• बिहीबार-श्रावण-१५-२०८२

नेता–सांसद आक्रोशित, कर्मचारी शक्तिशाली...! :ओली सरकार कहिले ढल्छ ? चलखेल निरन्तर

 

काठमाडौं । काठमाडौं खाल्डोमात्र होइन, नेपाली राजनीतिक वृत्तमा यतिबेला निरन्तर चर्चाको विषय हो, केपी ओली नेतृत्वको सरकार कहिलेसम्म चल्छ ? यो यस्तो चर्चाको विषय हो, जो सरकार गठन भएदेखि ढल्ने चर्चा चलिरहेछ ।  यस्तो अवस्था भइरहेको छ कि कांग्रेस र एमालेजस्ता ठूला दललगायत अन्य साना दल समेत मिलेर बनाएको शक्तिशाली सरकार ६ महिना नै नपुग्ने चर्चा हुँदै ढल्ने आंकलन भए, गरिए । विभिन्न विश्लेषण भयो । सरकार ढल्ने चर्चाले राजनीतिक वृत्तमा अस्थिरताको संकेत र सन्देश त दिमेन इरहेको छ, कर्मचारी प्रशासनमा पनि त्यसको असर परिरहेको छ । 


संयुक्त सरकारको बेढंग र कमजोरीका कारण कर्मचारी वृत्त सरकारसँगै मिलेर हिडेको अवस्था भने छैन । कर्मचारीले आफ्नो स्वार्थ अनुसार दलहरुलाई र मन्त्रीहरुलाई प्रयोग गरिरहेका छन् । कर्मचारीले संसद, सांसद र दलहरुलाई कतिसम्म पंगु बनाउँछन् भन्ने चाहिँ पछिल्लोपटक निजामती कर्मचारीसम्बन्धी विधेयकको ‘बाहेक’शब्दले खुलेको छ । सांसदहरुलाई पत्तो नै नदिई कर्मचारीले आफ्नो स्वार्थ घुसाएका थिए । आम नागरिकको समेत समर्थन रहेको कुलिङ अफ पिरियड हटाउन कर्मचारीले विधेयकमा दुस्साहस गरेका थिए । जुन अहिले पनि विवादमा रहेको छ । अनुसन्धान भइरहेको छ । 


तर, पनि सरकार आजे ढल्ने, भोलि नै ढल्ने चर्चा भने कम भएको छैन । वास्तवमा भन्दा तत्काल ढल्ने संभावना पनि देखिएको छैन । एमाले र कांग्रेसवीच अविश्वास भने देखिएको छ । दलीय अविश्वास र प्रतिस्पर्धा राजनीतिक वृत्तमा भइरहेको छ । यसले गर्दा, सरकार कहिले ढल्ला भन्ने चर्चा दिनप्रतिदिन रोकिएको छैन । एमाले र कांग्रेसका सांसद र नेताहरुको सरकारविरुद्धको आक्रोशपूर्ण अभिव्यक्तिले पनि त्यस्तो देखाएको छ ।


  कांग्रेस  नेताहरुले सरकारले जनचाहना अनुसार काम नगरेको बताइरहेका छन् । महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मामात्र होइन, कृष्ण सिटौलासम्मले सरकारको आलोचना गरिरहेका छन् । २०८२ साउन १० गते पनि कृष्ण प्रसाद सिटौलाले सरकारले काम गर्न नसकेको आरोप लगाएका थिए । तर, त्यससँगै अहिलेकै सरकार निरन्तर रहने पनि उनको भनाइ चाहिँ छुटेको छैन । 


 एमालेसँग कांग्रेसका नेता र सांसदहरुको निजामती सेवा विधेयकको विषयमा पनि असन्तुष्टि रहेको छ । विधेयकको व्यवस्था कुलिङ अफ पिरियड हटाउन राष्ट्रियसभामा संशोधन नै राखेको छ र कर्मचारीलाई प्रयोग गरेर प्रतिनिधिसभामा चलखेल गरेको आरोप पनि कांग्रेस सांसदहरुले लगाइरहेका छन् । यसले दुई दलका सांसदवीच असन्तुष्टि बढाइरहेको छ । यसले पनि सरकार ढल्न सक्छ भन्ने सन्देश दिइरहेको छ । त्यसो त, एमाले र कांग्रेसका कतिपय नेताहरुले गठबन्धनको विकल्प खोज्नुपर्ने पक्षमा पनि अभिमत दिइरहेका छन् ।


तर, उनीहरुलाई यो पनि थाहा छ कि सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीवीच विश्वास कायम रहुञ्जेल गठबन्धन कायम रहन्छ । कांग्रेस र एमालेका नेताहरु सरकारसँग असन्तुष्ट देखिएपनि ओली र देउवावीच विश्वास पनि कायम रहेको छ । देउवाले विकल्प खोज्दा पनि ससाना दलहरु मिलाउनुपर्ने र उनीहरुको बार्गेनिङले गर्दा सरकारको भविष्य तलवितल हुने कारणले पनि सभापति देउवा समीकरण फेरबदल गरिहाल्ने मुडमा नरहेको बताइन्छ । एमालेसँग मिल्दा सहजै सरकार चल्ने उनको बुझाइ देखिन्छ । अंकगणितको लफडा नपर्ने भएका कारण उनी सहज वातावरणको अवस्था नहुँदा एमालेसँग बाध्यतावश भएपनि गठबन्धनको पक्षमा रहेको नेताहरु बताउँछन् । 


यता, माओवादी नेताहरुलाई पनि देउवाले अहिले ओलीलाई धोका नदिने बताइरहेका छन् । अहिले आफू वचनसँग प्रतिबद्ध रहेको र अन्तिम समयमा ओलीले धोका दिने अवस्था भए त्यसै अनुसार अघि बढ्ने सन्देश माओवादी नेताहरुलाई देउवाले दिइरहेका कारण पनि सरकार तत्काल ढल्ने संभावना कम रहेको देखिन्छ । अर्कातिर देउवासँग सरसल्लाह गरेर नै विद्या भण्डारीलाई राजनीतिमा रोक्ने निर्णयमा प्रधानमन्त्रीओली पुगेका छन् ।


 त्यो घटनाले पनि उनीहरुवीच ट्युनिङ मिलिरहेको छ भन्ने देखिन्छ । अनि, मन्त्रीहरु हेरफेरको कुरामा पनि उनीहरुवीच पछिल्ला दिनमा कुरा मिलिरहेको चर्चा नेताहरुले गरेका छन् । त्यसैले, ओलीको सरकार तत्काल ढल्ने संभावना नभएको पनि स्रोतको दाबी छ । सरकार नढल्ने निश्चित भएपछि भारतले ओलीलाई भ्रमणको निम्ता दिएको विश्लेषण पनि भइरहेको छ । (साँघु साप्ताहिक, २०८२ साउन १२)
 

प्रतिकृया दिनुहोस