• बुधबार-बैशाख-१०-२०८२

शान्तिपूर्ण प्रदर्शनमा गोली–ग्यास ! : लोकतन्त्रको नाममा भयंकर दमन ?

 

२०८१ चैत्र १५ गते संघीयता खारेजको माग गर्दै राजतन्त्र र हिन्दु राष्ट्रका समर्थकहरुले काठमाण्डौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनमा सरकारले गरेको ‘अन्तिम बल प्रदर्शन र प्रयोग’ले नेपालको लोकतन्त्र वा प्रजातन्त्र र मानव अधिकारको अवस्थाप्रति देश तथा विदेशमा ठूलो प्रश्न खडा गरेको छ । 


सो घटनामा सरकारले ६० राउण्ड गोली चलाएको, ७६० अश्रु ग्याँस हानेको र १९२ ब्लेङ्क फायर गरेको औपचारिक जानकारी नेपाल प्रहरीले दिएको छ । घटनामा २० जनालाई गोली लागेको जानकारी समेत  प्रहरीले दिएको छ । सो दिन घटनामा  दुईजनाको मृत्यु भएको कुरा सार्बजनिक जानकारीमा पहिले नै आएको हो । ‘जनधारणा खबर’ र ‘हिमाल खबर’ डट कमले गोप्य प्रतिवेदनको हवाला दिएर तीनकुने घटनामा एस एल आर र इन्सासजस्ता स्वचालित हतियारबाट गोली चलेको कुरा बताएका छन् । सरकारले सो दिनको प्रदर्शनमा सहभागी भएका सांसद धवल शमशेर राणा र रविन्द्र मिश्रलगायतका नेताहरुलाई पक्राउ गरेको छ ।  


 सो घटनाका सम्बन्धमा सार्बजनिक भएका विवरणहरुमा आन्दोलनकारी नेताहरु शान्तिपूर्वक मञ्चमा उभिएको र राष्ट्रिय गान बजिरहेको बेलामा प्रहरीले छाडेको अश्रु ग्याँस फैलिन थालेको दृश्यहरु समेत देखिएका छन् । सत्तारुढ दलकै कतिपय साँसदहरुले आन्दोलनकारी शान्त रहेको अवस्थामा सरकारले शक्ति प्रयोग गरेर  प्रदर्शनकारीलाई उक्साएको विचार प्रकट गरेका छन् र  घटनाको निस्पक्ष र स्वतन्त्र छानबिन गर्नका निम्ति उच्चस्तरीय न्यायिक आयोगको गठन गर्नुपर्छ भन्ने रा. प्र. पा.को मागको समेत समर्थन समेत गरेका छन् ।


नेपालको संविधानको भाग–३ मा उल्लिखित मौलिक हक र कर्तब्य अन्तर्गत धारा– १७ को उपधारा (२)मा नेपाली नागरिकहरुलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता छ र धारा १८ मा समानताको हक समेत  उल्लेख भएको छ । यस घटनाका विषयमा अहिलेसम्म सार्बजनिक भएका विवरणहरुले सरकारले अनावश्यक बल प्रयोग गरेर संवैधानिक व्यवस्था अनुसार,  शान्तिपूर्ण विरोध प्रदर्शनमाथि दमन गरेको देखाएका छन् । यसबाट  संबिधानले दिएको स्वतन्त्रताको हकमाथि सरकारी र संस्थापन पक्षबाट चर्को  दमन र प्रहार हुन पुगेको स्पष्ट हुन्छ ।

 
 घटनाका सम्बन्धमा नेपाली मिडियाहरुले मात्र होइन, विश्वभरका संचार माध्यमहरुले विभिन्न बिवरणहरु सार्बजनिक गरेका छन् । भारतका धेरै टेलिभिजन च्यानलहरु, अनलाइन समाचार संस्थाहरु र युट्युबहरुले निरन्तर उक्त घटना सम्बन्धी सूचनाहरु र अन्तर्वार्ताहरु समेत संप्रेषण  गर्दै आएका छन् ।  यसरी उक्त घटना र आन्दोलनका सम्बन्धमा विश्वका अन्य मुलुक संबद्ध धेरै संचार माध्यमहरुले निरन्तर प्रसारण र प्रकाशन गर्दै आएका सामग्रीहरुबाट नेपाली मिडियाको एउटा ठूलो हिस्साले सत्यतथ्य तोडमरोड गरेर प्रायोजित सूचना संप्रेषण गर्न लागि परेको छ भन्ने तथ्य समेत उदाङ्गो बनाइदिएको छ । यस घटनाले नेपाली समाजमा केही समय अघिदेखि  मिडियाका “१२ भाइ’’को नामले चिनिदै आएका “१२ भाइ समूह’’का संस्थाहरुको संख्या १२ मात्रै नभएको तथ्य समेत उदाङ्गो भएको र तिनले संप्रेषण गर्ने सूचनाको विश्वसनीयतामा नै प्रश्न खडा गरिदिएको समेत छ ।


घटनाको सम्बन्धमा अहिलेसम्म सार्बजनिक भएका तथ्यहरुले नेपालमा नागरिक समाज, बार, बुद्धिजीवी, मानव अधिकारकर्मी र मानव अधिकार सम्बन्धी संघ÷संस्था र न्यायिक निकायहरुको भूमिकाको स्वतन्त्रता र निस्पक्षतामा समेत ठूलो प्रश्न खडा हुन थालेको र भएको समेत छ । नेपाल असफल राष्ट्र हुने दिशामा अग्रसर भएको कुरा समेत विदेशी संचार माध्यमहरुले उठाउन थालेका छन् । 


राजनीतिक दल र तिनका नेता तथा सरकारले नागरिकहरुको आफ्नो असहमति र विरोध  प्रकट गर्न पाउने अधिकारमाथि आक्रमण र दमन गरेर होइन, असहमत पक्षसित वार्ता र छलफल गरेर समस्याको समाधान खोज्ने प्रयास गर्न आवश्यक छ । आन्दोलनका विरोधमा प्रति–आन्दोलन गर्न र असत्य र भ्रामक सूचनाको संप्रेषण गर्न, गराउन उद्दत राजनीतिक दलहरु र तिनका नेताहरु तथा कथित मिडियाकर्मी र प्रायोजित मानव अधिकारकर्मी तथा प्रायोजित बुद्धिजीवीले जति छिटो समस्या खुट्याएर समाधानको खोज्छन् मुलुक त्यति चाँडै समस्याबाट मुक्त हुने देखिन्छ ।

 

आफूलाई अरुले जस्तो व्यवहार गरेको मन पर्दैन त्यस्तो व्यवहार आफूले अरुप्रति पनि गर्नु हुँदैन भन्नेकुरा भगवद्गीता तथा महाभारतमा कृष्णले बताएका छन् । आफूले अरुप्रति जस्तो व्यवहार ग¥यो समय आएको बेलामा अरुले आफूप्रति पनि त्यस्तै व्यवहार गर्न सक्छन् भन्नेकुरा प्रधानमन्त्री, मन्त्री र सत्ता तथा प्रतिपक्षका नेता कार्यकर्ताहरुले निरन्तर स्मरण गर्ने हो भने अहिलेका धेरै समस्याको स्वतः समाधान हुन्छ भन्ने कुराको सबैले स्मरण गर्नुपर्छ । (साँघु साप्ताहिक, २०८१ चैत २५)
 

प्रतिकृया दिनुहोस