• बुधबार-भदौ-१८-२०८२

नेपाल प्रहरी : नेतृत्व परिवर्तनको संघारमा, भदौ महिना भविष्यका लागि किन महत्वपूर्ण ? 

 

काठमाडौं । सामान्य अवस्थामा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापासहित चारजना एआइजीपीहरु पनि भदौ महिनाभित्र अवकाशमा जाँदैछन् । जसले गर्दा संगठनको नेतृत्वमा ठूलो फेरबदल आउने संभावना बढेको बताइन्छ । आईजीपी थापा, एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी २०८२ भदौ १८ गते बुधवारबाट सेवा निवृत्ति हुँदैछन् । अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल भने २०८२ भदौ १४ गते नै उमेर हदका कारण अवकाश गइसकेका छन् ।


सेवा अवधिका कारण रिक्तता
यो रिक्तताको मुख्य कारण नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिको नियम हो । यद्यपि, संसदमा विचाराधीन प्रस्तावित नेपाल प्रहरी विधेयक २०८१ मा यो अवधि हटाउने प्रावधान राखिएको छ । तर, विधेयक तत्काल संसदबाट पारित हुने सम्भावना न्यून हुँदै गएको छ । जसले गर्दा विद्यमान नियमानुसार नै उनीहरु अवकाशमा जान लागेका हुन् ।


संसदको वर्षे अधिवेशन जारी रहेकोले पनि सरकारले अध्यादेशमार्फत उक्त विधेयक जारी गर्नसक्ने संभावना पनि देखिंदैन । विद्यमान प्रहरी नियमावली संशोधन गरेर तत्काल अवकाश टार्नसक्ने सम्भावना पनि न्यून भइसकेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसको नेतृत्वले यी विषयमा खासै चासो देखाएको पनि छैन । 


आइजीपी थापासहित तीजना एआईजी अवकाश हुँदा सोही संख्यामा डीआईजीहरु एआईजीमा बढुवाका लागि राजनीतिक रुपमा तीव्र ढंगले लबिङ पनि  सुरु गरिसकेका छन् । २०८२ असोज महिनामा थप एकजना डीआईजीले अवकाश पाउँदासमेत डीआईजी पदमा पनि रिक्तता सिर्जना हुने बताइन्छ । जसले गर्दा पाँचजना एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक)ले डीआईजीमा बढुवाको अवसर पाउनेछन् । यतिखेर एआईजी बढुवाका नौ जनाको प्रतिस्पर्धा रहेको बताइएको छ । उनीहरू पनि दुई भिन्न समूहमा विभाजित भएर बढुवाको लागि लबिङ गरिरहेको संगठन स्रोतले जानकारी दिएको छ ।


यी दुई टोलीको प्रतिस्पर्धा 
एआइजीपी प्रतिस्पर्धाको पहिलो समूहमा राष्ट्रिय अनुसन्धान विभागबाट २०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेकाहरु अझ बढी सक्रिय भएर लागेका छन् । जसमा सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, र डम्बरबहादुर विक रहेका छन् । अर्को समूहबाट २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, र गोविन्द थपलिया रहेको प्रहरी संगठन स्रोतको भनाई रहेको छ । यसैगरी, डीआईजी बढुवाका १२ जना एसएसपीहरू प्रतिस्पर्धामा रहेको बताइन्छ । उनीहरुमा २०८० सालमा बढुवा भएका १० जना एसएसपीहरू मुख्य दावेदार मानिन्छन् । 


जसमध्ये शारदाप्रसाद चौधरी राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । अन्य नौ जनामा एसएसपीहरु विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी दावेदार रहेका छन् । उनीहरुसँगै शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी र दीपशमशेर जबरा पनि बढुवाका लागि आकांक्षी मान्निछन् । 


साथै, बसन्त रजौरे र रमेश बस्नेत पनि यस दौडमा रहेको संगठन स्रोतले जानकारी दिएको छ । यहीकारण २०८२ भदौ र असोज  महिना प्रहरी संगठनको नेतृत्वका लागि अति नै महत्ववपूर्ण समय हुने चर्चा संगठन भित्र चल्ने गरेको छ । विद्यमान नियमानुसार बढुवा प्रक्रिया अगाडि बढेको खण्डमा वरिष्ठ प्रहरी अधिकृतहरूको ठूलो संख्यामा फेरबदल हुने बताइन्छ । (साँघु साप्ताहिक, २०८२ भदौ ९) 
 

प्रतिकृया दिनुहोस