• बुधबार-जेठ-२८-२०८२

 FNCCI अध्यक्ष ढकालद्वारा लगानीमैत्री नीति, निजी क्षेत्रको भूमिका र अन्तर्राष्ट्रिय साझेदारीको पक्षमा जोड

जनेभा, जुन ९ । फेडेरेसन अफ नेपाली चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री र स्थिर नीति, निजी क्षेत्रको लगानी तथा बलियो अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकता औंल्याएका छन्।

 

२०८२ जेठ २६ गते सोमबार स्विट्जरल्यान्डको जनेभामा सुरु भएको ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Conference) को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले समावेशी आर्थिक विकास र असल रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका निर्णायक रहेको बताएका हुन्। सम्मेलनमा विश्वभरका सरकार, श्रमिक संगठन र समूहका प्रतिनिधिहरू सहभागी छन्।

 

“हामी सबैको भूमिका फरक भए पनि हाम्रो साझा लक्ष्य एउटै हो— व्यवसाय फस्टाउने र श्रम मर्यादित हुने वातावरण बनाउनु,” ढकालले भने, “त्यही कारण ILO को त्रिपक्षीय मोडेल यति महत्वपूर्ण छ, र FNCCI लाई यसको एक हिस्सा हुन पाउँदा गर्व छ।”

 

अध्यक्ष ढकालले ILO महानिर्देशकको सन् २०२५ को प्रतिवेदनलाई स्वागत गर्दै त्यसले अधिकारयुक्त रोजगारी, समावेशी विकास र लगानी–केन्द्रित आर्थिक रुपान्तरणलाई जोड दिएको उल्लेख गरे। उनले भने, “विकासशील देशहरूमा लगानी भित्र्याउन दीर्घकालीन र स्थिर नीति आवश्यक हुन्छ। नेपालमा हामीले सरकारसँग मिलेर लगानीसम्बन्धी ३० वटा कानुनमा संशोधन गर्न सिफारिस गरेका थियौं, जुन कार्यान्वयनमा आइसकेका छन्।”

 

उनका अनुसार नेपाल सरकारले द्विपक्षीय लगानी सम्झौता (Bilateral Investment Agreement) को नयाँ ढाँचा पनि पारित गरिसकेको छ। यसले औपचारिक व्यवसायलाई सुदृढ मात्रै नगरेर, अनौपचारिक व्यवसायलाई समेत कानुनी दायरामा ल्याउने वातावरण बनाएको ढकालको भनाइ छ।

 

यी प्रयासको फलस्वरूप नेपाललाई ILO ले विश्वका चारवटा ‘च्याम्पियन देश’ मध्ये एकको रूपमा चयन गरेको छ— जसले औपचारिक अर्थतन्त्र निर्माणमा नेतृत्वदायी भूमिका खेलेको छ। अध्यक्ष ढकालले यो मान्यताले नेपालले अन्तर्राष्ट्रिय श्रम मापदण्ड र दायित्वहरूमा देखाएको प्रतिबद्धता प्रतिबिम्बित गर्छ भने।

 

नेपालको आर्थिक सम्भावनाबारे बोल्दै उनले जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिलाई मुख्य क्षेत्रको रूपमा उल्लेख गरे। “नेपालको विशेष भौगोलिक स्थानले भारत र चीनजस्ता ठूला बजारमा सहज पहुँच बनाएको छ। सन् २०२६ मा नेपालले LDC बाट उक्लिए पनि यी देशहरूसँगको सुलभ पहुँच कायम रहनेछ,” ढकालले भने, “युरोप र अमेरिका सँग पनि व्यापार सुविधा यथावत् रहनेछ।”

 

अध्यक्ष ढकालले निजी इक्विटी र भेन्चर क्यापिटलको प्रवर्द्धनका साथै, जलवायु जोखिम झेलिरहेका मुलुकहरूका लागि जलवायु वित्त (climate financing) मा अन्तर्राष्ट्रिय समर्थन अपरिहार्य रहेको बताए। “नेपालले विश्वको न्यूनतम हरितगृह ग्यास उत्सर्जन गर्छ, तर असर भने धेरै झेल्छ। ‘रूफ अफ द वर्ल्ड’ लाई जोगाउन हामीलाई विशेष सहयोग चाहिन्छ,” उनले जोड दिए।

 

FNCCI ले वैदेशिक लगानी सहयोगका लागि विशेष ‘FDI डेस्क’ स्थापना गरेको र श्रमिक संगठनसँग सहकार्य गर्न सम्झौता (MoU) गरिसकेको जानकारी पनि उनले दिए।

 

“नेपाल LDC बाट बाहिरिन तयार भइरहेका बेला, उच्च आर्थिक वृद्धिद्वारा मर्यादित रोजगारी सिर्जना हाम्रो मुख्य एजेन्डा हो,” उनले अन्त्यमा भने। “नेपाल र विश्वको साझा समृद्धिको लागि हामी सबैसँग सहकार्य गर्न तयार छौं।”

अन्तर्राष्ट्रिय श्रम सम्मेलन ILO द्वारा प्रत्येक वर्ष आयोजना गरिन्छ, जसमा विश्वभरका श्रमसम्बन्धी सरोकारवालाहरू सहभागी भई श्रम मापदण्ड, रोजगार प्रवृत्ति र मर्यादित कामका विषयमा छलफल गर्छन्।
 

प्रतिकृया दिनुहोस