वा बेमतलवी बन्दैछन् । 


लोकतन्त्रको समृद्धिमा यो प्रवृत्ति पनि घातक छ । समाजलाई अग्रगति दिने र दिशानिर्देश गर्ने भनेको राजनीतिक नेतृत्व, सरकार तथा नागरिक समाजका अगुवा आदिले हो । आधारभूतरुपमा घर, परिवार, स्कुल–कलेज मानिसका पहिलो पाठशाला हुन् । त्यहीँबाट मानिसले नैतिकता, असल आचरण र संस्कार सिक्दछन् । त्यस्तो समाजको आधारभूत इकाइलाई नै भ्रष्ट र प्रदुषित भयो, बनाइयो । आफूलाई समाजका ठूला भनिएका मान्छे नै अपराधी, भ्रष्ट र ठग हुने लोकतन्त्र होइन । त्यस्ता ठगका स्वर सुनिने, इमान्दार नागरिकका आवाज दबाइने गरिँदा लोकतान्त्रिक गणतन्त्र धमिलो हुन थाल्यो ।

 

राजनीतिक नेतृत्वमा रहेका नेता आफैँ भ्रष्ट, अनैतिक, मूल्यहीन, अविश्वासी र पतीत भइदिए भने त्यसको दुष्प्रभाव समाजमा पर्ने हुन्छ । चोखो र नयाँ पार्टी खोल्दै आफूलाई नेता र देशनिर्माण गर्न आएको भन्ने गुड्डी हाँक्ने रवि जस्ता व्यक्तिहरुले प्रणाली बद्नाम बनाउँदैछन् । राजनीतिमा मूल्य र नैतिकताको संस्कृति ध्वस्त हुँदा त्यसको कुप्रभावले समाजमा अराजकता फैलिँदैछ । यस्ता अराजकताको कारण गणतन्त्रमा काला धब्बा देखिने खतरा भयो ।

 

अपराध कर्म र ठग, भ्रष्ट प्रवृत्तिका कारण राजनीतिक एवम् सार्वजनिक विषय तथा मुद्दाप्रति मानिसहरूलाई सकारात्मक उर्जा दिन सकिएन । ठगी सोचका स्वघोषित नेताका अपराधिक र नकारात्मकताको कारण धमिलो पानीमा माछा मार्नेहरू हौसिएका छन् । नेताहरू ‘सबै चोर हुन्’, ‘राज्य प्रणालीमा रहेका पुरै अपराधी र ठग हुन्’ भन्ने भाष्य, सोच तथा ‘आम आवाज’ जानीजानी बनाइँदैछ । उद्देश्यहीन, दिशाहीन, लक्ष्यहीन र दृष्टिकोणविहीन नकारात्मक आव्रmोस वा आगोले सबैको नास गर्ने बाहेक केही गर्दैन । 


अतिवाद र नकारात्मकता जहिल्यै घातक हुन्छ । अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति र व्यवहार, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका तत्कालीन व्रिmयाले त्यो समाज प्रदुषित बनाएको थियो । आफू चोखो भन्दै राजनीतिमा प्रवेश गर्दाका तिनका अभिव्यक्तिहरू आखिर पानीफोका मात्र रहेछन् भन्ने देखियो । युक्रेनका राष्ट्रपति झिलिनोस्कीका उग्रराष्ट्रवादी अभिव्यक्ति आदिले उनीहरूलाई मात्र सकेन देशै ध्वस्त बन्दैछ ।

 

नेपालमा विभिन्न खालका अराजक हुर्दुङ्गाले गणतन्त्रमा हिलो छ्याप्दै धमिलो पार्दैछन् । नकारात्मक आगोद्वारा अन्य व्यक्ति, संस्था, प्रणाली र निकायलाई झोस्न खोज्ने नकारात्मक ज्वाला प्रत्येकको प्रगतिको बाधक भएर आएको देखिन्छ । पहिले कान्तिपुर भनेकौ लोकतन्त्र हो भनियो, सोचियो । त्यो पनि पुरै गलत सावित भयो । मुलुकमा सहकारी ठग, अपराधी र अनेकौँ अवैध धन्दाबाट सम्पत्ति आर्जन गरिरहेकाहरूनै ठूला र चर्का स्वर गर्दै आफूलाई चोखो देखाउन खोज्दैछन् ।

 

राज्यसत्ता र नेतालाई सजिलै लगाइने आरोप ‘चोर, ‘अपराधी’ र ‘ठग’ जस्ता शब्द उनीहरुले बेच्दै आए । आफूलाई स्वतन्त्र भन्नेहरूको लोकतान्त्रिक गणतन्त्र ल्याउन कुनै योगदान छैन । तिनै अपराधी र ठगहरूले लोकतान्त्रिक राज्य प्रणाली, राजनीतिक नेतृत्व तथा सिङ्गो संवैधानिक–राजनीतिक विधिलाई गाली गर्दै पुरै धमिलो बनाउने दुष्प्रयास गर्दैछन् । यस्ता प्रवृत्ति, सोच, कार्य र हर्कत धानमा निस्केका साँमा मात्र हुन् । जसमा धान पनि लाग्दैन । चामल पनि निस्किँदैन । (साँघु साप्ताहिक, २०८१ जेठ २१)
 

प्रतिकृया दिनुहोस