उपप्रधान मन्त्री प्रकाशमान सिंह र मेयर मोहन बहादुर बस्नेत
काठमाडौं । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं कांग्रेसमा सबै भन्दा बढी माया गर्ने नेता नै विशेष अदालतबाट भ्रष्टाचार काण्डमा दोषी ठहर भएपछि सिंह आंत्तिन पुगेको चर्चा छ । ०८२ असार ६ गते नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापतिसमेत रहेका नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत ९ करोड भन्दा बढी घुस लिएको आरोपमा अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासबाट बस्नेतले माउन्टेन टिभीका मालिक राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको पुष्टि गर्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
जसले गर्दा मन्त्री सिंहलाई ठूलै राजनीतिक धक्का लागेको चर्चा काँग्रेसवृत्तमा चल्दै आएको छ । बस्नेत प्रायगरी मन्त्री सिंहको निवास चाक्सीबारीमा कोसेलीपात लिएर पुग्ने गरेको स्रोतले दावी गरेको छ । अदालतले बस्नेतलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा समेत दोषी ठहर गरेको छ । बस्नेतले १३ करोड १२ लाख रुपैयाँ ‘सम्पत्ति शुद्धीकरण’मार्फत अवैध सम्पत्ति आर्जन गरेको ठहर अदालतले गरेको छ । उनीमाथि २०८२ असार १६ गते कैद र जरिवाना तोक्न पेसीसमेत तोकेको बताइन्छ । उक्त मुद्दामा संलग्न उनकी श्रीमती उर्मिला बस्नेतलाई भने अदालतले सफाई दिएको छ ।
नेपाली सेनाका पूर्व कर्मचारी समेत रहेका बस्नेत नेपाली कांग्रेसको काठमाडौं जिल्ला सदस्य हुँदा प्रकाशमान सिंहका पक्षमा रहेर जहिल्यै पनि उद्दण्ड शैलीमा प्रस्तुत हुने गरेको कार्यकर्ताहरु बताउछन् । उनले नेता प्रकाशमानका विरोधीहरूलाई राजनीतिक रूपमा सिध्याउन भूमिकासमेत खेल्ने गरेको काँग्रेसीजनहरुको आरोप छ । विशेष अदालतबाट दोषी ठहर भएका बस्नेतले मेयर हुँदा आफू निकटका ठेकेदारमार्फत विकास निर्माणका काम गराएर करोडौं कमिशन असुलेको आरोप लाग्दै आएको थियो ।
नेपाली काँग्रेसका नेतासमेत रहेका मन्त्री सिंहले काठमाडौंमा आयोजना गर्ने हरेक जसो कार्यक्रम र आम निर्वाचनमा हुने चुनावी खर्चसमेत उनै बस्नेत एक्लैले आधा व्यहोर्ने गरेको स्रोतको भनाई रहेको छ । मन्त्री सिंहका दाहिने हात मानिएका बस्नेत भ्रष्टाचार काण्डमा फसेपछि उनलाई आर्थिक र सांगठानिक रूपमा ठुलो धक्का लागेको चर्चा छ । यतिखेर मन्त्री सिंहलाई आर्थिक रूपमा अमेरिकामा बस्ने एनआरएनए हरिबोल भण्डारी, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामाले भरथेग गर्दै आएको चाक्सीबारी निकट स्रोतले जानकारी दिएको छ ।
मेयर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि उनी ससुराली जिल्लाको नाता लगाउँदै प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेट्न पुगेको स्रोतले दावी गरेको छ । तर, प्रमुख आयुक्त राईले बेवास्ता गरेको स्रोतले बताएको छ । निलम्बित मेयर बस्नेतलाई जोगाउन विशेष अदालतका अध्यक्ष र सदस्य न्यायाधीशलाई भनसुन गराउन उप–प्रधानमन्त्री सिंह स्यवमले कुनै चासो नदिएको स्रोतले बताएको छ ।
मन्त्री सिंहलाई काठमाडौंमा सांगठानिक र आर्थिक रूपले टिकाउन बस्नेतको ठुलो योगदान रहेपनि दुःखको समयमा भने उनले साथ नदिएको चर्चा चल्न गरेको छ । विशेष अदालतबाट दोषी ठहर भएका बस्नेत सुगर, प्रेसर र मुटुका रोगका विरामी समेत हुन् । बस्नेतले ६ वर्ष मेयर हुँदा भ्रष्टाचार गरी काठमाडौं, चितवन, रूपन्देही, मकवानपुर, बारा जिल्लामासमेत करोडौं मूल्य बराबरको घर जग्गा खरिद रहेको उनी निकट स्रोतले दाबी गरेको छ । २०८१ पुस १५ मा अख्तियारले बस्नेतसँगै उनकी श्रीमती उर्मिला र माउन्टेन टेलिभिजनका मालिक राजुप्रसाद कँडेलविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
आयोगले उनीसँग जोडिएका अन्य दुई वटा कम्पनीविरूद्ध पनि मुद्दा दायर गरेको थियो । कँडेल भने पद्म कोलोनी प्रा.लि. र पद्म मर्चेन्ट प्रा.लि.का सञ्चालक रहेको बताइन्छ । यी दुईवटै कम्पनीविरूद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले बस्नेतविरूद्ध ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँको बिगो कायम गरेर अभियोग पत्र दायर गरेको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको बिगो कायम गरेको बताइन्छ ।
आयोगले अनुसन्धानकाक्रममा बस्नेतले पदको दुरूपयोग गरी कँडेलबाट घुस लिएको प्रमाण फेला पारेको थियो । कँडेलमाथि उल्लेखित तीन कम्पनीबाहेक जगतगुरू कृपालु प्रतिष्ठानका सञ्चालकसमेत रहेका छन् । अतिरिक्त लाभ लिने मनसायले प्रतिष्ठानलाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको आयोगको ठहर छ । जगतगुरू कृपालु प्रतिष्ठानलाई व्यक्ति तथा संघ–संस्थाहरूबाट ७ अर्ब ४८ करोड विदेशी सहायता लिन नगरपालिकाले सहमति दिएको समेत भेटिएको थियो ।
प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत मेयर बस्नेत स्वयमले दस्तखत गरेर जगतगुरू कृपालु प्रतिष्ठानको ख्याति (गुडविल) मा वृद्धि गराएको आयोगले अदालतमा दायर गरेका आरोपपत्रमा उल्लेख गरेको बताइन्छ । नागार्जुन नगरपालिका भित्र मन्दिर निर्माण गर्ने भनेर कँडेललाई मेयर बस्नेतले जग्गासमेत उपलब्ध गराउन सम्झौतामा हस्ताक्षर गराएको पाइएको छ । बस्नेतले ३ करोड ७२ हजार रुपैयाँ जग्गाधनीहरूलाई भुक्तानी दिएर कृपालु प्रतिष्ठान नेपालले मन्दिरको लागि जग्गा लिने भनेर बैनापट्टा गरेका थिए ।
यसरी काम फत्ते गरिदिएबापत बस्नेत दम्पतीले घुस असुलेको अख्तियारको दावी छ । बस्नेत दम्पतीको खातामा दुई करोड १५ लाख ७३ हजार ३ सय ९५ रुपैयाँ जम्मा भएको देखिएको थियो । सो बापत ६ करोड ८२ लाख बराबरको जग्गा पनि लिएको खुलेको आयोगले ठहर गरेको थियो । आयोगले तयार गरेको प्रतिवेदनमा बस्नेतले छोराको बिहे भोज गर्दा होटलमा लागेको खर्च २४ लाख रकम उनै कँडेलले भुक्तानी गरिदिएको खुलासा हुन पुगेको थियो । (साँघु साप्ताहिक, २०८२ असार ९)
प्रतिकृया दिनुहोस