किएभ, युक्रेन, २४ चैत (रासस/एएफपी) : रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट विदेशी भाषामा प्रसारण हुने सरकारी च्यानलको कार्यालय रहेको भवन आंशिक रुपमा ध्वस्त भएको एक टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।
रुसले युक्रेनमा आइतबार गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने कैयो सरकारी कार्यालयहरूमा क्षति भएको थियो ।
रुसी भाषामा प्रसारण हुने फ्रिडम टेलिभिजन च्यानलले आफ्नो रिपोर्टमा भनेको छ, “अप्रिल ६ मा किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणले युक्रेनको स्टेट फरेन ब्रोडकास्टिङ इन्टरप्राइजेजको सम्पादकीय कार्यालय रहेको भवनमा ठूलो क्षति पु¥याएको छ । "
"आक्रमणबाट विदेशी प्रसारण च्यानलहरू अवस्थित व्यापारिक केन्द्रको माथिल्लो तीन तल्लाहरू पूर्ण रूपमा नष्ट भएका छन् भने तल्लो तल्लामा पनि ठूलो क्षति पुगेको छ र अहिले प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ," फ्रिडमले उल्लेख गरेको छ ।
किएभका अधिकारीहरूले यसअघि रातभर भएको क्षेप्यास्त्र आक्रमणबाट व्यापारिक केन्द्रको केही तल्लामा क्षति पुगेको बताएका थिए । आपतकालीन सेवाहरूले आक्रमणपछि एउटा ठूलो भवनको छाना भत्केको र झ्यालहरू फुटेको तस्बिरहरू पोस्ट गरेका छन् ।
उक्त भवनमा फ्रिडम, डोम, युएटीभी इङ्लिस, द गेज, युएटीभी एस्पानोल, युएटीभी अरबी र युएटिभी पोर्टुगुएस सरकारी विदेशी भाषाका टेलिभिजन च्यानल र अनलाइन सञ्चारमाध्यम रहेका छन् । आक्रमणमा कुनै पनि कर्मचारी घाइते नभएको सरकारी प्रसारण संस्थाकी प्रमुख युलिया बिनले बताउनुभएको छ ।
बिनका अनुसार गत फेब्रुअरीमा यसअघिको आक्रमणले आफ्ना कार्यालयलाई निशाना बनाएपछि च्यानलहरू हालै मात्र भवनमा सरेका थिए । “दुई महिनाभन्दा कम समयमा भएको यो दोस्रो आक्रमण हो। यस पटक नष्ट भएको कार्यालयमा हामी फेब्रुअरीको आक्रमणपछि भर्खरै सरेका थियौँ,” बिनले भन्नुभयो ।
---
प्रतिकृया दिनुहोस