• बुधबार-बैशाख-१०-२०८२

मिडिया काउन्सिलका अध्यक्ष उपाध्यायमाथि भ्रष्टाचार मुद्दा दायर

 

जनकपुर ।  मधेश प्रदेश अन्तर्गतको मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमलप्रसाद उपाध्याय पदभार ग्रहण गरेको एकदिन नबित्दै भ्रष्टाचार मुद्दामा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयअन्तर्गत नियुक्त उपाध्यायले मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा मन्त्री राजकुमार लेखीबाट शपथ लिएपछि हिजो सोमबार पदभार ग्रहण गरेका थिए । तर, त्यसको भोलिपल्टै उनीमाथि आर्थिक अनियमितताको आरोपसहित मुद्दा दर्ता गरिएको छ ।


अख्तियारका अनुसार उपाध्यायले केएस मल्टिपरपोज कम्पनीका अध्यक्षका रूपमा बाराको पचरौता नगरपालिकाबाट २०७७÷०७८ मा सञ्चालित ठेक्का कार्यको बोलपत्र सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी मात्र एक प्रति प्रभाव दैनिकमा छापेर ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी लिएको आरोप छ । 

 

आयोगका प्रवक्ता सहसचिव राजेन्द्र पौडेलका अनुसार, सूचना रेकर्डमा नराखी प्रकाशित नगरेको तथा प्रक्रिया विपरीत कार्य गरी गैरकानूनी लाभ लिने उद्देश्यले मतियारको भूमिका खेलेको ठहर गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस