• आइतबार-जेठ-१३-२०८१

सरकारको ‘टायर चेन्ज’पछि ‘स्पिड’को अपेक्षा !

 

बद्नाम स्वास्थ्यमन्त्री, असक्षम अर्थमन्त्री, प्रतिवेदन र नागरिकले दोषी ठहर गरेका यातायात मन्त्री तथा अनेकौँ काण्डमा परेका काँग्रेसका मन्त्री बोकेर प्रधानमन्त्रीले सुधार गर्ने अवस्था थिएन । सरकारको टायर पत्रु भइसकेको थियो । यही कारण नयाँ बलिया टायर फेरिएको अवस्था हो । 


अब स्पिड लेला कि ?
निर्वाचन परिणामले बाध्यतामा पारेको गठबन्धनले एक वर्षको अवधिका खासै केही गर्न सकेन । विकास निर्माण, सुशासन, सामाजिक न्याय र लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको विकासमा कार्य गर्नुपर्नेमा कुनै पनि अपेक्षा पूरा हुन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डमा ‘अब चाहिँ केही सुधार गर्ने’ हो भन्ने खालको तीव्र चाहना देखिएको भए पनि सरकारमा भएका असक्षम र बदनाम मन्त्रीका कारण हावा खुस्केको गाडी जस्तो हालतमा सरकार रहन पुग्यो । ‘मुुलुक बनाउने र परिवर्तन गर्ने चाहना’ प्रचण्डमा देखिन्थ्यो, देखिन्छ । तथापि सरकारले कामै गर्न सकेन ।

 

एक वर्षपछि अहिले आएर खिइएका पुराना र काम नलाग्ने टायररुपी सरकारको चक्का फेरिएका छन्, फेरिँदैछन् । अब गफ गर्ने छुट छैन । देखिनेगरी काम गर्नु पर्दछ । नयाँ टायर फेरिपछि गाडिको स्पिड बदल्न सक्नु पर्दछ । मुलुकमा अनेक खालका निराशा र नागरिकको मनोबल गिरेको अवस्था भएकोले सरकारले गियर चेन्ज गरेर स्पिड तीव्र पार्नुपर्ने देखिन्छ । एमाले संघर्ष र आन्दोलनको इतिहास भएको, मुलुक बनाउने एजेन्डा भएको र राज्य सञ्चालनको अनुभव, हैसियत, संगठन र ल्याकत भएको दल भएकाले नागरिक अपेक्षा बढी रहेको छ । जुन स्वभाविक पनि हो । यसरी प्रचण्डको नेतृत्वको एमाले सहितको सरकारबाट अब स्पिडको अपेक्षा गरिएको छ ।


मनोवल उकास्न आवश्यक
अहिले सर्वत्र मनोवल खस्केको अवस्था छ । आर्थिक क्षेत्रमा भ्रष्टाचार, विकृति र अपचलन बढेकोले सहकारी संंस्था धरासायी बन्दैछन् । साना लगानीकर्ता र बचतकर्तामा अविस्वास बढेको छ । अविस्वासका कारण बचतकर्ताको मनोवल गिर्न पुग्दा व्यवसायबाट हात झिक्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । ठूला र उत्कृष्ट भनिएका सहकारी धमाधम भाग्ने र संकटग्रस्त बन्ने क्रम बढ्दो छ । सहकारी ठगी र बैँकिङ क्षेत्रमा आर्थिक अपचलन समेतमा राजनीतिक दलका नेता, सेना र प्रहरी तथा सरकारी उच्च पदस्थ अधिकारीहरूको नाम जोडिएका छन् । यस्ता अपराधमा संलग्न जोसुकै व्यक्तिलाई छानबिन गरी कानुनी कारबाही गर्न अत्यावश्यक भएको छ । सहकारी ठगीमा रविको समेत नाम मुछिएकोले उनले छानविनलाई सहयोग गर्नु आवश्यक छ ।

 

नयाँ सरकारले यहीँबाट आफ्नो काम थाल्नुपर्ने अवस्था छ । तथ्यहिन, भ्रामक र झुट्टा हल्ला फैल्याउने मिडिया, युट्युबर र अनेक अपराधमा संलग्न व्यक्तिलाई कानुनी अनुसन्धानको दायरामा ल्याउन ढिला भइसकेको छ । अपराधीहरूले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्र तहसनहस र ध्वस्त भएको भन्ने हल्ला व्यापक प्रकारले फैल्याउँदै आएका छन् । यसले साना लगानीकर्ता, बचतकर्ता र आम नागरिकको मनोवल दिनदिनै गिर्दै गएको छ । लोकतान्त्रिक गणतान्त्रिक प्रणाली बदनाम बनाउने राजावादी र अपराधीलाई राजनीतिक प्रक्रियाबाट तह लगाउनु आवश्यक छ ।


‘सबै चोर, सबै उस्तै’ !
आर्थिक, सामाजिक र नैतिक संकट बढेको कारण सामान्य नागरिकको मनोवल निरन्तर गिर्दै आएको छ । अब नेपालमा केही पनि हुँदैन, सबै नेता र दल उस्तै हुन्, सबै सहकारी ठग र चोर हुन् भन्ने जस्ता भाष्य व्यापक भएको देखिन्छ । कसैले कसैलाई विश्वास गर्ने वातारण छैन । सबै नेता चोर हुन्, नेपालमा रोजगारी छैन, व्यापार छैन, उद्योग, व्यापार संकटग्रस्त भइसक्यो र सारमा नेपालमा अब केही पनि सुधार तथा परिवर्तन हुँदैन भन्ने जस्ता ‘मोरल डाउन’ गर्ने हल्ला, भ्रम र हुइयाले मान्छेहरू त्रसित बन्दैछन् । आफ्नो गाउँमा सुन्तला रोपेर वर्षमा चार लाख कमाउन सक्ने मानिस पनि वर्षमा तीन लाख कमाउन विदेश हानिएका देखिन्छन् । 


 सबै नेता उस्तै होइनन, सबै सहकारी भाग्दैनन, देशको विकास र लगानीमा बैँकले भूमिका खेल्दै आएका छन र सारमा नेपालमा प्रगति र उन्नत्ति गर्न सकिन्छ भन्ने विस्वास सरकारले जगाउन सक्नु अत्यावश्यक छ । निरन्तर ‘डाउन’ हुँदै गएको ‘मारेल’ हाइ नगरी नेपालमा विकास र प्रगति सम्भव छैन । राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, नैतिक, प्राविधिक, भौतिक र समग्र विकासमा मनोवल खस्कँन पुग्दा नेपाली नागरिकमा निराशा र अविस्वास व्यापक भएको देखिन्छ । शहरबजारमा घर भएका र नेपालमा नै आय जार्जन गर्न सक्ने व्यक्ति पनि वैदेशिक रोजगारीमा तानिएका–हानिएका छन् ।

 

साना लगानीकर्ता र व्यवसायीको मनोवल यति धेरै खस्केको छ कि शहरका सबैजसो पसल–व्यवसाय ‘बेच्न पाए हुन्थ्यो’ भन्ने मनस्थितिमा पुगेका देखिन्छन् । राजनीतिक–सामाजिक क्षेत्रमा अन्यौलता, विकृति, विसंगति र अविश्वास बढेको कारण त्यसको दुश्प्रभाव सर्वत्र फैलिएको छ । राजनीति नीतिहरूको मूल नीति भएकोले यसको प्रभाव सबै क्षेत्र र पक्षमा पर्दछ । राजनीतिक क्षेत्रबाट गिरेको मनोवल क्रमशः सामाजिक र आर्थिक क्षेत्रमा सर्दै गएको छ । राजनीतिक नेतृत्व, नेता, सरकार, सत्ता र लोकतान्त्रिक गणतन्त्रमा अनेकौँ हल्ला र भ्रम फैलिएका छन्, फैल्याइएका छन् । ‘सबै एउटै ड्याँङ्का मूला हुन’ भन्ने भ्रम समाजमा फैलिएको छ । सरकार, प्रणाली र नेतालाई चर्का गाली गर्ने चटके फन्डावालाहरू लोकतान्त्रिक प्रणालीप्रति अविश्वास फैल्याउन लागिपरेका छन् । नयाँ सरकार र राजनीतिक गठबन्धनले यी र यस्ता भ्रम, अन्यौलता र गिरेको मनोवल चिर्न र उकास्न सक्नु अत्यावश्यक छ । एमाले सत्तामा गएपछि नेपाली नागरिकले केही सुधार र परिर्वतन हुने अपेक्षा पनि राखेका छन् । 


सुशासन पहिलो सर्त बनोस्
मुलुकमा लोकतान्त्रिक गणतान्त्रिक संविधान र प्रणाली लागु भएको ८ वर्ष पूरा भएको भए पनि सुशासन, विकास, समृद्धि, प्रगति र सामाजिक न्यायका मुद्दामा नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने स्तरमा सुधार र परिवर्तन भएको छैन । यही कारण अनेक खालका असन्तुष्टि बढ्दै गएको छ । निवर्तमान काँग्रेस सहितको सत्ता गठबन्धनले मुलुकमा आशा जगाउनै सकेन । प्रचण्डको काम गर्ने चाहना भए पनि मन्त्री र गठबन्धनका कारण अपेक्षा पूरा हुन पाएन । भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र समृद्धिका नारा लगाइएको भए पनि मन्त्रीको समेत संलग्नता देखिएका अनेकौँ मुद्दा सतहमा आए । यही कारण सरकारले कार्य गर्न सकेन । संविधान लोकतान्त्रिक र जनमैत्री रहेको कुरामा भ्रम छैन ।  संविधान र कानूनले नेपाल र नेपालीलाई अधिकारसम्पन्न बनाएका छन् । तरपनि कार्यान्वयनको पाटो कमजोर हुँदा र सुशासनका अनेकौँ पक्ष र विषय कमजोर बन्दा नागरिक अपेक्षा पूरा भएका छैनन् । 


गठबन्धन हावा खुस्केको र खिइएका टायरबाट अघि बढेको गाडी जस्तो हालतमा अघि बढ्दै आएको थियो । यही कारण सरकारले गति लिनै सकेन । अब एमाले सहितको नयाँ सत्ता गठबन्धन आएको छ । पुराना सबै टायर फेरिएका छन् । नयाँ बलिया टायर बदलिएको छ । सरकारलाई गुडाउने टायरले हो । अब नयाँ टायर भएपछि नयाँ गियरका साथमा तीव्र स्पिड गर्नु अनिवार्य भएको छ । पुरानै स्पिडमा घिसेपिटे पाराले सरकार चल्ने हो भने नयाँ टायर फेरेको औचित्य स्थापित हुन सक्दैन । यसर्थ अब स्पिड बढाउनुको विकल्प देखिन्न । त्यो सुशासनरुपी गियरबाट सुरु गर्नु पर्दछ । (साँघु साप्ताहिक, २०८० फागुन २८)
 

प्रतिकृया दिनुहोस