काठमाडौं । श्रीमान र श्रीमतीको झगडाले के सम्म हुन्छ ? भन्ने पछिल्लो उदाहरण जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीमा देखिएको छ । श्रीमान रेशम चौधरी र श्रीमती रञ्जिता श्रेष्ठ चौधरीवीचको घरझगडाले पार्टी नै सकिने अवस्थातिर लागेको छ । अध्यक्षबाट रञ्जितालाई हटाउन सकिने अवस्था नभएको र रञ्जिताले पनि रेशम चौधरीलाई बाइपास गर्न नसकेको तर साथमै रहन पनि नसकेको अवस्था देखिएको छ । रेशमका बुबा तथा रञ्जिताका ससुरा लालवीर चौधरीले नै बुहारीमाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमा लेखेर नै ससुरा लालबीरले रेशमलाई पक्राउ गराउने भूमिका रञ्जिताकै हो भन्ने आशय प्रकट गरेका थिए । त्यसले घरझगडा कुन स्तरसम्म पुुगेको रहेछ भन्ने पनि देखिएको छ । यो झगडाका कारण अहिले पार्टी एकता पनि रोकिएको छ । जनमतसँगको पार्टी एकता ०८४ को चुनाव अघि नहुने भन्दै रेशम चौधरीले अब आफ्नै लाइनमा हिड्ने बताएका छन् भने रञ्जिता भने जनमतका अध्यक्ष सीके राउतसँग छलफल भइरहेको बताउँछिन् । सुरुको चरणमा रञ्जिताको एकताको विपक्षीमा थिइन् र रेशम चौधरी एकताको पक्षमा उभिएका थिए ।
एकता गर्नुपर्ने बाध्यतामा रहेका कारण रञ्जिताले सीके राउतसँग सम्बन्ध विस्तार गरी रेशमलाई नै बाइपास गर्न थालेपछि रेशमले एकता भाँड्न लागेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री बनाउन रेशम चौधरी र रञ्जितावीच अनौपचारिक रुपमा एउटा नाममा छलफल भएको थियो । र, पार्टीले कैलाश चौधरीलाई मन्त्री बनाउन खोजेको थियो । रञ्जिता निकट कैलाशलाई मन्त्री बनाउन खोजिएपछि रेशम चौधरी निकटका स्थानीय नेताहरु भने विरोधमा उत्रिए । घनश्याम चौधरीलाई मन्त्री बनाउन प्रस्ताव लिएर हिडे ।
केही महिनाअघि कैलाशलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित गठबन्धनको तयारी भएको थियो । रञ्जिताको प्रस्ताव कैलाशको पक्षमा थियो र माओवादी एकीकृत समाजवादी सहितको टोली प्रदेश प्रमुखलाई भेट्न गएका थिए । पछि घनश्याम चौधरीको नाममा अर्को पत्र गएपछि विवाद भएको थियो ।
एमाले र कांग्रेससँग मिलेर घनश्यामले अर्को पत्र प्रदेश प्रमुखसमक्ष पठाएपछि त्यतिबेला नाउपाले मुख्यमन्त्री पाएको थिएन । अहिले पनि यिनै दुुईजनावीच विवाद देखिएको छ । यो विवाद पार्टीगत भन्दा बढी व्यक्तिगत हुन थालेको नाउपाले बताएको छ । सासुरा र श्रीमान अर्कोतिर लागेका कारण रञ्जिता पनि तत्काल मिल्ने लाइनमा भने नेदेखिएका नाउपा स्रोतको भनाइ छ । तर, उनीहरु तत्काल नै रञ्जितालाई हटाउन सक्ने अवस्थामा भने छैनन् । निर्वाचन आयोेगले रञ्जिताको अध्यक्षतालाई स्वीकार गरेकोले पति रेशम हटाउन सक्ने हैसियतमा छैनन् । विशेष महाधिवेशन बोलाउन हैसियतमा पनि रेशम देखिएका छैनन् । रञ्जितालाई विशेष महाधिवेशनबाट हटाएर आफ्ना पितालाई अध्यक्ष बनाउने सोचमा रेशम रहेको चर्चा पनि भइरहेको छ ।
रेशम आफू नै अध्यक्ष बन्ने एक बर्षअघिको प्रयास असफल भएपछि बाबुलाई अघि सार्न खोजेको र ०८४ मा चुनावमा सहभागी हुने लाइनमा लागेको बताइन्छ । रेशम आफू चुनावमा उठ्न नपाउने भएपछि उनी चुनावी कमाण्डरको रुपमा काम गर्दा केही सीट सुरक्षति राख्न सक्ने अनुमानमा छन् । त्यसैले, अहिले रञ्जितालाई विदा गर्ने लाइनमा रहेको नाउपाका नेताहरु बताउँछन् । रञ्जिता भने नाउपा छाडेको अवस्थामा एमाले, कांग्रेस वा माओवादीबाट राजनीति गर्ने सोचमा रहेको पनि चर्चा छ । प्रचण्ड र ओलीसँग समदुरीमा सम्बन्ध राखेकी रञ्जिता ०८४ को चुनावमा रेशमसँग नहुने भन्ने चाहिँ प्रष्टै देखिएको नाउपाका नेताहरु बताउँछन् । (साँघु साप्ताहिक, २०८२ जेठ ५)
प्रतिकृया दिनुहोस