साँघु र जनआस्था साप्ताहिकमा प्राय सेना सम्बन्धि गुनासाहरु प्रस्तस्तै छापिरहेका हुन्छन् । तर, सकारात्मक शन्देश अत्यन्त न्युन छापिएका हुन्छन् । आज मैले देखेका केही सकारात्मक सन्देश लेख्दैछु ।
केही दिन पहिला समारोह संचालन निर्देशनालयको एउटा सूचना अनुसार सैनिक अस्पतालमा आउने जेष्ठ नागरिक, अपाङ्ग तथा सिनियर अधिकृतलाई सहयोगको लागि मानिस खटाउँदै आएको र त्यसमा पनि थप सुझाव मागिएको रहेछ । यो अत्यन्त सकारात्मक कार्य हो । सबभन्दा पहिला अस्पतालमा हाल भएका दरबन्दीमा डक्टर र नर्सको दरबन्दी पर्याप्त मात्रमा थप गर्नुपर्छ । त्यो नहुँदा विरामीप्रतिको रेखदेखमा कमी भइ डक्टर र उपचारीकाहरुमा बढी दवाव परिरहेको छ । त्यसले गर्दा अहिले भएका बिरामीको भिंडको चाप घटाउन कठिन भइरहेको छ ।
यसतर्फ सम्बन्धित निकायले सबभन्दा पहिला पहल लिनुपर्छ । जसरी अहिले स्वास्थ्य मन्त्रीले देशमा स्वास्थ्यकर्मीहरुको अत्यन्त कमी भएको भनि हजारौको संख्यामा दरबन्दी थपको माग गरिरहेका छन् । जसको अभावमा गाउँ गाउँसम्म स्वास्थ्य उपचारमा बाधा परिरहेको छ । त्यसरी नै सेनाका वीरेन्द्र अस्पताललगायत उपत्यका बाहिर रहेका अस्पताल तथा मिसनहरुमा खटाउन पनि थप स्वास्थ्यकर्मीको आबश्यकता खड्कीरहेको बुझिन्छ ।
केही दिन अघि मेरो घरमा झाँपादेखि एकजना सिपाही पूर्ण पुरी उनका गाउँले सहयोगी सहित भेट्न आए । उनकी श्रीमती रुखबाट लडेर दुबै हात भाँचिएर उपचारको लागि वीरेन्द्र अस्पताल छाउनी लैजान समय नभएर बिर्तामोडमा उपचार गर्दा करिब ५ लाँख खर्च भएकोले बीमाको रकम दाबी गर्न आएका रहेछन् । त्योभन्दा पहिला पनि छाउनी जाँदा कसैले सहयोग नगर्दा अलमलमा परि उनी घर फर्केर गएका रहेछन् । मैले सबै बुझि सकेपछि अस्पतालका सिईओ सर भुवन कुवँरलाई फोनगरेर निज सिपाहीको बारेमा सबै जानकारी गराएँ । जर्साबले मलाई भेट्न पठाइदिस्यो म हेरिदिन्छु भनेपछि उनलाई अस्पतालमा पठाएँ । जर्साबले सबैकुरा बुझि सबै प्रकृया पु¥याएर नियम बमोजिम पाउने बीमा रकमको लागि आर्मी हेडक्वार्टरमा कल्याणकारी निर्देशनालयमा रकमको लागि पठाइदिनु भयो ।
ती पीडित सिपाहीले क्षतिपूर्ति रकम प्राप्त गर्ने प्रकृयामा भएको बुझियो । अहिले बीमा रकम पाँच लाखबाट सात लाख भएको रहेछ । यो पनि राम्रो खबर हो । यो बीमा रकम सम्बन्धित निवृृत्तिभरणमा जानेले एक महिनाको पेन्सन सुरुमा बुझाएपछि पाइन्छ ।
यसले अबकास प्राप्त सकलदर्जाको लागि बेलामौकामा अत्यन्त राम्रो कार्य गर्छ । यस्ता पीडित ब्यक्तिलाई अस्पताल पुगिसकेपछि कसैले गाइड गरेर निजलाई सम्बन्धितमा पठाउने कार्यको ब्यवस्थापन हुनुपर्ने देखिन्छ । अन्यथा विरामी र आफन्तले अनावश्यक दुःख पाउन सक्छन् ।
अर्को विषय हाम्रो महाँकालस्थित त्रिचन्द्र मिलेट्री अस्पतालमा अहिले डेण्टल अस्पताल र फिजियोथेरापीमात्र रहेको छ । त्यसको बन्दोबस्ती त्यति राम्रो छैन । जहाँ केही समय पहिलासम्म लिफ्ट बिग्रेर असक्त र बुढाबुढी विरामीहरु पनि भ¥याङ्ग चढेर माथि जानपर्ने बाध्यता भइरहेको थियो । यसमा म्यानेजमेन्ट पक्ष अलिक सकृय हुन आवश्यक छ । छाउनी अस्पतालबाट हेरिनु पर्ने भएकोले अलिक ओजेलमा परेको हुनसक्छ । यसतर्फ सम्बन्धितको ध्यान पुगोस् ।
नेपाली सेनाको ऐतिहास बोकेको महाँकाल अस्पतालको तलको भागमा ब्यापारिक कम्प्लेक्स बनाइ निजी व्यवसायीलाई पसल चलाउन दिइएको छ । यो ऐतिहासिक अस्पताललाई केही कमिसनको लोभमा निजी ब्यापारीलाई दिनु तात्कालीन चिफसा’बको अत्यन्त गैरजिम्मेवार कार्य थियो । जसको धेरै सकलदर्जाबाट विरोध भएको थियो । अहिले आएर सुनिएको खबर अनुसार उक्त ब्यापारिक कम्प्लेक्सको म्याद नवीकरण नगरिने र पुन ः नेपाली सेनाले नै जिम्मा लिएर चलाउने भनेको सुनियो । यो अत्यन्त सकारात्मक खवर हो । यसका लागि हालका चिफसा’वलाई हामीले हार्दिक धन्यवाद दिनैपर्छ ।
अब यो महाँकालको ऐतिहासिक अस्पताललाई पुनः विगतमा गरिएको योजनाअनुसार भूपू र परिवारको लागि उपयोग गरियोस् । यदि यसो गरिएमा छाउनी अस्पतालको चाप केही घट्ने छ । अहिले छाउनी अस्पतालमा मानिसको मात्र भिंड होइन गाडी र मोटरसाइकल पार्किङ्गस्थल पनि अभाव भइसकेको छ । खुला ठाउँ समाप्त भएर रुख बिरुवा मासिदै हरियाली र स्वच्छ हावा पाउन पनि कठिनाइ हुँदै गएको छ । महाँकालमा ओपीडी सेवा सञ्चालन भएमा धेरैलाई अत्यन्त पायक पर्ने ठाउँ भएकोले बुढाबुढी, केटाकेटी, अपाङ्गको लागि अत्यन्त सुविधा पुग्नेछ ।
सिर्फ अपरेसन गर्ने र अस्पताल भर्ना हुने विमारी मात्र छाउनी अस्पतालमा जान पर्ने होस् । यहाँ शिसर्फ इमर्जेन्सी अपरेसन मात्र गर्नेगरि सीमित बेडहरुको व्यवस्था गरियोस् । हाम्रा पुर्खाहरुको विश्वयुद्धमा बेलायत सरकारलाई सहयोग गर्दै रगत पसिना बगाएर बेलायत सरकारबाट पाएको सहयोगस्वरुप बनाइएको ऐतिहासिक त्रि–चन्द्र मिलेट्री अस्पतालको केही भाग निजी ब्यापारीलाई दिइनु अत्यन्त गलत भएकोले पुनः सैनिक अस्पतालको रुपमा पूरा तवरले राम्रो बन्दोबस्तका साथ चलाइएमा सकलदर्जाको हितमात्र होइन हाम्रो सुन्दर इतिहासको पनि महत्व बढ्ने छ ।
अर्को महत्वपूर्ण विषय हाम्रो आफ्नै मेडिकल कलेज भएर पनि छाउनी अस्पतालमा अहिले अत्यन्त महत्वपूर्ण युनिट ग्यांस्ट्रो, न्युरो, इण्डोक्राइनलगायत जस्ता महत्वपूर्ण युनिटमा विशेषज्ञ डक्टर नभएर या कमी भएर बाहिरबाट हप्तामा एकपटक आउने गरेको देखियो ।
जसबाट विरामीलाई आफ्नो पालोको लागि महिना दिनसम्म कुर्नुपर्ने कष्टकर अवस्था रहेक छ । यो अत्यन्त असुविधा र कष्टकर अवस्थाबाट छुटकारा चाँडो दिनुपर्ने महसुस भएको छ । अस्पतालले आफै उत्पादन गरेका विशेषज्ञ डक्टरपनि पेन्सन पाकेपछि धेरै कमाउन बाहिरका निजी अस्पतालमा जाने गरेका छन् । बाहिर बढी सुविधाको लागि जाने डाक्टरहरुका लागि सेनाकै अस्पतालमा थप सुविधा दिएर राखे उत्तम हुने थियो ।
साथै यस्ता विशेषज्ञ डक्टरको भनाइमा निजहरुलाई जुनियर डक्टरसरह ससाना कार्यमा पनि अचानक बाहिर ड्युटिमा खटाइरहने भएकोले पनि छोड्न बाध्यता परेकोे भनि एकजना सेनाको डक्टरसँग निजी अस्पतालमा भेट्दा गुनासो गर्नु भएको थियो । यस्ता सिनियर विशेषज्ञ डक्टरको महत्व सबै अस्पतालदेखि स्वदेश र विदेशमा त्यत्तिकै हुनेहुँदा सरकारले दिने सुबिधा पनि बढाउनु पर्ने र कल्यांणकारीको रकम खर्च गरेर भएपनि विशेषज्ञ डक्टर सहितको संख्या तथा समय र कालपरिस्थिति अनुसार सुविधा बढाउन अत्यावश्यक देखिन्छ ।
यसतर्फ वीरेन्द्र अस्पताल, सैनिक स्वास्थ्य महानिर्देशनालय लगायत प्रधानसेनीपतिज्यूले समेत ध्यान दिन सकेमा अस्पतालको गुंणात्मक विकासमा ठुलो सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । साथै, अशोक राज सिग्देल चिफसाबको नाम पनि सँधैभरि सकलदर्जाले सम्झिरहनेछन् । -पूर्ण ओली, महासेनानी (अप्रा), २०८२ श्रावण २२
प्रतिकृया दिनुहोस