• शुक्रबार-बैशाख-१४-२०८१

‘बहुजन हिताय : बहुजन सुखाय :’ विरूद्ध सरकार !

 

हाम्रो देशमा सनातन वैदिक हिन्दू धर्मपथको प्रयोग पनि सनातन नै भएकाले समयसंगै जन्मिएका अन्य धर्मको तुलनामा सनातन हिन्दू धर्म मान्नेहरूको संख्या पनि कुल जनसंख्याको ८१.३ प्रतिशत रहेको स्वयमं सरकारी तथ्याङ्कले प्रष्ट पारेको छ । पछिल्लो सरकारी तथ्याङ्क अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत बुद्धिष्ट, ४.४ प्रतिशत ईस्लाम, ३ प्रतिशत किराँत र १.४ प्रतिशत ईसाई अर्थात् क्रिश्चियन धर्म अंगाल्ने मानिसहरू रहेका छन भने ०.८ प्रतिशत अन्य धर्ममान्नेहरू छन् भनेर सरकारी तथ्याङ्कले स्पष्ट पारेको छ । 

 


 जसरी धर्महरूसंगै हुर्किएको संस्कृतिका आधारमा धार्मिक गतिविधिहरू संचालन हुदै आउछन र यिनै अंगालिएका संस्कृतिहरू नै आध्यात्मिक नियम बन्ने गरेकाले धार्मिक पर्व, नियमहरूको कार्यान्वयन गर्दा सम्बन्धित देशका सरकारहरू धेरै संवेदनशील बन्नुपर्दछ भने राजनीति नेतृत्वले समेत धर्म संस्कृतिका आधारमा खडा भएका नियमलाई तोड–मतोड नगरी आम नागरिकको जीवन पद्धति बनाउन सकेमात्र राष्ट्रवादको नाराले सान्दर्भिकता पाउला भन्नु तर्क संगत हुनेछ । 

 


 त्यसैले यहाँ धर्म र राष्ट्र अनि राष्ट्रियता बारे चर्चा गरिरहँदा मैले अर्काको धर्म र संस्कृतिप्रति अवश्य पनि नकारात्मक टिक्काटिप्पणी गर्न खोजेको होइन । के मात्रै हो भने–धर्म संस्कृतिबारे पछिल्ला दिनहरूमा नेपाल सरकारले सार्वजनिक गरेको धारणा नियम, कार्यान्वयनका साथमा पर्व उत्सवहरूमा कोटाका आधारमा बाँडिने गरेको चिनी जस्तै गरी सार्वजनिक विदाको एकातिर शिलबन्दी त अर्कातिर बढोत्तरी गर्दै जाने प्रवृत्तिले सरकार अनि राजनीति नेतृत्वलाई भविष्यमा कहाँ पु¥याउला ? भन्ने प्रश्न मात्र नै हो । 

 


राष्ट्रलाई संमृद्धिमा लैजाने नाराका साथ बहुमत प्राप्त सरकार आज धर्म, संस्कृति र चाड पर्व बारे जसरी निर्लज्ज ढंगले प्रस्तुत भएको छ † यसले लोकतान्त्रिक मूल्य मान्यताको त उपहास गरेको छ नै, “बहुजन हितायः बहुजन सुखायः’’

 


भन्ने शास्त्रको मतलाई पनि खण्डन गरिदिएको छ । प्रसंग मुस्लिम समुदायको पर्व इदमा हाम्रो देशको संघीय सरकारले दिएको सार्वजनिक बिदाको हो । जुन निर्णय सीधा गलत मनोभावनाको उपज हो । त्यसैगरी जनमतको अबमूल्यन पनि हो । किन कि कुल जनसंख्याको ४.४ प्रतिशत मात्र हिस्सा ओगटेका मुस्लिमहरूको पर्वका नाममा देशैभर सबैलाई एकदिन इदमा विदादिने अर्काेतिर अल्पसंख्याका ईशाईहरूको सम्मेलनमा गएर बहुमत हिन्दूको मतबाट प्रधानमन्त्री बनेका के.पी.. ओलीले होली वाईन अभिषेक लिने, सत्तारुढ पार्टीका अन्य नेताहरू सबै डलरका पछि दगुरेर तारे होटलका कार्यक्रममा पुग्ने गरेको वर्तमान अवस्थालाई लोकतान्त्रिक भन्ने कि तानाशाही ? 

 


 जहाँका ८१.३ प्रतिशत जनताले अंगिकार गरेको धर्म अनुसारका चाड पर्वहरू जस्तै महाशिवरात्रि, रामनवमी, श्रीकृष्णजन्माष्टमी, विवाह पंचमी, होली, अक्षय तृतिया, नागपंचमी, ऋृषी पंचमी रक्षा बन्धन, किरात उधौली उभौली, सिरुवा मांगी ल्होछारलगायतका धेरै मौलिक चाड पर्वमा सार्वजनिक विदा कटौती गर्ने सरकारले धर्म निरपेक्षताका नाममा जसरी न्यून संख्यामा रहेका, आयातीत धर्मका पक्षपक्षधरका पर्वहरू : क्रिशमस, र ईदमा सार्वजानिक विदा यसैगरी दिई राखेमा आगामी साँढे तीन बर्षपछि हुने संघीय र प्रदेश सभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसको जस्तै हालतमा जनताले नेकपालाई नपु¥याउलान भन्न सकिन्न ।

 

लोकतन्त्र भनेको बहुमत जनताको चाहानालाई पूरा गर्नु, अनि राष्ट्रियता भनेकै परंम्परा संस्कार र संस्कृति, रीति रिवाजको संरक्षणका साथमा विकास हो । सायद नेपाली जनताले यिनै दुई कुराप्रति युगानुकूल ढंगले काम गर्लान् भनेर सनातन धर्म विरोधी हुँदाहुदै पनि विकल्प नभएर कम्युनिस्ट पार्टीलाई मतदान गरेको हुनुपर्छ ।  तर, भइदियो नेपालमा ठीक उल्टो ! 

 


हो कम्युनिस्टहरू धर्म मान्दैनन् तर जनताको धर्म मान्न पाउने अधिकारको पक्षमा उभिन्छन् भन्ने शब्दजाल फ्याँकेर चुनाव जितेका कम्युनिष्टहरू स्वयमंले दोस्रो संविधान सभाबाट पारित गरेको संविधानलाई अहिले लात मारेर परधर्मलाई लालन पालन गर्न थालेर कलियुगको मूर्तिमान प्रतिनिधि बन्न खोजे जस्तो देखिन्छ । संविधानमै उल्लेखित धर्मनिरपेक्ष तर सनातनदेखि चलेको धर्म र परम्परालाई बाधा नपुग्नेगरी काम कारवाही गरिने छ भन्ने आसयलाई उल्टाउदै संमृद्धिका नाममा युग÷युग देखिका पर्व उत्सवहरूमा दिने सार्वजनिक विदा कटौती गर्ने, बहुमतको भावना विपरीत नगन्य संख्यालाई उछालेर सुविधा दिई विभेदपूर्ण हर्कत गर्ने कार्य वर्तमान कम्युनिस्ट नामधारी सरकारबाट भइरहँदा कतै सरकारबाटै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानविरुद्ध त काम भई राखेको त छैन ? भन्ने आभाष अहिले हुन थालेको छ । 

 


जेल नेल यातना, निर्वासन र कडा भूमिगत जीवन अबलम्वन गरी संमृद्ध नेपाल बनाउने संकल्प लिएर जनतालाई गुलिया आश्वासन दिंदै सत्तामा पुगेका नेताहरूले यसरी एकपछि अर्को गर्दै सनातन धर्म, परम्परालाई बाईपास गर्दा कस्तो परिणाम भोग्नु पर्छ अर्थात् आफ्नो धर्म छोडेर अर्काको परम्परामा रमाउदा के हुन्छ ? भन्ने प्रमाणको रुपमा श्रीमद्भगवद्गीताको निम्न श्लोकको भावार्थसहित मनन गरेमाथि उल्लेख गरिएका सनातन चाडपर्वले कतै न्याय पाउँथे कि ? 

 


श्रेयान्स्वधर्मो विगुण : परधर्मात्स्वनुष्ठितात् । 
स्वधर्मे निधनं श्रेय : परधर्मो भयावह : ।।


(श्रीमद्भगवद्गीता ३ अध्याय) अर्थात् आफ्नो धर्म छोडेर जसले आयातित धर्मलाई अंगिकार र बल पु¥याउछ यसले केवल भयावह स्थिति अवस्य सिर्जना गरिदिन्छ ।  


त्यसैले नेपाल सरकार र नेताहरूले बेलैमा सोचे हुन्छ अर्काको धर्म र संस्कार अंगाल्दा उत्पन्न हुने शास्त्र निरुपित भयाभय स्थितिको जवाफदेही हामी आफै बन्छौ भन्ने कुरा...! के पी, ओली प्रचन्ड, माधव नेपालदेखि शेरवहादुर, बाबुराम र उपेन्द्र मात्र हैन अन्य नेता जो आफूलाई अब्वल ठान्छन् सबैले एकचोटी धार्मिक स्वतन्त्रता भएको महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति रोनाल्ड ट्रम्पले क्रिश्चियन अमेरिकीहरूको हितमा गरेको काम, त्यसैगरी टाढा नहेर्ने हो भने भर्खरै निर्वाचन जितेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय संस्कृति र धर्म जोगाउन लिएको अठोट अनि बोलाईएका पाहुनाहरूलाई उपहार स्वरूप मोदीजीले दिएको श्रीमद्भगवद्गीताको पुस्तकको उदाहरण नै काफी छ नि हैन र ?।

 

भलै मोदीजीले हामी नेपालीलाई राम्रो ब्यवहार गरेनन् । उनको कड्के नजरमा संधै नेपाली राष्ट्रियता परेको छ तर उनले धर्म संस्कृति र परंम्परा जोगाउन भारतीय जनतासामु जुन बाचा गरे त्यो क्रमश एकपछि अर्को गर्दै पूरागर्दै जाने लक्षण देखिएको छ । तर, हाम्रा यहाँ जनमत पाएर जो सत्तामा पुग्छन् तब पहिलो प्रहार जनता र देशको महान पुँजी सनातन धर्म र धार्मिक क्षेत्रलाई बनाईन्छ नै । 

 


यो प्रचलन नेपाल मा बि.सं.२०१५ साल देखिकै हो । त्यतिवेला नास्तिक बी.पी.कोईरालाले प्रधानमन्त्री हुने बित्तिकै भगवान श्री पशुपतिनाथजी हटाउने कुरा उठाएछन् राजा महेन्द्रले रोकिदिएछन् । पछि भाइ जीपी कोईरालाले पनि कतिपय अवस्थामा भयाभह रुपी परोधर्म बोक्नेहरूसंग गठजोर गरे उनकै पालामा नेपाल भद्रगोलमा फस्यो र अहिले पालै पालो कम्युनिस्ट नामधारी नेताहरूले सरकारको नेतृत्व गर्दैछन् यिनीहरूबाट त शास्त्र र सन्तका वाणीलाई त पत्याएनन् । जसको परिणाम जगजाहेर नै छ । 

प्रतिकृया दिनुहोस