• शनिबार-श्रावण-१२-२०८१

अराजनीतिक सत्ता गठबन्धनको उपज : राष्ट्रिय एकता–सद्भावविरुद्ध चलखेल   

 

संघीय लोकतान्त्रिक गणतन्त्र र गणतान्त्रिक संविधान अनुकूल अघि बढिरहेको नेपालमा राष्ट्रिय एकताका प्रमुख आधार भनेका नेपाली जनता र नागरिकहरू हुन् । अहिले विश्व परिस्थिति र व्यवस्थामा अनेकौँ प्रकारका मान्यता तथा विचारधाराहरू आउँदैछन् । नेपालमा सत्ता जोगाउन भइरहेका अनैतिक र अराजनीतिक सौदाबाजीले राष्ट्रिय एकता ध्वस्त बन्दैछ । बजारीकरण, खुल्ला बजार, निजीकरण, निजी स्वतन्त्रता, प्रजातन्त्र, संविधानवाद, विधिको शासन, शक्तिपृथकीकरण, मानवअधिकार, स्वतन्त्र प्रेस, स्वतन्त्र र सक्षम न्यायालय, गणतन्त्र, संघीयता र नागरिक समाज जस्ता दृष्टिकोणहरूले नेपालको राष्ट्रिय एकतामा सकारात्मक प्रभाव परिरहेको भए पनि कतिपय अवस्थामा नकारात्मक प्रभाव समेत पार्दैछन् । 

 


नेपालको राष्ट्रिय एकता सुदढ र बलियो नभई देशको सीमा र सुरक्षा, आत्मनिर्भरता, विकास र समृद्धि आदिको कल्पना गर्न सकिन्न । राष्ट्रिय एकता कमजोर भयो भने त्यसको असर राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रहरूमा पर्न जान्छ । पञ्चायतकाल र पछि बहुदलीय कालमा समेत राजा नै देशका एकताका प्रतीक भन्ने भ्रम छरिन्थ्यो । तर त्यसले नेपाली समाज  र जनतामा एकताको भावनात्मक विकास भने गर्न सकेन । जनआन्दोलनमार्फत संघीय गणतन्त्र ल्याउनु प¥यो ।

 


राष्ट्रिय एकताको अर्थ 
राष्ट्रिय एकता राजनीतिक दर्र्शनको शब्दावली र अवधारणा हो । जसमा नागरिक तथा जनताको सामुहिक भावना, चाहना, साझा आवश्यकता, सामुहिक अपनत्वको अनुभूति, राज्य र नागरिकबिचको सम्बन्ध, नागरिक र राज्यको सहकार्य जस्ता कुराहरू आवश्यक हुन्छन् । राष्ट्रिय एकतामा भौगोलिक एकता, राजनीतिक एकता, सामाजिक एकता, आर्थिक एकता, सांस्कृतिक एकता आदि विषय जोडिएका हुन्छन् । 

 


राष्ट्रिय एकता सामुहिक र साझा हित र उद्देश्यको लागि राष्ट्रिय भावनासहित सरकार वा राज्यबाट सुरक्षा, विकास, सुशासन तथा एकताको अनुभूति भई सबैको भावना झल्कने अवस्था र वातावरण हो । आन्तरिक राष्ट्रिय भावनाले प्रेरित भई राष्ट्र, मुलुक र देशको अग्रगति र प्रगति तथा समृद्धिको पथमा राज्य र सरकारसँगै हरेक नागरिक र जनता एकतावद्ध बन्ने वातावरण र अवस्था नै राष्ट्रिय एकताको स्थिति हो । यसका थुप्रै आधार, आयाम र पक्ष रहेका हुन्छन् । राजनीतिक पक्ष, सामाजिक पक्ष, आर्थिक पक्ष, साँँस्कृतिक पक्ष, वैदेशिक पक्ष जस्ता अपेक्षित शर्त अनुसारको व्यवस्था, विधि र व्यवहार हुनु र बनाइनुले राष्ट्रिय भावना बलियो बन्ने अवस्था बन्दछ ।

 


राष्ट्रिय एकताका आधार
संघीय गणतन्त्र नेपालमा राष्ट्रिय एकताका मूल प्रतीक भनेका नेपाली जनता र नागरिकहरू नै हुन् । नेपाली र नेपाल विनाको एकताको कुनै अर्थ छैन् र हुँदैन । गणतान्त्रिक संविधान बनेपछि संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेसिता, जनताको सार्वभौमसत्ता जस्ता पक्षहरू नेपालको राष्ट्रिय एकताका आधारभूत विषयहरू हुन् । केही महŒवपूर्ण पक्ष र आधारहरूलाई यहाँ उल्लेख गरिएका छन् । 

 


प्रजातान्त्रिक शासन प्रणाली पहिलो आधार, पक्ष र सर्त हो । जसमा विधिको शासन, संविधानवाद, सुशासन, स्वतन्त्र तथा सक्षम न्यायलय, स्वतन्त्र र जिम्मेवार प्र्रेस, आवधिक निर्वाचन, उत्तरदायी सरकार, नागरिक समाज र मानवअधिकारको पालना जस्ता विषयहरू  रहन्छन् । राज्यमा नागरिक प्रतिनिधिŒव  भएको जिम्मेवार सरकार, सामाजिक, भौगौलिक, साँस्कृतिक, जातिय, धार्मिक आदि विविधताको प्रतिनिधित्व हुने राजनीतिक प्रणाली र शासन, नागरिकमैत्री प्रशासन, सुरक्षाको अनुभूति, स्वतन्त्र र क्रियाशील नागरिक समाज, राज्यको हस्तक्षेप रहित प्रजातान्त्रिक वातावरण र प्र्रजातान्त्रिक मूल्य तथा विश्वव्यापी मान्यतालाई सम्मान र समर्थन गर्ने राज्य व्यवस्था यसका पूर्वशर्त हुन्छन् ।

 


राष्ट्रिय एकताको लागि राष्ट्रका प्रत्येक नागरिकहरू राज्यको स्थिरता, स्थायित्व, विकास, प्रगति, शान्ति, सुरक्षा जस्ता पक्षमा एकताको भावना सहित अघि बढ्ने र बढ्न सक्ने वातावरण तथा अवस्था राज्यले सिर्जना गरेको हुनुपर्दछ । राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता, मुलुकको सीमा तथा भौगौलिक अखण्डताको सन्दर्भ र सवालमा नागरिकमा राष्ट्रिय एकता वृद्धि गर्ने, राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा साझा र सामुहिक भावनाको विकास हुनु र गर्नु पर्दछ । 

 


मानवअधिकार तथा मौलक हक तथा नागरिक अधिकारको सन्दर्भमा राज्यको संविधान, कानुन, प्रशासन, व्यवस्था र शासन प्रणालीबाट प्रत्येक नागरिकलाई त्यसको प्रत्याभूतिको ग्यारेन्टी गरिएको अवस्थाले राष्ट्रिय एकताको भावनामा वृद्धि गर्न सहयोग गर्दछ । सीमान्तकृत र पछि परेका वर्ग, क्षेत्र, लिङ्ग, समुदाय, भूगोल, जाति, पक्ष वा सामाजिक, आर्थिक, राजनीतिक तथा साँस्कृतिक क्षेत्रमा विशेष सेवा तथा सुविधाको अवस्था अर्काे मूल पक्ष हो । वृद्ध–वृद्धाहरूको सुरक्षा तथा संरक्षणमा राज्यले उचित र आवश्यक व्यवस्था सहितको प्रबन्ध गरिनुपर्दछ । सरकारले राज्यका सबै निकाय तथा सरकारी कार्यालयहरूमा आवश्यक बजेटको व्यवस्था गरी लागु गरिएको हुनुपर्दछ । विकासको अधिकार र अवसरमा प्र्रत्येक नागरिकलाई आफ्नो क्षेत्र, भूगोल र स्थानको आफ्नो हित र आवश्यकता अनुसारको विकासको वातावरण गर्नुपर्दछ । 

 


विकासको अधिकारको साथ नागरिकको सार्थक सहभागिता र भूमिका हुनैपर्दछ । विकासमा राज्यको अर्थपूर्ण तथा प्रभावकारी भूमिका भएको हुनुपर्दछ र त्यो नागरिकले अनुभूति हुने स्तरको हुनुपर्दछ । सन्तुलित, समावेसी तथा सहभागितामूलक विकास हुनुपर्दछ । कतै खातैखात र कतै नागरिकको पूर्पूरोमा हातको स्थिति भएमा त्यसले राष्ट्रिय भावनामा चोट पुग्दछ । प्राकृतिक स्रोत र साधनको उपयोग, वितरण, उपलब्धता, सुरक्षा, संरक्षण एवम् उचित र न्यायोचित तथा पारदर्शी वितरणले साझा भावनाको विकास हुनपुग्दछ । सामाजिक तथा आर्थिक उद्देश्य र आवश्यकतामा राज्यले बढी ध्यान दिनुपर्ने हुन्छ । 

 


विकास निर्माणमा न्यूनतम सामाजिक तथा आर्थिक सामाजिक मूल्यको आधारमा सहभागिता, समान अवसर र अधिकारको ग्यारेन्टीको अवस्था हुनुपर्दछ । प्रत्येकलाई खाना, नाना, छाना, न्यूनतम स्वास्थ्य उपचार र सुविधा, स्वास्थ्य र पर्याप्त खानेपानी, स्वच्छ वातावरण, पर्याप्त र पोषणयुक्त खानेकुरा आदिको व्यवस्थाले राष्ट्रिय भावनाको विकास गर्दछ । समाजमा महिलाको सार्थक र अर्थपूर्ण सहभागिता र सम्मान हुनुपर्दछ । बालबालिकाको बालअधिकार तथा अवसरको ग्यारेन्टीको अवस्था हुनुपर्दछ । फरक क्षमता भएकाहरूको सामाजिक सम्मान र अधिकार तथा सुरक्षाको प्र्रबन्ध गरिएको हुनुपर्दछ । राज्यले प्रत्येक नागरिकलाई बाँच्नको लागि आवश्यक हुने न्यूनतम सेवा र सुविधा, शिक्षा, स्वास्थ्य, खाना, बस्ने जस्ता सुविधाबाट कसैलाई बन्चित गर्न हुन्न । परिवार र नागरिकको संरक्षण, प्राकृतिक विपत्तिमा परेको स्थितिमा उद्दार, व्यवस्थापन गरी राज्य भएको अनुभूति गराउने अवस्था भएमा राष्ट्रिय एकता र भावना वृद्धि हुन्छ  ।

 


सांस्कृतिक क्षेत्रमा आफ्ना प्रथा, धार्मिक मान्यता, संस्कार, मूल्य अनुसार सामाजिक र साँस्कृतिक व्यवहार गर्न सहज एवम् सामाजिक र कानुनी संरक्षणको निर्माण, राष्ट्रका कला, दर्शन जस्ता पक्ष महत्वपूर्ण  हुुन्छन् । जनउत्तरदायी सरकार र राज्य प्रणाली, संविधानवाद र कानुनी मान्यता अनुसारको राज्य संरचना र शासन, राष्ट्रहितको सुरक्षा, संरक्षण र अन्तराष्ट्रिय स्तरमा राष्ट्रको छवि र गौरव उचो राख्ने कार्य र वातावरण, आधुनिकता र आधुनिक राजनीतिक वातावरण र प्रणाली, विज्ञान प्रविधिमा जोड, राज्यमा दण्ड र पुरस्कारको वातावरण, कानुनको नजरमा सबैको समान  हैसियत र अधिकार आदि कुराहरू लागु गर्दा राष्ट्रिय भावना र एकता वृद्धि हुन सक्दछ  ।

 


निष्कर्ष
संघीय गणतन्त्र भएको नेपालको राष्ट्रिय एकता कसरी बलियो पार्ने,  भइरहेको सामाजिक, भौगौलिक, साँस्कृतिक, राजनीतिक एकता जस्ता पक्षलाई खलबलिन नदिन सबै नेपाली सचेत हुनुपर्ने हुन्छ । राष्ट्रिय एकता खलबलियो र भत्कियो भने कुनै पनि समूह, व्यक्ति र पक्षको हितको सुरक्षा हुन सक्दैन । मुलुकको समग्र एकता र एकताको भावनाबाटै देश समृद्ध बन्ने कुरा हुन्छ । 

 


 भूगोलमा साना राष्ट्र भइकन पनि सिंगापुर, इजरायल, स्वीजरल्याण्ड, दक्षिण कोरिया, थाइल्याण्ड, दुवई जस्ता मुलुकहरूले आफ्ना शासन व्यवस्था तथा राज्य सञ्चालन सम्बन्धी बहुआयामिक दृष्टिकोणहरूलाई महत्व दिने गरेका कारण उनीहरूको राष्ट्रिय एकता सुदृढ तथा बलियो देखिन्छ । 

 


सुदृढ राष्ट्रिय एकताले मुलुकको विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । संघीय  गणतान्त्रिक नेपालको राष्ट्रिय एकता बलियो भयो र कुनै पनि पक्षबाट खलबलिएन वा विथोलिएन भने नेपालको समग्र एकताका आधार र पक्ष समृद्ध बन्ने कुरामा विश्वास गर्न सकिन्छ । अराजनीतिक सत्ता गठबन्धनका कारण राष्ट्रियता र एकता कमजोर बन्दैछन् ।  (साँघु साप्ताहिक, २०८० भदौ १८)

प्रतिकृया दिनुहोस