• बुधबार-बैशाख-१०-२०८२

थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न


सोलुखुम्बु, ९ वैशाख । यहाँको थामेमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलन सम्पन्न भएको छ । साथसाथै फाउन्डेसनले आयोजनामा भएको सम्मेलनको आज यहाँ  उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पृथ्वी बचाउ अभियानमा सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । त्यसका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने उहाँको भनाइ थियो । 

 

मन्त्री राईले जलवायु परिवर्तनको असरका कारण हिमताल विस्फोट हुँदा आएको बाढीले पर्यटकीय नगरी थामेबस्ती तहसनहस बनाएको स्मरण गर्दै थामेबस्ती पुनःनिर्माणको काम सरकारले अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले हामी आक्रान्त छौँ तर यसको न्यूनीकरणमा सबै जुट्नुपर्छ  । त्यसका लागि सरकार अघि बढिसकेको छ ।”

 

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनजन्य विपत्तिबाट प्रभावित समुदायको पुनःनिर्माण कार्यलाई नेपाल सरकारले अगुवाइ गरेर अघि बढाउने घोषणा गर्नुभयो । मन्त्री शाहीले बाढीपीडित बस्तीको पुनःनिर्माणलाई सरकारले ‘अपनत्व’ लिएको र सरकार सधैँ खुम्बुबासीको पक्षमा रहेको बताउनुभयो । 

 

कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हरेक विकासमा जलवायु परिवर्तनको मुद्दालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“हिमालमा हिउँ रित्तिदै गएको महसुस भइरहेको छ, हरेक वर्ष हिमालमा हिउँ घट्दै जानु भनेको ठूलो खतराको सङ्केत हो । यसको न्यूनीकरणमा हामी सबै जुटाँैं ।” थामे जस्ता बाढीपीडित क्षेत्रको पुनःनिर्माणमा नेपाल मात्र नभइ विश्व समुदाय नै जुट्नुपर्ने थानीको भनाइ छ । 

 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले थामेको पुनःनिर्माण, पुनःस्थापना र परिपुरणका लागि तीनै तहका सरकार योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले सञ्चार क्षेत्रले जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बेला आएको बताउनुभयो । टे«किङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले पर्यटन पुर्वधार विकास तथा क्षतिग्रस्त संरचना निर्माणका लागि ढिला भइसकेको बताउनुभयो । थामे खोलामा आएको बाढीले सगरमाथा क्षेत्रको पर्यटकीय संरचना ध्वस्त भएकाले यसको निर्माणमा जुट्न उहाँले सरकारलाई आग्रह गर्नुभयो । 

 

आयोजक संस्थाका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम प्रभावित क्षेत्रमै पुगेर गर्दा फलदायी हुने बताउनुभयो । पृथ्वी बँच्यो भने मात्रै प्राणी जगत्को अस्तित्व सम्भाव हुने भन्दै उहाँले अब पृथ्वीको न्यायका लागि सबैले सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो । 

 

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बाढी प्रभावितका लागि राहत र पुनःनिर्माणका लागि स्थानीय सरकार अहोरात्र खटिरहेको बताउनुभयो । अन्तरराष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देलले खुम्बु कस्तो विकट क्षेत्रमा सरकारका मन्त्री आफैंँ उपस्थित भएर जनगुनासो सुन्नु सकारात्मक भएको बताउनुभयो । 

 

नेपाल पत्रकार महासङघ सोलुखुम्बुका सुवास दर्नालले सगरमाथासहितका हिमालको सुरक्षा, हिमशृङ्लाको अस्तित्व र पृथ्वीको सन्तुलनका निम्ति सबै पत्रकार एकठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । 

 

सम्मेलनमा आरोही, जनप्रतिनिधि, सरकारी अधिकारी र स्थानीयबासीसहित भएको छलफल र संवादपछि पाँचबँुदे घोषणापत्र जारी गरिएको छ । घोषणा पत्रमा थामेसहितका बाढीपहिरोपीडितका मुद्दालाई आगामी जेठ २ गते हुने सगरमाथा संवादमा प्राथमिकताका साथ उठान गर्नुपर्ने र त्यसका लागि सबै आरोही एकजुट हुनेलगायत घोषणा समेटिएका छन् । 

 

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घसहितका विभिन्न सङ्घ संस्थाले सहकार्य गरेका थिए ।
---

 

प्रतिकृया दिनुहोस