राजविराज । सप्तरीको प्रमुख व्यापारिक केन्द्र त्रिभुवन चोक आसपासको सरकारी जग्गा कब्जा गरी निजीकरण गर्न खोजिएको सनसनीपूर्ण खुलासा भएको छ । करिब २५ कठ्ठा सरकारी जग्गा, जसको सरकारी मूल्यांकन अनुसार बजार मूल्य एक अर्ब रुपैयाँभन्दा बढी, एक व्यक्तिले जालझेलमार्फत भाडामा लगाउँदै आम्दानी गर्दै आएको तथ्य फेला परेको हो ।
स्थानीय स्रोतका अनुसार, सो जग्गा अघिल्लो शताब्दीको अन्त्यसम्म एकजना हजाम परिवारको नाममा थियो । तर, २०२१ सालको नापी अभिलेखमा सो जमिन ‘सरकारी ब्लक’को रूपमा दर्ज छ । राजविराज नगरपालिकाको स्थापना हुँदा सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको प्रमाण समेत भेटिएको छ ।
तर, सोही बेला तत्कालीन प्रधानपञ्चले षड्यन्त्रपूर्वक फर्जी सर्जमिन र कागजात बनाउँदै उक्त जग्गा आफन्तको नाममा लगत खडा गरेका थिए । पछि त्यही लगतका आधारमा जयप्रकाश ठाकुरले त्यो जग्गा आफ्नी श्रीमतीको नाममा ‘कथित खरिद’ गरे ।
स्रोतहरूका अनुसार, ठाकुरले नापी कार्यालयमा आफू अनुकूल अधिकारी सरुवा गराएर, मन्त्रीदेखि सचिवसम्मलाई प्रभावमा पारेर जग्गा हड्प्ने प्रयत्न गरेको स्थानीयको आरोप छ । हाल सप्तरी नापी कार्यालयमा रहेका प्रमुख सुमन किशोर मिश्र ठाकुरको पक्षमा कागजात जुटाउने र प्रक्रियागत काम अघि बढाउने भूमिकामा छन् भन्ने आरोप लागिरहेको छ ।
भूमि समस्या समाधान आयोग सप्तरीमा ठाकुरपक्षीय अखिलेश झा अध्यक्ष नियुक्त भएपछि अब ठाकुर समूह उक्त सरकारी जमिन आफ्नो नाममा दर्ता गराएर लालपुर्जा झिक्ने अन्तिम तयारीमा रहेको बताइएको छ । हालसम्म ती जग्गाको लालपुर्जा नबनेको नगरपालिका स्रोत बताउछ । तथापि, ‘छुट दर्ता’ को नाममा झुटा आधार खडा गरी लालपुर्जा निकाल्ने खेल चलिरहेको छ । ठाकुर पक्ष र हजाम परिवारबीच अहिले मुद्दा अदालतमा विचाराधीन छ । जयप्रकाश ठाकुर हाल ललितपुर ग्वार्कोमा ग्लोबल अस्पताल सञ्चालन गर्दै आएका छन् । उनले राजधानीमा ८–९ वटा औषधि पसलसमेत सञ्चालन गरिरहेको बुझिएको छ ।
स्थानीयवासीहरू भन्छन्, “यदि सरकार र निगरानी निकायहरूले समयमा संज्ञान नलिए, ठाकुरले बालुवाटारको ललिता निवासजस्तै यो सरकारी सम्पत्ति पनि हडप्न सक्छन् ।” –साँघु संवाददाता, सप्तरी (साँघु साप्ताहिक, २०८२ जेठ ५)
प्रतिकृया दिनुहोस