• बिहीबार-बैशाख-४-२०८२

वालिङ कृषि विकास परियोजनाबाट १३ सय घरधुरी उद्यमशीलतामा


वालिङ, चैत २६।  स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको छ। नगरपालिकाको साझेदारीमा, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भएको परियोजनाले हालसम्म १,३०० घरधुरीलाई उद्यमशीलता अभियानमा सहभागी गराइसकेको छ।

 

परियोजना अनुगमन तथा समन्वय समितिको बैठकमा परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले परियोजनाको प्रगति विवरण प्रस्तुत गर्दै एक हजार छ सय घरधुरीलाई लक्षित गरिएको परियोजनामा हालसम्म उल्लेखनीय सहभागिता हासिल भइसकेको जानकारी दिए ।

 

परियोजनाले साना किसानको गोठ सुधार, बाख्राको नस्ल सुधार, बेमौसमी तथा मौसमी तरकारी खेती, र उत्पादनको बजारीकरण जस्ता विषयमा काम गर्दै आएको छ।

 

नगरप्रमुख कृष्ण खाँणले परियोजनाले छोटो समयमा नै प्रभावकारी कार्य गर्दै साना किसान र महिलालाई उद्यमशील बनाउने अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । “नागरिकको जीवनस्तर उकास्न उत्पादनसँग जोड्नु आवश्यक छ, त्यसका लागि पालिकाले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको छ,” उनले बताए । 

 

कार्यक्रममा वडा अध्यक्षहरूले परियोजनाको पहुँच अझै विस्तार गर्न सुझाव दिए। वडा नं. १ का अध्यक्ष एवं नगर प्रवक्ता पदमराज गुरुङले “वडास्तरमा महिलाहरूलाई उद्यमशील बनाउन परियोजनाले सहयोग पुर्‍याएको” बताए । अन्य वडाध्यक्षहरू—पोतप्रसाद लम्साल, भीमबहादुर गुरुङ, छबिलाल आले, श्यामकृष्ण श्रेष्ठ, र पाण्डुकुमार थापाले पनि परियोजनाको प्रभावकारिता उल्लेख गर्दै १४ वटै वडामा विस्तार गर्न जोड दिए ।

 

कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह्रे, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, विभिन्न शाखा प्रमुख, कार्यपालिका सदस्य तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

 

सो अवसरमा चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्म गरिएका प्रमुख क्रियाकलापबारे पनि जानकारी गराइएको संयोजक डुम्रेले बताए ।

प्रतिकृया दिनुहोस