कवि भुपी शेरचनको कालजयी कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मेचमाथि बस्ने मान्छेको मात्र होइन, सिंगो नेपाली समाजको चरित्रको प्रतीक बनेको देखिन्छ । ‘हल्लै हल्लाको देश’ पनि नेपाली समाजको अर्को त्यस्तै प्रतीक बनेको छ । मेचमाथि बसेका मान्छेले आफूले जे भन्यो त्यही सत्य हुन्छ र सबैले त्यसैलाई सत्य मान्छन् भन्ने सोंच्छन् भन्नेकुरा तीनकुने घटनाको विषयमा मेचमाथि र मेचको नजिकमा बसेका वा मेचमाथि चढ्ने दाउ हेरेर बसेका धेरैले गरेका कुरा र तिनको वरिपरि भाटगिरीमा रमाइरहेका मानिसहरुका अभिव्यक्तिलाई हेरे पुग्छ ।
शान्तिपूर्ण तवरले विरोध प्रदर्शनमा उत्रेका मानिसहरुमाथि लाठी तथा गोली वर्षाएर लाठीगोली बर्षाउने काममा गल्ती स्वीकार्ने कामसम्म पनि नगरी उल्टै सुरक्षाकर्मीमाथि आक्रमण गरेकोसम्म आरोप लगाउने गरेका र मेचमाथि बसेकाहरु कतिपयले लाज र संकोच नै नमानीकन मैले भए फलानालाई समेत गोली हान्थें भन्न उद्यत भएका घटनाहरु नेपालको इतिहासमा मात्रै होइन संसारकै इतिहासमा समेत विरलै घटेका होलान् जस्तो लाग्छ ।
कसैले आफूलाई मन नपर्ने माग राखेर प्रदर्शन गर्न थाल्यो भने मेचमाथि बसेका र मेच ढुकेर बसेका मान्छेहरुले आफ्ना मान्छेहरुलाई प्रतिकार प्रदर्शन र सभामा उतार्ने र अरुले गरेका प्रदर्शनको प्रतिकार गर्न खुलेआम उक्साउने काम गरेका घटनाहरु पनि निर्लज्जताका दृष्टान्त हुन्छन्, बन्छन् । प्रतिकार प्रदर्शन र प्रतिकार जुलुसले समाजलाई हिंसाको बाटोतिर अग्रसर गराउँछन् भन्ने तथ्यलाई पनि भाटगिरीमा रमाउनेहरुले बिर्सिन चाहन्छन् । इतिहासमा हिटलरहरू, गोयबल्सहरू र उनीहरुको समयमा सुरक्षा संयन्त्रको नेतृत्वमा बसेका ऐतिहासिक पात्रहरुले पनि कुर्सीमा बसेको बेलामा पछि उनीहरूलाई इतिहासले कसरी हेर्ला भन्ने अनुमान गरेका भए त्यसबेला उनीहरुले जे गरे वा जे गर्ने प्रयास गरे त्यो गर्ने थिए थिएनन् भन्नेकुरामा आशंका गर्न सकिन्छ ।
अहिले कुर्सीमा बसेका, कुर्सी ढुकेर बसेका र कुर्सीको नजिकमा बसेका मानिसहरुले पनि आफूहरु सँधैभरी कुर्सीमा र कुर्सीको नजिकमा रहँदैनौ भन्नेकुराको स्मरण गरेको भए मानिसहरुको भिडमा ज्यान लिनेगरी गोलीको वर्षा पनि हुने थिएन होला, प्रतिकार प्रदर्शन वा सभाको आयोजना गरेर मानिसहरुलाई उपद्रवजन्य कार्यका निम्ति भड्काउने कार्य पनि हुने थिएनन् होला र कुर्सीमा बसेका र कुर्सीको नजिकमा बसेकाहरु र उनीहरुको भाटगिरीमा रमाइरहेकाहरुले पनि–सवारी साधनमा बसेर भिड छिचोलेर निस्केका मानिसमाथि दोष थोपरेर मानिसले ज्यान गुमाउने गरी लाठी, गोली चलाउने घटनाको बचाउमा उत्रिने काम गर्ने थिएनन् होला ।
स्पष्ट छ, सत्ता र शक्तिमा बस्नेहरुले केहीवेर सत्यको बत्ती ढाक्ने प्रयत्न गर्न सक्छन् भन्नेकुरा अहिलेको घटनाले स्पष्ट गर्छ । तर, सत्ता र शक्तिमा रहेको बेलामा सत्यको ज्योति ढाक्न खोज्नेहरु वा ढाक्नेहरु वा आफूले जे ग¥यो त्यही साँचो हुन्छ भन्ने सोँचेर आफ्नै आँखा चिम्लेर चिच्याउनेहरु सत्ता र शक्तिबाट बाहिरिएपछि सत्यको ज्योति आफै बल्न थाल्छ र समाज एक न एक दिन सत्यसित परिचित हुन्छ ।
त्यसैले गोयबल्सहरुलाई अहिले इतिहासले जसरी हेर्छ भोलि इतिहासले आफूलाई पनि त्यसरी नहेरोस् भन्नेकुरामा ओली, प्रचण्ड, नेपाल, देउवा, सुरक्षा संयन्त्रका अगुवाहरु, संचार गृहका मालिकहरु, विदेशी अनुदान खोजेर प्रायोजित विचार प्रवाहित गरिरहेका कथित बुद्धिजीवीहरु र अहिले सत्ता, शक्ति र कुर्सीको तरमारिरहेका सबै सजग हुने हो भने मुलुक र समाजमा अहिले देखा परिरहेका अधिकांश समस्याहरुको स्वतः समाधान हुने देखिन्छ ।
त्यसैले इतिहासको गति कसैले रोक्न चाहेर पनि रोक्न सक्दैन भन्ने तथ्यको स्मरण नेताहरु, मिडियाकर्मीहरु, सुरक्षाकर्मीहरु र लेखकहरु समेत सबैले सँधैभरी स्मरण गर्न जरुरी छ । मुलुकभित्र द्वन्द्व र अराजकताको सिर्जना गरेर नेपाललाई विदेशीको कृडाभूमि बनाउने तानाबाना कसैले बुन्न नसकोस् भन्नका निम्ति कुर्सीमा बस्ने र नबस्नेहरु सबै उत्तिकै सजग हुनुपर्छ र आवश्यकता अनुसार सहकार्यको निम्ति समेत अग्रसर हुनुपर्छ ।
कुर्सीमा बसेकाहरूलाई गोयबल्स प्रवृत्तिमा डुब्न नदिनको निम्ति संचार जगतको महत्वपूर्ण भूमिका हुन्छ । संचार जगतको ठूलो हिस्सा राजनीतिक आग्रह र स्वदेश विदेशबाट दृश्य अदृश्य रुपमा प्राप्त हुने मौद्रिक वा अरु लालचबाट प्रेरित भएर प्रायोजित र असत्य सूचनाको संप्रेषण गर्ने कार्यमा रमाउन र डुब्न थाल्यो भने त्यसबाट कुर्सीमा बस्नेहरु, कुर्सीको नजिकमा बस्नेहरु र कुर्सी ढुकेर बस्नेहरु निरंकुश हुन्छन्, स्वेच्छाचारी हुन्छन् र अहिलेलै जस्तो “प्रजातन्त्र’’ वा “लोकतन्त्र’’ वा “जनतन्त्र’’ र “मानव अधिकार’’, “कानूनको शासन’’ र “निमुखा समेत सबैलाई न्याय’’का सपनाहरु नारामा मात्र सीमित हुन्छन् र समाजले अहिलेको नेपालकै कस्तो नियतिको सामना गर्नुपर्छ । तर, अहिले पनि साँघु साप्ताहिकलगायतका कतिपय संचार माध्यमहरुले सत्य सूचनाको सम्प्रेषण गर्ने काममा खेल्दै आएको भुमिका स्तुत्य छ।
त्यसैले साँघु साप्ताहिकले ४२ वर्ष पूरा गरेर ४३ वर्षमा प्रवेश गरेको अवसरमा साँघु साप्ताहिकले आफूलाई गोयबल्स प्रवृत्तिबाट मुक्त वा अलग राखिरहन सकोस् हार्दिक शुभकामना छ । (साँघु साप्ताहिक, २०८२ वैशाख १)
प्रतिकृया दिनुहोस