रामेछाप । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले मार्क्सवादीले हरेक कुरामा द्वन्द्व हुन्छ भन्ने कुरा बिर्सन नहुने बताएका छन् ।
आइतबार मन्थलीमा आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै ज्ञवालीले जहाँ जहिले जुनसुकै कुरामा सकारात्मक र नकारात्मक कुरा हुने बताए । ‘कम्युनिष्ट सबैभन्दा पहिला द्वन्द्ववादी हुनुपर्छ, मन पर्दा सबै कुरा ठिक, मन नपर्दा सबै बेठिक भन्ने कुरा गलत हो’, उनले भने ।
देशमा लोकतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा गलत भएको ज्ञवालीले बताए । ‘तपाईँ हामी लडेर केही पनि भएन त रु तर जति हुनु पर्ने त्यति भएन, धेरै भएको छ, तर पुगेको छैन’, उनले भने । अहिलेको असन्तुष्टिलाई नयाँ परिवर्तनको लागि भएको असन्तुष्टिको रूपमा लिनु पर्ने उनले बताए । विवाद जहाँ पनि हुने बताउँदै उनले विवाद हुँदैमा जोगी हुन वा जङ्गल पस्न नसकिने उनले स्पष्ट पारे । सधैँ, विरोध र आलोचना गरेर अघि बढ्न नसकिने उनले स्पष्ट पारे । ‘बेठिक कुराको आलोचना गर्नुपर्छ, ठिक गरेको कुराको सम्मान गर्नुपर्छ’, उनले भने ।
टुटफुट र विभाजनबाट एक भएर अघि बढ्न र असहमतिका कुरामा छलफल गरेर सही बाटोमा अघि बढ्नु पर्ने उनको धारणा छ । गलत कुरालाई निषेध र राम्रो कुरालाई अघि बढाउँदै जानु पर्ने उनको धारणा छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदानका बारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरी टिप्पणी समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस