• बुधबार-जेठ-२१-२०८२

बाह्र दिन सेवा अवधि बाँकी रहँदै सरुवा : तीनको पदास्थापना, सचिवहरू को कहाँ पुगे ? 

 

काठमाडौँ । सरकारले २०८२ जेठ १२ गते सोमवार तीनजना विशिष्ट श्रेणीका सचिवको पदस्थापना गरेको थियो । साथै, सोही दिन एक दर्जन भन्दा बढी सचिवहरुको सरुवा गरेको  थियो  जसअनुसार नवनियुक्त सचिव शोभाकान्त पौडेललाई गण्डकी प्रदेशको प्रमुख सचिवको भूमिकामा पदस्थापन गरिएको छ । जेठ १२ गते सोमवारकै मन्त्रिपरिषद बैठकले वरिष्ठ सहसचिवद्वय भुपाल बराल र प्राबिधितर्फका दिनानाथ मिश्रलाई सचिवमा बढुवा गरेको थियो ।


बराललाई भने सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । प्राविधिकतर्फ बढुवा भएका मिश्रलाई भने रिक्त रहेको जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गरिएको छ । सोही दिनको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । सो मन्त्रालयमा कार्यरत सचिव डा. दीपक काफ्लेलाई भने राष्ट्रपति कार्यालयमा खटाइएको छ ।


मन्त्रिपरिषद बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिवमा सरुवा गरेको छ । राष्ट्रपति कार्यालयमा कार्यरत सचिव डा. रामप्रसाद घिमिरेलाई भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य)तर्फ सरुवा गरिएको छ  । वाणिज्य सचिव रहेका गोविन्दबहादुर कार्कीलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको बताइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (प्रशासनतर्फ) का सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।


गण्डकी प्रदेशबाट प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालय २०८२ बैशाख २५ र महालेखा नियन्त्रक कार्यालय भने वैशाख ३० गतेदेखि सचिवबिहीन रहेका थिए । रोचका विषय त के छ भने महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएका सचिव विष्ट ५८ वर्षे उमेरहदका कारण २०८२ जेठ २४ गते सेवा निवृत्त हुन लागेका छन् ।
१५ दिनको लागि उनलाई सो निकायमा किन सरुवा गरिएको होला भन्ने प्रश्नसमेत सरकारमाथि तेर्सिएको छ । बागमती प्रदेशबाट प्रमुख सचिव महादेव पन्थ र लोक सेवा आयोगका सचिव डिल्लीराम शर्माको सरुवा गरिएपनि उनीहरुको जिम्मेवारी भने यो समाचार तयार पार्दासम्म तोकिएको छैन । (साँघु साप्ताहिक, २०८२ जेठ १९)
 

प्रतिकृया दिनुहोस