नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई संविधानकाे धारा ६४ काे उप धारा(१, ख) विपरीत याेग्यता नपुग्ने भएपनि उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । संविधानले गरेकाे व्यवस्था अनुसार, उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष उमेर पुगेकाे हुनु पर्छ ।
आज २०७९ फागुन २६ गते बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गङ्गाराम चौधरीले राससलाई जानकारी दिएका हुन् ।
संविधानकाे धारा ६४ काे उप धारा(१, ख) विपरीत याेग्यता नपुग्ने भएपछि अब उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अध्यक्ष श्रेष्ठको नाम आठ दलको बैठकमा कसरी प्रस्ताव गरिने हाे ? श्रेष्ठ कैलाली–१ बाट निर्वाचित सांसद ४० वर्षीय सांसद हुन् । उनकाे जन्म मिति १९ फेब्रुअरी १९८३ रहेकाे जानकारी हुन आएकाे छ ।
यसैगरी जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले पनि संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय २०७९ फागुन २५ गते गरेको थियो । उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारकाे मनोनयन दर्ता हुनेछ भने आगामी चैत ३ मा निर्वाचन हुनेछ ।
---
प्रतिकृया दिनुहोस