काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ सकिन करिब डेढ महिना मात्र बाँकी रहँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘नगदे खेतीपाती’ विभाग भनेर चिनिएको सडक विभागको महानिर्देशक परिवर्तन गरेर गलत परम्परा बसालेको चर्चा चल्न गरेको छ । मन्त्री देवेन्द्र दाहालको जोडबल भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुलाई खुसी बनाउन नसक्दा सडक विभागका महानिर्देशक रामहरि पोखरेलको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ । सहसचिव पोखरेललाई विभागबाट मन्त्रालयको ट्राफिक व्यवस्थापन समन्वय महाशाखामा सरूवा गरिएको छ । उनी पनि गत वर्ष आर्थिक वर्षको अन्तिममा नै डीजी बनेर विभागमा भित्रिएका थिए ।
सडक विभागको महानिर्देशकको जिम्मेवारीमा भने विभागको वैदेशिक सहायता महाशाखाकामा कार्यरत प्रमुख सुपरीटेन्डेन्ट इन्जिनियर डा. विजय जैसीलाई खटाइएको छ । आर्थिक वर्षको अन्त्य र बजेट कार्यान्वयन गर्ने अन्तिम समयमा महानिर्देशक परिवर्तन गर्दा नराम्रो ट्रेन बसेको मन्त्रालय स्रोत बताउँछ । आर्थिक वर्ष समाप्त हुनासाथ विभागको नेतृत्व परिवर्तन गर्नु सल्लाह मन्त्री दाहाललाई दिइएको थियो । तरपनि राष्ट्रिय गौरव र राष्ट्रिय राजमार्गहरूको काम तीव्रगतिमा नभएपछि सचिव केशवप्रसाद शर्मा बिडारी र मन्त्री दाहाल महानिर्देशक पोखरेलको कार्यशैलीप्रति असन्तुष्ट हुन पुगेका थिए ।
सडक विभागलाई सडक निर्माण र मर्मत सम्भारका लागि भन्दै चालु आर्थिक वर्षमा १ खर्ब ७ अर्ब रूपैयाँ भन्दा बढी बजेट उपलब्ध गराइएको छ । तर, विभागले डिभिजन सडक, विभिन्न सडक आयोजनाहरू, संघीय सडक सुपरीवेक्षण कार्यालय र विभागकै विभिन्न महाशाखाहरूसँग समन्वय गरी बजेट खर्च गर्न नसकेको आरोप लगाइएको छ । मन्त्री दाहालले योजना महाशाखामा कार्यरत उप–महानिर्देशक सुई उमेश विन्दु श्रेष्ठलाई मन्त्रालयमा सरूवा गरेका छन । नव नियुक्त महानिर्देशक जैसीभन्दा सुई श्रेष्ठ सिनियर भएकोले मन्त्रालयमा सरुवा गरिएको जानकार स्रोत बताउँछ ।
सहसचिव जैसीले संहालेको महाशाखामा भने सुई अर्जुन प्रसाद अर्याललाई जिम्मेवारी दिइएको छ । अर्यालले यतिखेर वैदेशिक र संभार दुवै महाशाखा हेर्ने जिम्मेवारी पाएका छन् । सहसचिव विन्दुले संहाल्दै आएको योजनामा भने मन्त्रालयबाट सुई प्रभात कुमार झालाई खटाइएको छ । मन्त्रालयमा कार्यरत सपुरीटेण्डेण्ड इञ्जिनियरमध्ये पहिलो नम्बरमा भिमार्जुन अधिकारी, दोस्रोमा सुशीलबाबु ढकाल, तेस्रोमा रामहरि पोखरेल रहेका छन । चौथोमा उमेश विन्दु श्रेष्ठ, पाँचौमा भुवन अधिकारी (मेकानिकल) तथा छैठौं नम्बरमा महानिर्देशक जैसी र सातौ नम्बरमा झा रहेका छन् ।
जैसी र झा भने एउटै व्याचका सुई मानिन्छन् । छैठौ नम्बरका सुई जैसीले महानिर्देशकमा बाजी मार्दा पहिलो नम्बरका अधिकारी भने हेरेको हेरै हुन पुगेको बताइन्छ । मन्त्री दाहाल, सचिव शर्माले निवर्तमान महानिर्देशक पोखरेललाई सचिव र मन्त्रीस्तरबाट निर्णय गर्नुपर्ने कुनै कागजत्र छन् भने तुरून्त ल्याउन बारम्बार आग्रह गर्दै आएका थिए ।
तरपनि महत्वपूर्ण सडक आयोजनाको कार्य प्रगति समयमा हुन नसकेको आरोप लगाएर उनलाई मन्त्रालयमा फिर्ता गरिएको स्रोतको भनाई छ । समयमा ठेक्का लागेका, साइड क्लियर भएका, बजेटको स्रोत सुनिश्चित भएका सडक आयोजनाहरूको कामसमेत द्रुतगतिमा हुन सकिरहेको छैन ।
निर्माण व्यवसायीलाई परिचालन गरी समयमा सडक निर्माण कार्य गराउन र भौतिक प्रगति गर्न नसकेको आरोप पोखरेलमाथि लगाइएको मन्त्रालय स्रोत बताउछ । सुई पोखरेलले गतवर्ष २०८१ जेठ महिनाको अन्तिममा महानिर्देशक बनेका थिए । तत्कालीन मन्त्री नारायणकाजी श्रेष्ठले २०७९ फागुनमा सुई सुशिलबाबु ढकाललाई महानिर्देशक नियुक्त गरेका थिए । त्यसपछि मन्त्रालयको नेतृत्व गरेका मन्त्री रघुवीर महासेठले विभागकै योजना महाशाखाका कार्यरत सुई पोखरेललाई जेठको अन्तिममा महानिर्देशक बनाएका थिए ।
त्यसबखत पनि तत्कालीन सचिव गोपालप्रसाद सिग्देलले मन्त्री महासेठलाई आर्थिक वर्षको अन्तिम समय हुन लाग्दा महानिर्देशक परिवर्तन गर्नु राम्रो हुँदैन भनेर सुझाव दिएका थिए । जसले मन्त्रालय अन्तर्गत विकास निर्माण कार्यमा काममा सिधा असर पार्छ भनेर मन्त्री महासेठलाई सुझाएको बताइन्छ । तर, मन्त्री महासेठले सुरुमा मनन गरेपनि अन्तिम अवस्थामा भने अवज्ञा गरेर पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिएको स्रोत बताउँछ । सोही गलत परम्परालाई मन्त्री दाहालले पुनः दोहो¥याएको मन्त्रालय स्रोत बताउछ । (साँघु साप्ताहिक, २०८२ जेठ १९)
प्रतिकृया दिनुहोस