• आइतबार-बैशाख-२-२०८१

नेपालको अन्तर्राष्ट्रिय छवि किन गिर्दैछ ?

 

इतिहासमा कसैको दास नरहेको, विश्व शान्तिमा भूमिका भएको, सुन्दर तथा पर्यटकीय देश नेपाल प्रधानमन्त्री प्रचण्डको असफल कूटनीति र कुशासनका कारण अन्तर्राष्ट्रिय छवि धुमिल बन्दैछ । द्वन्द्वका नाममा भएका मानव अधिकार विरोधी अपराधलाई उन्मुक्ति दिने सोचबाट सरकार अघि बढ्न खोज्दा खतरा थप बढेको हो । 


अर्थराजनीति र विश्व
भूराजनीतिमा सबैभन्दा प्रभाव पार्ने विषय भनेको अर्थनीति र अर्थतन्त्रका कुराहरू नै हुन् । सन् २०२४ मा पनि अर्थराजनीतिमा आउने विभिन्न खालका उतारचढाव र घटनाका कारण विश्व तरंगित बन्ने देखिन्छ । विश्वका शक्ति राष्ट्रका आफ्ना कूटनीति, अर्थनीति र कार्यक्रमहरूबाट विश्व बजार प्रभावित हुने अवस्था छ । रुस–युक्रेन युद्धसँग सम्बन्धित तरंगका कारण विश्व व्यापार र नयाँ विश्व अर्थनीतिलाई प्रभावित पार्दैछ ।

 

उता इजरायल–प्लेस्टाइन युद्धलाई भूराजनीतिमा सर्वाधिक चासो तथा राजनीतिक र मानवीय नाराको विषय बनाइएको छ । उल्लेखित दुवै युद्धमा अमेरिकी चासो, हस्तक्षेप र सरोकार प्रत्यक्ष देखिएको छ । युद्धका नाममा अरबौँ डलरको खर्च गरिएको छ । तथापि विश्वको अर्थशक्तिको हिसाबमा अमेरिका नै आजसम्म पनि शक्तिशाली रहेको छ । विशाल भूगोल, विश्वमा विभिन्न खालका प्रभाव, शक्तिशाली सेना, शक्तिशाली अर्थतन्त्र, भूराजनीति र कूटनीतिक क्षमता आदिका कारण अमेरिका शक्तिमै रहेको हो । अर्थतन्त्रमा अमेरिका पछिको स्थान समाजवादी चीनले लिएको छ । सन् २०४९ अघि नै चीनले अमेरिकालाई उछिन्ने अडकल गरिएका छन् ।

 

विश्व व्यापारमा आज पनि चीनको पूर्णाधिकार रहनु, उसको आफ्नो राजनीतिक प्रणाली र शासन स्थिर तथा सुदृढ हुनु आदि कारणले विश्वको बजार र अर्थनीतिमा चीनको महत्वपूर्ण प्रभाव रही आएको हो । चीनको ‘वान बेल्ट वान रोड’ नीतिलाई लागू गर्दै अघि बढ्न विभिन्न अन्तर्राष्ट्रिय सम्पर्क, चासो, सरोकार र पहलकदमी बढाउँदै लगेको अनुभव गर्ने गरिएका छन् । यसरी चीन चौतर्फी योजना र कार्यक्रमका साथ आक्रामक आर्थिक नीति लागू गर्ने सुरमा अघि बढेको देखिन्छ । 


भूराजनीतिमा सन् २०२४
विश्व राजनीतिमा २०२४ सर्वाधिक चासो र चर्चामा हुने देखिएको छ । अमेरिका, भारत, पाकिस्तान, बङ्लादेश सहित दुई दर्जन बढी देशमा यही वर्ष चुनाव हुँदैछन् । हालै बङ्लादेश र पाकिस्तानमा चुनाव सम्पन्न भइसकेका छन् । पाकिस्तानी निर्वाचन परिणामले त्यहाँ भयानक राजनीतिक, कानूनी, व्यवहारिक र अन्य संकट ल्याउने पक्कापक्की देखिएको छ । त्यहाँ अहिले नै अस्थिरता देखिएको छ । उता अमेरिकी राष्ट्रपतिको निर्वाचन र भारतीय लोकसभाको चुनावले विश्वको ध्यान तान्दैछ । यसपाली पनि पूर्वराष्ट्रपति ट्रम्प रिपल्लिकनबाट उठ्दैछन् । उता डेमोक्रेटिकबाट बाइडेन नै उठ्ने देखिएको छ ।

 

गत निर्वाचनमा तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पको ठाउँमा उदार, प्रजातन्त्रवादी र विशाल धारणा तथा विश्वव्यापी भावना देखाउन सक्षम भनि प्रचार गरिएका वाइडेनलाई सबैले केही आशाको नजरले हेर्ने गरेका भए पनि त्यो आशाले मूर्तरुप पाउन चाहिँ सकेन । प्रजातन्त्र, मानव अधिकार, विधिको शासन, विदेश नीति, मानवीय सहयोग र मानवहितका विभिन्न पक्षमा वाइडेनको नीति उदार तथा सहयोगी हुन सक्ने पूर्वानुमान गर्नेहरू अहिले निराश देखिएका छन् । खासगरी अमेरिकामा बस्ने र अमेरिकामा नयाँ प्रवेश गर्ने आप्रवासी विदेशीहरूप्रति वाइडेनको नीति केही नरम हुने आंकलन गरिएको भए पनि अमेरिकी नीतिमा खासै परिवर्तन अनुभव गरिएको छैन । 


भूराजनीति र नेपाल
उत्तरी विशाल चीन र अर्काे दक्षिणी विशाल भूगोल भएको भारतको विचमा रहेको नेपालको भूराजनीतिमा विभिन्न खालको प्रभाव रहेको छ । प्राकृतिक सम्पदा, संयुक्त राष्ट्रसंघमा सन् १९५५ देखि विश्वको शान्ति र सुरक्षामा विभिन्न समयमा सहयोग र सार्थक उपस्थिति, विभिन्न प्रकारका विविधिता विचको एकता र दुई ठूला शक्ति राष्ट्रको विचमा रहेको तटस्थ  राष्ट्र भएको जस्ता कारणले पनि नेपालको आफ्नै प्रकारको भूराजनीतिमा स्थान रहन गएको छ । यद्यपि राजनीतिक अस्थिरता, गरिबी, भ्रष्टाचार जस्ता कारणले शासन स्थिर बन्न सकेको छैन् । नेपालमा रहेको राजनीतिक अस्थिरता, कुशासन र मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भएका कारण विश्व राजनीतिमा विस्वास गुमाउँदै गएको छ ।

 

राष्ट्रिय हित र प्राथमितालाई ध्यान दिएर मुुलुकको सरकारले उच्च मनोवलका साथ अन्तर्राष्ट्रिय कूटनीतिको माध्यमबाट मुलुकका आवश्यकतामा विदेशी सहयोग पनि जुटाउन सक्ने अवस्था भए पनि वर्तमान गठबन्धन सरकारको अदुरदर्शी नीति र यथास्थितिवादी सोचका कारण नेपालले धेरै अवसर गुमाउँदै गएको छ । नेपालमा शिक्षित युवा वेरोजगारी दर बढीरहेको आदि कारण विदेशिने युवाको संख्या दिनदिनै बढ्दै गएको हो । विकास र समृद्धिमा विदेशी सहयोग र अनुदानको पनि भूमिका र महत्व हुने कुरालाई सरकारले अनदेखा गरेको छ । तथापि नेपालको आफ्नो समग्र विकास, स्थिरता र दिगो उन्नतिमा नेपाली स्वयम्को हात र भूमिका चाहिँ महत्वपूर्ण हुन्छ । सरकारको अदूरदर्शी नीति र कूटनीतिक क्षमताको अभावको कारण नेपालको अन्तर्राष्ट्रिय साख र छवि गिर्दै गएको छ ।


नेपालको गिर्दाे छवि
विगतमा केपी ओली प्रधानमन्त्री हुँदा भूराजनीतिमा नेपालको प्रतिष्ठा ह्वात्तै बढेको देखिन्थ्यो । नेपालीको शिर गौरबले ठाडो हुँदै आएको थियो । ओलीले सानो–ठूलो कुनै पनि देशको सार्वभौम अधिकार बरोबर हुन्छ भन्दै भारतसँग सिधा आँखाले हेरेर नेपालको सान जोगाएको भए पनि वर्तमान प्रधानमन्त्री प्रचण्डले नेपालको गौरब र सानलाई भारतको मुनि लगेर विसाएका छन् । भारतको भ्रमणमा आधा दर्जन हिँजडा नचाएर नेपालको बेइज्जत भारतले ग¥यो । 


केही मुर्रा राँगा उपहारमा पठायो । हालै भएको भारतीय विदेश मन्त्री जयशंकरको भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित विपरीत हुने गरी नेपालका निर्माण सम्बन्धी ठेक्का भारतलाई जिम्मा दिने अदृष्य र अप्रकाशित सम्झौता गरी राष्ट्रघाती कार्य गरिएको टिप्पणी भइरहेछ । त्यतिमात्र होइन नेपालको अन्तर्राष्ट्रिय विमानस्थल नै भारतीयलाई दिने भनिएको छ । यसले नेपालको स्वतन्त्र, स्वाधीन र सार्वभौमसत्ता संकटमा पर्ने खतरा देखिन्छ । विश्वमा एउटा स्वाधीन, स्वतन्त्र र अन्तर्राष्ट्रिय शान्तिमा ऐतिहासिक भूमिका भएको नेपालको छवि यस्ता राष्ट्रघाती कार्यका कारण गिर्दै गएको देखिन्छ ।

 

अर्काेतर्फ विश्वले बढो चासो र गम्भीरतापूर्वक हेरिरहेको सशस्त्र द्वन्द्वको शान्तिपूर्ण, तार्किक तथा मानव अधिकारमैत्री ढंगले समाधान गर्नुपर्ने विषयलाई सत्ता स्वार्थ र मोलमोलाइको विषय बनाएर अपराधी र हत्यारालाई उन्मुक्ति दिने प्रपञ्च हुँदै गएको छ । यसले नेपाल एउटा लोकतान्त्रिक गणतन्त्र भएको मुलुक हो भन्ने कुरामा अन्तर्राष्ट्रिय क्षेत्रले विश्वास गर्ने ठाउँ बाँकी नहुने अवस्था आएको देखियो । प्रजातन्त्र, विधिको शासन, सुशासन र मानव अधिकारमैत्री राज्य प्रणालीको विकास गर्दै जानु पर्नेमा त्यसको विपरीत अराजक, अन्यायपूर्ण र विकृत राज्य बन्ने खतरा भएकोले अन्तर्राष्ट्रिय छवि ध्वस्त बन्दै गएको छ । 

 

 यही कारण अन्तर्राष्ट्रिय सहयोग, सदभाव, सहकार्य तथा समर्थनका विषयमा गम्भीर आशंका पैदा भएका छन् । संख्यात्मक र प्राविधिक बहुमतको नाममा अन्तर्राष्ट्रिय चासो र सरोकार भएको मानव अधिकारको गम्भीर मुद्दामा खेलाँची गर्ने प्रचण्डको नियतका कारण नेपाल अन्तर्राष्ट्रिय समुदायबाट एक्लिने अवस्था बढ्दै गएको छ । (साँघु साप्ताहिक, २०८० फागुन ७)

प्रतिकृया दिनुहोस