नेपालमा गणतन्त्रको स्थापना भएको १६/१७ भएको छ । यस अवधिमा मुलुकमा केही परिवर्तन पनि भएको छ । तर, मुलुकको अर्थतन्त्र झन्झन् परनिर्भर भएको छ, मुलुकको वैदेशिक ऋण दशौं गुणा बढेको छ, बैदेशिक ऋणको ब्याज तिर्न मात्रै बर्षमा ३/४ खर्ब रुपैयाँ छुट्ट्याउनुपर्ने अवस्था छ । बार्षिक पुँजीगत खर्चको राशिभन्दा बैदेशिक ऋणको ब्याज बढी भइसकेको अवस्था छ ।
२०/३० वर्ष र उपलब्धि के ?
प्रतिब्यक्ति आयको वृद्धि पनि यस अवधिमा भएको मुद्रास्फितिको प्रभावको आधारमा मूल्यांकन गर्ने हो भने त्यस्तो नगण्य रहेको देखिन्छ । अर्थतन्त्रको परनिर्भरता र नेताहरुको अदूरदर्शिताले समेतले गर्दा मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा कमजोर भएको छ । मुलुकको प्रगतिको निम्ति २०÷३० वर्षको अवधि सानो होइन भन्ने कुरा विश्वका अन्य कतिपय मुलुकले ५÷१० वर्षको अवधिमा हासिल गरेको उदाहरणले स्पष्ट पार्छ ।
नेपाल र ट्राओरेबीचको अन्तर
बुर्किना फासोका अन्तरिम राष्ट्रपति ट्राओरे समकालीन संसारका सर्वाधिक चर्चित नेता मध्येमा पर्छन् । सत्ता हातमा लिएको ३ वर्षको अवधिमा उनले मुलुकको रुपान्तरण गर्ने दिशामा निकै ठुलो सफलता पाएका छन् । सत्ता सम्हालेको तीन वर्ष भन्दा पनि छोंटो अवधिभित्र उनको नाम नोबेल शान्ति पुरस्कारको मनोनयनमा परेको कुराले पनि उनले बुर्किना फासोमा शान्ति कायम गर्ने, आफ्नो मुलुकका प्राकृतिक सम्पदाको आफैले उपयोग गर्ने र आफ्नो मुलुकको अर्थतन्त्रलाई बाह्य शक्तिको निर्देशन र निर्णयबाट होइन, आफ्नै मुलुकको निर्णय र छनौटका आधारमा अघि बढाउने, प्राकृतिक श्रोतको उत्खनन् र प्रशोधनबाट हुने आम्दानीलाई इच्छुक नागरिकले जुनसुकै बेलामा हेर्न पाउने गरी सार्बजनिक जानकारीका निम्ति विद्युतीय संजालमा राख्ने ।
राष्ट्रको आम्दानीमा नागरिकहरुलाई प्रत्यक्ष हिस्सेदार बनाउने गरी नागरिक लाभ योजना संचालन गर्ने जस्ता युगान्तकारी काम र निर्णयले गर्दा अमेरिकादेखि रुस र चीन लगायतका विश्वका शक्तिशाली राष्ट्रहरु सम्ममा बुर्किना फासो मोडेल अर्थात ट्राओरे मोडेलको चर्चा तथा अध्ययन र अनुसन्धान हुन थालेको पाइन्छ । वितेका तीन वर्षको अवधिमा बुर्किना फासोमा कतिपय नयाँ उद्योगहरुको स्थापना र संचालन भएका छन् ।
ठुल्ठुला पूर्वाधारको निर्माण भएको छ र विदेशी वस्तुको आयातमाथिको निर्भरतामा सापेक्षिक रुपले कमी आएको छ । अमेरिकाले अमेरिकाको औपचारिक भ्रमणको निम्ति गरेको आमन्त्रणलाई समेत ट्राओरेले “ आफ्नो देश र आफ्ना देशका नागरिकको काम गर्नुपर्ने भएकोले आफूसंग विदेश भ्रमण गरेर अरु मुलुकका नेतासंग हात मिलाउने समय नभएको“ कारण जनाएर अस्वीकार गरेको कुरा समेत बाहिर आएको छ ।
डलरमा कारोबार गर्दा शक्तिराष्ट्रहरुले अनावश्यक दवाव र हस्तक्षेप गर्ने संभावना रहेको कुरालाई दृष्टिगत गरी उनले सहेल राष्ट्रहरुसंगको सहमतिका आधारमा आआफ्नौ मुलुकका मुद्रा र बस्तु विनिमयका आधारमा ब्यापार गर्नेलगायतका पहल र सन्धि सम्झौता समेत गरेका छन् । अफ्रिकाको एउटा भूपरिवेष्ठित राष्ट्रले तीन वर्षभन्दा कम समयमा हासिल गरेको राजनीतिक र आर्थिक उपलब्धि एशियाको एउटा भूपरिवेष्ठित राष्ट्र नेपालले वितेका १६/१७ र अझ ३०/३५ वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरुभन्दा बढी महत्वपूर्ण र युगान्तकारी देखिन्छन् ।
आर्थिक सार्वभौमसत्ताबिनाको राजनीतिक सार्बभौमसत्ता निरर्थक हुन्छ भन्ने कुरामा ट्राओरे स्पष्ट देखिन्छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष वा विश्वबैंकजस्ता कतिपय संस्था र कतिपय पश्चिमी राष्ट्रले राखेका सशर्त सहयोग सम्बन्धी कतिपय प्रस्तावलाई उनले आफ्नो मुलुकको आन्तरिक मामिलामा अनुचित हस्तक्षेप गर्ने चाहनाको संज्ञा दिएर अस्वीकार गरेका छन् र अर्थतन्त्रलाई विकसित पश्चिमी राष्ट्रहरुको एकल नियन्त्रणमा रहन नदिनका निम्ति अन्य अफ्रिकी राष्ट्रहरुदेखि ब्रिक्स राष्ट्रहरुसम्म सितको सम्बन्ध सुमधुर राख्ने पहल गरेका छन् ।
ब्रिक्स राष्ट्रहरुले समेत अन्तर्राष्ट्रिय व्यापारमा पश्चिमी शक्ति राष्ट्रहरुको संभाव्य हस्तक्षेपको न्युनीकरण गर्ने उपायको विषयमा ट्राओरेको अनुभव र परामर्शलाई गम्भीरतापूर्वक लिन थालेको देखिन्छ । आफ्नो देशमा अरु मुलुकले कब्जामा राखेका सुन खानीको राष्ट्रियकरण गर्ने र अरु राष्ट्रलाई सुन खानी कब्जा गर्न नदिने जस्ता साहसिक निर्णयहरु उनले गरेका छन् । आफूले गरेका त्यस्ता निर्णयहरुको कार्यान्वयन समेत संगसंगै गरेका छन् ।
संयुक्त राष्ट्र संघको महासभामा उपस्थित सरकार प्रमुखहरुको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने रात्रिभोजमा अमेरिकी राष्ट्रपतिसंग हात मिलाएको कुरालाई अमेरिकी राष्ट्रपतिसंग भेट भएको भनेर सगर्व प्रचार गर्ने नेपाली नेताहरुको चरित्र र अमेरिकाको औपचारिक भ्रमणको निम्तो पाएर पनि भ्रमणको निम्ति समय ननिकाल्ने ट्राओरेको चरित्रमा आकाश पातालको अन्तर देखिन्छ ।
ट्राओरेले नोबेल शान्ति पुरस्कार समेत विकसित पश्चिमी राष्ट्रहरुको प्रभाव र वर्चस्व विस्तार गर्ने औजारको रुपमा प्रयोग हुँदै आएको भनेर आलोचना गरेका छन् । अनेकौं वैदेशिक दवाव र धम्कीका वावजुद ट्राओरेले स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माणको आफ्नो प्रयत्न जारी राखेका छन् । इमान्दार भएर प्रयास गर्ने हो भने ३/४ वर्षकै अवधिमा पनि मुलुकको भविश्यको निर्माणमा कायापलट गर्दै उल्लेखनीय र अविस्मरणीय उपलब्धि हासिल गर्न सकिन्छ भन्नेकुराको उदाहरण भएका छन् ट्राओरे र बुर्किना फासो ।
नेपालका राजनीतिक दलहरु र नेताहरुले पनि आफ्नो असक्षमताको दोष अरुको टाउकोमाथि थोपर्ने, अरुको चाहना पूर्तिका निम्ति बर्षैपिच्छे जसो नागरिकता ऐन खुकुलो बनाएर विदेशीलाई नागरिकता दिने र आफ्नो र आफ्नो नजिकका बिचोलिाय, माफिया र ब्यक्तिको हित मात्रै हेरेर नीति निर्माण र निर्णय गर्ने प्रवृत्ति र नेतृत्वबाट देशलाई मुक्त बनाएर राष्ट्र र जनताको वृहत्तर हित हेरेर काम गर्ने साहसको प्रदर्शन गर्ने नेतृत्वको जरुरी भएको छ । देशै रहेन भने नेताहरुले अहिले पुस्तौं पुस्तालाई पुग्नेगरी थुपारेको पैसा र प्रभावबाट उनीहरुकै सन्तानले फाइदा उठाउन नसक्ने अवस्था आउन सक्छ भन्नेकुरामा सम्बन्धित सबै सजग हुन जरुरी छ । (साँघु साप्ताहिक, २०८२ भदौ २)
प्रतिकृया दिनुहोस