• बुधबार-भदौ-१८-२०८२

एमाले विधान महाधिवेशन रोचक बन्दै 

 

काठमाडौं । यसै साता(२०८२ भदौ २०) एमालेले विधान महाधिवेशन आयोजना गर्दैछ । एमालेको दोस्रो विधान महाधिवेशनमा केही फरक दृश्य देखिने भएको छ । एमालेको पहिलो विधान महाधिवेशनको बेलामा जसरी अध्यक्ष केपी ओलीको एकछत्र थियो, त्यसलाई अहिले एमाले नेताहरुले चुनौती दिने भएका छन् । एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीको आडमा एमालेका नेताहरुले त्यस्तो हिम्मत जुटाएका हुन् । 


यो हिम्मत जुटाउने परिदृश्यकै कारण एमालेको विधान महाधिवेशनमा धेरै नेताहरु भने बोल्न नै नपाउने अवस्था आउने संकेत देखिन थालेको छ । फरक अभिमत प्रकट हुने संभावना देखिएपछि एमाले अध्यक्ष ओलीले भदौ १३ गतेको केन्द्रीय कमिटी बैठक सारेका छन् । २०८२ भदौ २० गतेदेखि हुने भनिएको विधान महाधिवेशनका एजेण्डा पारित गर्नका लागि पनि केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने हुन्छ । त्यो केन्द्रीय कमिटीको बैठकमा भण्डारीको पक्षमा अभिव्यक्ति नआओस् भन्ने एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेल देखिएका छन् ।

 

त्यहीअनुसार उनीहरुले रणनीति बनाएका छन् । त्यो रणनीति अनुसार नै २०८२ भदौ १३ गतेको केन्द्रीय कमिटी बैठक अचानक रोकिएको एमाले नेताहरु बताउँछन् । एमालेले केन्द्रीय कमिटीको बैठक २०८२ भदौ १९ गते राख्ने अनुमान गरिएको छ । भदौ १८ गते अध्यक्ष ओली चीन भ्रमणबाट आउनेछन् । कार्यकर्ताहरुलाई नै दबाबमा राखेर निर्णय गराउने अध्यक्ष ओलीको रणनीति रहेको नेताहरुको भनाइ छ । 


तर, पनि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने फरक मत राख्ने तयारी गरेका छन् । विद्या भण्डारीको पक्षबाट पोखरेलले फरक मतसहित अध्यक्ष ओलीलाई काउन्टर गर्ने रणनीति लिएका छन् । उनलाई सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीसहितको टीमले साथ दिइरहेका छन् । एमालेको तल्लो तहका नेता कार्यकर्ताहरुले पनि साथ दिइरहेका छन् । त्यो साथ थप बढाउने रणनीति अनुसार भण्डारीले पनि देश दौडाहा गरेको देखिन्छ । अहिले उनी मधेश प्रदेशमा पुगेर ५१ किलोको मालाको भव्य स्वागत खाएर फर्किएकी छिन् । यसअघि कोशी प्रदेशमा गएकी थिइन् ।

 

अनि, विभिन्न सामाजिक कार्यक्रम निवासमा आयोजना गरेर सम्पर्क र प्रभाव बढाउने प्रयास गरेकी छिन् । भण्डारीको पक्षमा विधान महाधिवेशनमा आउने कतिजनाले समर्थन गर्छन् ?  भन्ने पनि चासो रहेको छ । 


त्यसैले, एमालेको अहिलेको विधान महाधिवेशन भने निकै रोचक र भोकल हुने देखिएको छ । त्यसले राष्ट्रिय महाधिवेशनसम्म पुग्दा कस्तो दृश्य निर्माण गर्छ भन्ने चाहिं थप चासोको विषय बनेको छ । (साँघु साप्ताहिक, २०८२ भदौ १६) 

प्रतिकृया दिनुहोस