• बुधबार-जेठ-२१-२०८२

कर्मचारी युनियन : महाधिवेशन माघमा, रस्साकस्सी चाहिं अहिलेदेखि नै सुरु

 

काठमाडौं । संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको महाधिवेश यसअघि तोकिएको समयमा हुन सकेको थिएन । २०८२ बैशाखको पहिलो हप्ता गर्नेगरी मिति तय गरिएको भएपनि उच्च अदालत पाटनको अन्तरिम आदेश बमोजिम रोकिएको थियो । स्थगित नवौं महाधिवेशन आगामी २०८२ माघ ५, ६ र ७ गते काठमाडौं गर्ने निर्णय यूनियनले गरेको छ । युनियनका कार्यवहाक अध्यक्ष उत्तम कटुवाल र महासचिव जनक बहादुर रावल पक्षकाबीचमा सहमति भएको बताइएको छ । वर्तमान महासचिव रावल युनियनको भावी अध्यक्षका दावेदार रहेका छन् । 


 कार्यवहाक अध्यक्ष कटुवालले पनि भावी अध्यक्षमा दावेदारी पेश गर्दै आएका छन । कटुवाललाई नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाको बलियो समर्थन रहेको बताइन्छ । महासचिव रावललाई भने कांग्रेस सभापति शेरबहादुर देउवाको साथ र समर्थन रहेको यूनियनमा आवद्ध कर्मचारीहरुले बताउँदै हिंडेका छन् । आगामी माघसम्ममा सभापति देउवा प्रधानमन्त्री भएको खण्डमा भने महासचिव रावल युनियनको भावी अध्यक्षमा बाजीमार्न सक्ने सम्भावना रहेको युनियन आवद्ध कर्मचारीहरू बताउँछन् ।


केन्द्रिय समितिमा पूर्व निर्धारित युनियनको विधान २०५९ को (सातौ संशोधन २०८०) बमोजिम बाँकी रहेको सदस्यता वितरण, नवीकरण, प्राथमिक कार्यसमिति गठन, स्थानीय कार्यसमितिको अधिवेशन र बाँकी रहेका जिल्ला, विभागीय, प्रदेश अधिवेशन २०८२ जेठदेखि मंसिर मसान्तसम्म गर्ने सहमति भएको महासचिव निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, विधानको दफा ८, ९ र १० बमोजिम नयाँ सदस्यता वितरण, नवीकरण, प्राथमिक कार्यसमिति गठन, स्थानीय कार्यसमितिको अधिवेशन जेठ १० गतेदेखि असोज मसान्तभित्र सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

 

विधानको दफा ३६ र ३६ (क) बमोजिम बाँकी रहेका जिल्ला, विभागीय, प्रदेश अधिवेशन गएको जेठ १० गतेदेखि आगामी कार्तिक  मसान्तभित्र गर्ने र विधानको ३६ (क) बमोजिम विभागीय समन्वय प्रदेशको अधिवेशन भने आगामी मंसिर महिनाभित्र सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर आन्तरिक रुपमा परिपत्र गर्ने तयारी भइरहेको छ । निवर्तमान अध्यक्ष गोपाल प्रसाद पोखरेलले आफू अवकास हुनु भन्दा अगाडि २०८२ बैशाख पहिलो हप्ता नै केन्द्रीय अधिवेशन गराउने योजना बनाएका थिए । उनले वरिष्ठ उपाध्यक्ष कटुवाललाई अध्यक्ष बनाएर संगठनमा आफ्नो पकड कायम राख्न नखोजेका पनि होइनन् ।


जसअनुरूप उनले अवैधानिक रूपमा नयाँ सदस्यता वितरण, नवीकरण, प्राथमिक कार्यसमिति, स्थानीय कार्यसमिति गठन, जिल्ला अधिवेशन, विभागीय अधिवेशन र प्रदेश अधिवेशन सम्पन्न गराएका पनि थिए । यतिखेर त्यसबखत सम्पन्न भइसकेका प्राथमिक  कार्यसमिति, स्थानीय कार्यसमिति, जिल्ला कार्यसमिति, विभागीय कार्यसमिति, प्रदेश कार्यसमितिको अधिवेशनलाई मान्यता दिई बाँकी रहेका अधिवेशन २०८२ मंसिर मसान्तभित्र गर्नेगरी केन्द्रीय समितिमा सहमति जुटेको बताइन्छ । अधिवेशन सम्पन्न भई विवरण पठाउन बाँकी रहेका जिल्ला÷विभागीय÷प्रदेश विभागीय कार्यसमितिले २०८२ अषाढ मसान्त भित्र पठाउन परिपत्र गरिएको छ ।


अधिवेशन सम्पन्न हुन बाँकी जिल्ला/विभागीय/प्रदेश विभागीय कार्यसमितिले अधिवेशन सम्पन्न भएको एक साताभित्र क्रियाशील सदस्यताको सक्कल फाराम र साधारण सदस्यताको अर्धकट्टी पठाउन भनिएको छ । साथै, सदस्यता शुल्क जम्मा गरेको भौचरको छाँयाप्रति, अधिवेशन उदघाटन तथा बन्द सत्रको उपस्थितिलगायत अन्य कागजातहरुको छाँयाप्रति केन्द्रमा पठाउन निर्देशन गरिएको छ । कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुको नाम, पद, कार्यरत कार्यालय र सम्पर्क नम्बरलगायतका कागजातहरु अनिवार्य रुपमा यूनियनको केन्द्रीय कार्यालयमा पठाउन मातहतका निकायमा परिपत्र गर्ने निर्णय गरिएको संगठनका महासचिव रावलले जानकारी दिएका छन् । (साँघु साप्ताहिक, २०८२ जेठ १९)

प्रतिकृया दिनुहोस