• मंगलबार-बैशाख-१८-२०८१

वैरो कार्यालयका कर्मचारीहरूमा छटपटी ! 

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डोलप्रसाद अर्यालले पाएको डेढ महिनामा सुधारको संकेत देखिएको छ । उनले वैदेशिक रोजगारको श्रम स्वीकृतिमा व्यापक सुधारका कदम सुरु गरेका छन् । मन्त्री अर्याल, सचिव घनश्याम उपाध्याय, वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे र वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहचलको प्रमुखले इमान्दार प्रयत्न गरेकोले सुधारका संकेत आउन थालेको बताइएको छ ।


लोभ नगर्न, भ्रष्टाचारलाई न्यूनीकरणका लागि कर्मचारीलाई सेवाग्राहीको कुनै पनि कामका विषयमा ¥याल नकाढ्न मन्त्रालयको नेतृत्वले निर्देशन दिएको बताइन्छ । यही कारण वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालय ताहाचलमा  अतिरिक्त कमाई गर्न र अनियमितता गरी मासिक लाखौं कमाउने उद्देश्यले टे«ड यूनियनको पावर लगाएर गएका कर्मचारीहरुको निदहराम हुन थालेको स्रोतले दावी गरेको छ । सरुवाका लागि विगतमा लाखौं रकम खर्च गरी सेटिङमा गएका भ्रष्ट मनस्थितिका कर्मचारीहरु यतिवेला छटपटाउन थालेको स्रोत बताउँछ । 


मन्त्रालयको नेतृत्वले भ्रष्टाचारलाई शून्य सहनशीलताको नीति अपनाएसँगै बिभाग र कार्यालयमा कार्यरत उपसचिव, शाखा अधिकृत, नासु, कम्प्युटर अपरेटर तथा कार्यालय सहायकहरूले सरुवा भएर हिंड्ने मनस्थिति बनाइरहेको बुझिएको छ । उनीहरुले कर्मचारी युनियन, संघ–संगठनका नेताहरूलाई भनसुन गर्दै सरूवा गरिदिन हारगुहार गर्न थालेका छन् । मन्त्रालयले दुई मिनेट ४४ सेकेण्डदेखि बढीमा एक घण्टाभित्रमा वैदेशिक रोजगारको श्रम स्वीकृति दिने सेवा प्रवाहको कार्यनीति बनाएको छ । त्यही अनुरूप सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएको र सोहीअनुसार बजेट, स्रोत साधन र जनशक्तिको व्यवस्था मिलाएको बताइन्छ ।


जसले गर्दा लाखौं घुस ख्वाएर सरुवा मिलाएर गएका र अतिरिक्त आम्दानी गर्न पल्केका विभाग र कार्यालय ताहचलमा  कार्यरत अधिकांश कर्मचारीहरू यतिवेला छटपटाउन थालेका छन् । मन्त्री अर्यालले छिटोछरितो, प्रभावकारी र पारदर्शी  ढंगले सेवा प्रवाह गर्न निर्देशन दिएपछि गलत उद्देश्य र मनसाय बोकेका बद्नाम कर्मचारीहरू सरूवा मागेर हिंड्न भनसुनमा दौडधुप गरिरहेको स्रोतले दावी गरेको छ । वैदेशिक रोजगार कार्यालयमा सेवाग्राहीहरूसँग विना घुस कुनै काम नगर्ने र फाइल अगाडि नबढाउने बद्नाम र भ्रष्ट स्वभावका कर्मचारीहरू यतिखेर निकै नै समस्यामा परेको बताइन्छ ।


अहिले श्रममन्त्री अर्याल, सचिव उपाध्याय र महानिर्देशक घिमिरेले केही नमुना कार्य गरी मन्त्रालयको गिर्दो शाखलाई उच्च बनाउने रणनीति तय गरेको स्रोत बताउछ । श्रम मन्त्रालयमा सुशासनको नमुना देखिने गरी सेवाग्राहीको काममा ध्यान दिन थालिएको मन्त्रालय स्रोतले बताएको छ । ताहाचल कार्यालयले अघिल्लो सातादेखि नै एकजना श्रमिकले आवश्यक सबै कागजात पूरा गरेर बुझाएको अवस्थामा दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिनेगरी प्रक्रिया अगाडि बढाइएको छ ।


तर, सफ्टवेयर, इन्टरनेट सेवा, कम्प्युटर प्रविधि, जनशक्ति र कमजोर कार्य क्षमता भएका कर्मचारीलाई मध्यनजर गर्दै एक घण्टाभित्र नै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था मिलाएको मन्त्रालय स्रोतले बताएको छ । वैदेशिक रोजगार कार्यालय काठमाडौं र विभागले श्रम स्वीकृतिलगायतका काम तीन मिनेटदेखि एक घण्टाभित्र सम्पन्न गर्ने दावी गरेको छ । अघिल्लो आइतबार २०८० चैत २५ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र नै श्रम स्वीकृति प्रदान गर्न थालेको थियो । यसबारेमा मन्त्री अर्यालले पत्रकार सम्मेलन गरी नयाँ सफ्टवेयरको प्रयोगबाट अवका दिनमा एक घण्टा भित्र श्रम स्वीकृति प्रदान गरिने जानकारी दिएका थिए ।


उनले विभागमा हुने काम कारवाहीलाई एकलेयर प्रणालीबाट गर्न सक्नेगरी नीतिगत सुधार गरिएको जानकारी दिएका थिए । मन्त्री अर्यालले अब सबै कागजात अपलोड भएको एक घण्टामा सेवाग्राहीको मोबाइलमा श्रम स्वीकृति प्राप्त गरेको म्यासेज पुग्ने दावी गरेका छन । कार्यालयले पनि सोही किसिमले सेवा प्रवाह गर्न थालेको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ वैशाख ३)
 

प्रतिकृया दिनुहोस