• बिहीबार-श्रावण-१५-२०८२

प्रचण्ड र प्रभाकरको दुईलाइन संघर्ष चर्किंदै

 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा(कमरेड प्रभाकर)वीचको लडाइँ थप पेचिलो बन्दै जान थालेको छ । एकले अर्कोलाई आरोप लगाउने तहसम्म ओर्लिन थालेपछि शर्माको राजनीतिक यात्रामाथि पनि प्रश्न उठ्न थालेको छ । केही दिनअघि शर्माले मनमोहन अधिकारीबाहेक सबै प्रधानमन्त्री भ्रष्ट भएको दावी गरेका थिए । त्यो दावीलाई थप पुष्टि गर्न उनले पार्टीभित्रका नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका थिए । 


पार्टीका नेताहरुको सम्पत्ति छानबिन गर्न कमरेड शर्माले माग गरेपछि केही माओवादी नेताहरु भने आक्रोशित भएका छन् । त्यसमा दुवैथरी तर्क आएका छन् । एकथरी जो लेखनाथ न्यौपानेहरुले कमरेड प्रभाकर(शर्मा)ले आफूले पनि अकुत सम्पत्ति कमाएको र उनैले सम्पत्ति छानबिनदेखि नेताहरु भ्रष्ट भएको आरोप नसुहाउने हो भन्दै तर्क गरिरहेका छन् । अर्काथरी नेताहरु माधव सापकोटा, रामप्रसाद सापकोटा दीपशिखाहरुको लाइनका नेताहरु भने प्रचण्डलाई भ्रष्ट भनेको भन्दै चर्को आलोचना गरिरहेका छन् ।

 

शर्माको उक्त टिप्पणीमा प्रचण्ड स्वयम्ले पनि जवाफ दिन थालेका छन् । त्यसैले, प्रचण्डमाथि प्रश्न उठाउने पछिल्लो पुस्ताका नेता शर्मा(प्रभाकर)माथि माओवादीको दोस्रो र तेस्रो तहका नेताहरुले लखेट्न थालेका छन् । माओवादी केन्द्रमा पछिल्ला दिनमा जनमत भएका र संगठनमा पकड बनाउन थालेका नेता शर्मालाई अहिले प्रचण्डको विकल्पको रुपमा हेर्ने भन्दा पनि उनलाई माओवादीबाटै लखेट्ने गरी आलोचना भइरहेको छ । 


माओवादीको स्थायी कमिटी बैठकअघि दुई नेताहरुवीच भएको टिकाटिप्पणीले भने ठूलो अर्थ राख्ने स्रोतहरुले बताइरहेका छन् । उनीहरुका अनुसार, कमरेड प्रभाकर पछिल्ला दिनमा प्रचण्डसँग भिडेरै जाने मुडमा देखिएका छन् । आउँदो बैठकमा पनि उनले फरक मतसहित राजनीतिक दस्तावेज तयार गर्न लागेको स्रोत बताउछ । माओवादी स्रोतका अनुसार, जनार्दन शर्माले प्रचण्डको दस्तावेजमा फरक मत राख्ने तयारी गरेका छन् । त्यो राजनीतिक दस्तावेज लिखित रुपमा नै हुने पनि बताइएको छ ।

 

 त्यसैले, अब एक चरण प्रचण्ड र प्रभाकरको दुईलाइन संघर्ष चल्ने पनि माओवादी स्रोतहरुको भनाइ छ । प्रचण्डले पनि भेटघाटमा पुग्नेहरुलाई शर्माको शंकास्पद भूमिकामाथि प्रश्न गर्ने गरेका छन् । माओवादी कतिपयले भने शर्मालाई राजनीतिक रुपमा बाबुराम भट्टराईले साथ दिइरहेको पनि आरोप लगाइरहेका छन् । कतिपय प्रतिवेदन लेखनमा राम कार्कीको पनि साथ रहेको आरोप लागिरेहको छ । त्यसैले, प्रचण्ड पछिल्ला दिनमा कमरेड प्रभाकरलाई सम्झाउनेभन्दा पनि उनको संगठनको पकड कमजोर बनाईदिने रणनीतिमा रहेको माओवादी स्रोतको दावी छ । (साँघु साप्ताहिक, २०८२ साउन १२)
 

प्रतिकृया दिनुहोस