• सोमबार-बैशाख-२४-२०८१

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै


गण्डकी, १४ वैशाख । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो ।

 

निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिनुुभयो । निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै उहाँले हालसम्म २३ प्रतिशत काम भएको जानकारी दिनुभयो । निर्माणमा कतिपय ठाउँमा खानेपानीका पाइप, बिजुलीका पोलले समस्या पारेको उहाँले बताउनुुभयो । 

 

पोखरा महानगर प्रमुखद्वारा निर्माणाधीन सडकको अनुगमन

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डको अनुगमन गर्नुभएको छ । सञ्चारकर्मीसहित महानगरप्रमुख आचार्यले चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणाधीन सडकको अवस्थाका साथै प्रिकाष्ट प्रविधिमार्फत म्याग्दे खोलामा राख्न लागिएको पुललगायतका विषयमा जानकारी लिनुभएको थियो । 

 

आवतजावत सहज बनाउन यथाशक्य चाँडो सडक निर्माण सम्पन्न गर्न सम्बद्ध निर्माण कम्पनी एवं सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहेको उहाँले बताउनुुभयो ।
–––

 

प्रतिकृया दिनुहोस