भैरहवा, जेठ २३ –रुपन्देही जिल्लामा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करोडौँ मूल्यका सामान नियन्त्रणमा लिइएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले पछिल्ला केही दिनमा जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा झण्डै १५ लाख ३० हजार रुपैयाँ बराबरका अबैध सामान नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामानहरू भैरहवा भन्सार कार्यालय, राजश्व अनुसन्धान कार्यालय बुटवल र पशु क्वारेन्टाइन चेकपोष्ट कार्यालय बेलहियामा बुझाइएको छ।
चार स्थानमा छापा, मोटरसाइकल प्रयोग गरेर पैठारी
१. सिद्धार्थनगर र गैडहवाबाट बरामद
मिति २०८२ जेठ २३ गते, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवा र गैडहवा गाउँपालिका–३ मा चेकजाँच गर्दा ना २ ह ६५७५, लु २६ प ७९६१ र लु १० प २१८१ नं.का मोटरसाइकलमा ल्याउँदै गरिएको विभिन्न सामग्री बरामद गरियो।
बरामद वस्तुहरूमा १०६ थान जेन्स पाइन्ट, २ थान USHA ब्रान्डको पानी तान्ने मोटर, ३५ किलो मटर, ७० थान रेनकोट, ७ जोर महिलाको चप्पल, ५५ मिटर कपडा, २३० थान मोबाइल कभर, ११६ थान बोइलर जातका जिउँदो कुखुरा लगायतका वस्तु छन्। बरामद सामग्रीको कुल मूल्य रु. ४,९६,२१० रहेको छ।
२. अञ्चलपुरबाट मेडिकल उपकरण बरामद
जेठ २२ गते, बडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरस्थित स्थानबाट EEG मेसिन, अडियोमिटर र PFT (स्पायरोमेटर) गरी तीनथान मेडिकल उपकरण बरामद गरेको छ। यी सामग्रीको अनुमानित मूल्य रु. ८,१३,६०० रहेको प्रहरीले जनाएको छ। ती सामग्री राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ।
३. ठुलो पडरियाबाट युरिया मलसहित किराना सामान
लुम्बिनी सांस्कृतिक नगरपालिका–३ ठुलो पडरियाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले लु १८ प ९६९५ र लु ४२ प १०६३ नम्बरका मोटरसाइकलमा ल्याउँदै गरिएको ७ बोरा युरिया मल र अन्य किराना सामान बरामद गरेको छ। बरामद सामान र मोटरसाइकलको संयुक्त मूल्य रु. १,१६,१७० रहेको छ।
४. मर्चवारीबाट तरकारीसहित मोटरसाइकल नियन्त्रण
जेठ २३ गते नै मर्चवारी गाउँपालिका–६ ठर्कीबाट प्रहरी चौकी ठर्कीको टोलीले लु १९ प २८२१ नम्बरको मोटरसाइकलमा बोकेर ल्याइएको २ बोरा आलु र २० किलो तरकारी बरामद गरेको छ। उक्त सामान र सवारी साधनको मूल्य रु. १,०५,००० रहेको छ।
भन्सार छली रोक्न सशक्त अनुगमन
सीमावर्ती क्षेत्रहरू हुँदै हुने यस्ता अवैध गतिविधिहरू नियन्त्रण गर्न प्रहरीले पछिल्लो समय चेकजाँच र गस्ती कडा बनाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सीमा क्षेत्रमा हुने चोरी–पैठारी रोक्न थप तालिमप्राप्त टोली परिचालन गरिएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिइएका सबै सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया पुरा गरी सम्बन्धित कार्यालयहरूमा बुझाइएको छ।
प्रतिकृया दिनुहोस