काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।
अध्यक्ष प्रचण्डले लामो समयदेखि आन्दोलनरत शिक्षकसँग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरेकाले प्रधानमन्त्रीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको तर्क प्रस्तुत गरेका हुन् ।
‘देशभरका शिक्षकहरू सडक आन्दोलनमा आउँदा पनि सरकारले कुनै तत्परता देखाएन, यो लाजमर्दो अवस्था हो’ उनले भने, ‘शिक्षकलाई अपमानित गर्ने काम बन्द गरेर शिक्षकहरूको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराउँदै, र आफ्नो माग पूरा नभएसम्म धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपील पनि गर्दछु ।’
प्रतिकृया दिनुहोस