• सोमबार-चैत-१८-२०८१

राजनीति, धर्म र न्यायबारे मनका गफहरु पढ्ने त ?

हिन्दुले नै हाँकेको, र हिन्दुलाई नै कुल्चिने गरेको-धर्म निरपेक्षता !
तिलक बहादुर थापा–राजनीतिक नाम टीवी थापा र टिप्पणीकार जे आर बराल

 “मलाई गगनको नामसँग जोडेर मेरो परिचय नदिनुहोस् है, भीमसेन थापा–माथवरसिंह–अम्बरसिंह–भक्ति थापाको वंश म गोदार थापा दुईथरी कुरा गर्न जान्दिन, देश भक्त हुँ, राजा महेन्द्रले वीपीलाई राजनीतिक प्रतिद्वन्द्वी देख्नु भयो, हामीलाई दरवारको भित्री कलहले उपत्यकाबाट लखेटेपछि सिन्धुली पुग्यौँ, फेरि सोलुतिर गयौँ । गगन माइलोको पनाति म जेठोको नाति तर मेरो पार्टी र जनतामाझ टीवी थापा भनेर पहिचान कायम छ, अरुसँग जोड्न पर्दैन ।

 

-“धर्म निरपेक्षता  एउटा यस्तो सवारी साधन हो, जसलाई हिन्दुले नै हाँकेको, र हिन्दुलाई नै कुल्चिने गरेको, र रमिता पनि हिन्दुले नै हेर्ने गरेका छन् “


 काँग्रेसमा जिन्दगी बित्यो तर अचेल वितृष्ण लागेको छ नेपाली राजनीति देखि । राष्ट्रनिमार्ण राजा तथा जनताहरु मिलेर गरे । 

यलम्बरदेखि अहिलेसम्मको इतिहासमा उथलपुथल आएकोमा भारदार र राजाहरुबीचको आपसी, परिवारिक सवै झै-झगडा हो । 

 

एउटा राजालाई राजा पदवी दिएमा अरु बाईसे चौबिसेले पनि खोज्न के बेर, सर्वत्र अराजकता छ, अनुशासन कुन चराको नाम हो थाहा छैन” भन्दै सोलखुम्बु निवासी हाल भक्तपुरको नयाँ थिमीस्थित सूर्यविनायक–३ ब्रह्मनगरको गौरीशङ्करमार्ग परिसरसँगै डेरामा बस्नु हुने तिलक बहादुर थापा–राजनीतिक नाम टीवी थापा निर्धक्कसँग भन्नु हुन्छ । मैले उहाँसँग तस्बिर लिएँ, खुसी हुनुभयो ।

गाउँमा अहिले कोही गयो भने प्रकृतिको वसन्तमात्र हैन, सङ्घीयता खारेज हुन्छ, प्रदेश हट्छ भन्ने खुसीको हल्लाको वसन्तपनि आएको चर्चा सुनिएको सन्दर्भमा मसँग सामाजिक सञ्जालमा जोडिनु भएको भारतीय साहित्य लेखकको–“गाउँमा वसन्त आयो भनेर कसले शहरमा यस्तो हल्ला गरेछ”(अनन्त आलोक । सामाजिक सञ्जालको भित्ताबाट । १५ फरवरी ई.सं.२०२५) भन्ने मुक्तक पनि सम्झना हुन्छ ।


“पहिले त्रासदीमा पछि प्रहसनमा इतिहासले आफैलाई दोहोर्‍याउँछ” भनेर कार्ल मार्क्शले उहिले भन्नु भएको कुरा अचेल राजतन्त्रवादीभित्र तथा अन्य राजनीतिक दलभित्रका गुट उपगुट, कुलमान घिसिङ्ग प्रकरणमा काँग्रेसको एक समूहको सरकारी विरोध,अमेरिकी समर्थक भियतनाम कम्युनिष्ट पार्टीको विधानमा भएको जरा(रूट) कार्यक्रम अनुरूप नेकपा एमालेले गर्न थालको जरा अभियानले कहिँ मूठभेड त निम्त्याउने हैन ? आशङ्का जन्मिसकेको छ । 

 

भन्न त भन्देलान-नेपालका २, ३ वटा कम्यूनिष्ट पार्टी बाहेक अरु सबै ठूला साना नेपाली कम्युनिष्ट दलहरु अमेरिकी समर्थनको नेपाल भियतनाम कम्युनिष्ट पार्टीहरु कै व्यवहार र चरित्रका पार्टी भएकाले उनीहरु कोष्टारिका, स्वीजरलैण्ड, भियतनाम, कम्बोडिया भ्रमण गर्छन् र आर्थिक मामिलामा मात्र विवादमा पर्दैनन् नेपाली जरा कार्यक्रममार्फत अस्थिरता ल्याउन अदृष्य शक्तिले चलखेल गर्न योजना गरेको भनेर पनि चौक गल्ली, समारोहमा हल्ला होला । 

 

दलहरुलाई सहज छ भनिदिन कि भ्रामक, मिथ्या हल्ला गर्नेहरुका लहैलहैमा नलाग्नुस भनेर । दलहरु बिच मूठभेड हुने हल्ला खल्ला गर्न चाहिँ थालिएको नै छ ।  


योगमाया, पं.छविलाल पोखरेल, नारायण पोखरेलहरुको पनि चर्चा हुन्छ । ईश्वरलाई देख्न सकिदैन,अव्यक्त हुनुहुन्छ । सत्य, तथ्य, दया, शान्ति, न्याय, सदाचार, नैतिकता, सबै धर्मको व्यवस्था हो । धर्म राजनीतिको अस्त्र हुन सक्दैन । यो सामाजिक एकताको आधार हो । 

 

कराडौँको सवारी साधनमा चढेर ठूला धनाढ्यलाई सहजै भेट दिने तर निम्न तथा सर्वसाधारणलाई आडम्वरता दर्शाउदै दर्शन दुर्लभताको स्वाङ्ग रच्नेहरु अहिले धार्मिक व्यापारका प्रमोटर भएका छन् ।


   पाखण्डी, धार्मिक आवरणमा अनैतिक काम गर्ने, धर्मको व्यापार गर्ने, जनताको विश्वास तथा आस्थाको दोहन गर्ने र अज्ञानीहरुलाई धर्मको प्रचार वा धार्मिक कार्यक्रममा सहभागी नै गर्नु हुन्न ।


“यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः । वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।–जो मानिस धर्मलाई देखावटी गर्छन् तिनीहरु स्वयं ईश्वर जस्तो तत्वलाई नमान्ने भएकाले उनीहरुमाथि ईश्वरको कहिले पनि विश्वास हुन्न”(भगवद्त गीता २।४२) ।


पुराणहरुमा पनि भनिएको छ-“ये ही पापरतास्तार्क्ष्य दयाधर्मविवर्जिताः ! दुष्टसंगाश्च सच्छास्त्रसत्संगतिपरांगमुखः !!–जो मानिस पापी र निर्दयी छन, हरेक क्षण आशुरी शक्तिमा लिप्त हुन्छन्, सधैँ धर्मलाई देखावटी रुपमा लिन्छन् उनीहरुको स्थान नर्कमा हुन्छ”(गरुड पुराण १।२६) ।


“मैले बुझेअनुसार रामराज्य भन्नुको मतलब हिन्दु राज्य हैन । मेरो बुझाइमा रामराज्यको अर्थ हो-ईश्वरको राज्य । मेरो लागि, राम र रहिम एकै हुन् । म सत्य र धार्मिकताको ईश्वर बाहेक कुनै अरु  ईश्वरलाई स्वीकार गर्दिन“(महात्मा गान्धी, यङ्ग इण्डिया । १९ सेप्टेम्वर ई.सं.१९२९) भन्ने बिचार समेत राखेर यो पक्तिकार समेत जोडिएको सोशल मेडिया जनविचार सम्वादमार्फत साझा गरिएको एक भारतीय साहित्य लेखकको मुक्तक-“कसैलाई राम हुनुहुन्छ भन्ने विश्वास थियो,परन्तु रामराज ल्याउने चिन्तन गर्दथे । 

 

कसैलाई रामराज भएको विश्वास थियो, तर रामलाई ल्याउने भ्रम थियो”(राजीब लखेरा,२० जनवरी ई.सं.२०२४) ले हिन्दुवादी र हिन्दुत्ववादी बीचको अर्थ खोजेको जस्तो लाग्यो ।


  नेपाल देश यदि धार्मिकतासँग आवद्ध हुन्छ भने स्व.राजा महेन्द्रको पालाको जस्तो–पञ्चायती व्यवस्थाको जस्तो धार्मिक सामञ्जस्य-एकता-साहिष्णुता कायम हुनुपर्छ, हिजोको पञ्चायती व्यवस्थामा जस्तै बह्मा-विष्ण-महेश सहित अवको व्यवस्था फेरि बुद्ध, शीख, जैन(हिष्ट्री डटकम । हिन्दुइज्म । 

 

०६ अक्टुवर ई.सं.२०१७ अद्यावधिक २७ फरवरी  ई.सं.२०२५) कविर सवै धार्मिक आस्था र विश्वासको ‘हिन्दुवादी’ तथा इसाईवादी एवं इस्लामवादी सहभागिताको सहमति सम्प्रेषण हुनुपर्छ न कि धार्मिक घृणा फैलाएर, धर्मलाई अर्थको प्रलोभनमा बेचेर समाजमा दङ्गा, हिंसा र कालान्तरमा युद्धको क्षेत्रीय औजार हुनेगरी सिर्जना गर्ने गरी ।


कसैको बैशाखीमा प्राप्त सेवोपहार ‘हिन्दुत्व’ सर्व नेपाली स्वीकार्य नहुन सक्छ । मसँग सामाजिक सञ्जालमा जोडिनु भएका सचेत भारतीय नागरिकले भन्नु भएको-“धर्म निरपेक्षता  एउटा यस्तो सवारी साधन हो, जसलाई हिन्दुले नै हाँकेको,र हिन्दुलाई नै कुल्चिने गरेको, र रमिता पनि हिन्दुले नै हेर्ने गरेका छन् “(बीपी बहुगुणा-नगर संयोजक, धर्म जागरण समिति राष्ट्रिय स्वयं सेवक सङ्घ संस्थापक, सवर्ण कल्याण परिषद,कवि एवं लेखक ।


 सामाजिक सञ्जालको भित्ताबाटमार्फत हा मै हिन्दु हुँ ब्लग। २५ मार्च ई.सं.२०२५) कुराले यथार्थता उजागर गरेको छ जस्तो लाग्छ अचेल धर्मसँग राष्ट्रको सम्वद्धताको चर्चा चल्दै गर्दा ।   


धार्मिक कार्यक्रम आयोजना गर्ने भनेर जसपाका औरही गापा अध्यक्षले दलितको घरमा डोजर लाएको खबर त फैलियो । यस्ता कार्यक्रममा अर्धनग्न भित्रका अङ्ग समेत देखिने नर्तकीहरुलाई मञ्चमा नचाउने गरिन्छ ।


२०८१  चैत १३ गतेमा यसो सामाजिक सञ्जाल खोलेको त मेरा सामाजिक सञ्जाल मित्र भारतीय सचेत नागरिकको यस्तो बिचार-“अचेल पहिलो प्राथमिकतामा अर्थ, नाता गोता सब व्यर्थ । समर्थवानसँग भरपुर हुन्छ साथमा अर्थ, उन कै मान्नुपर्छ सबै शर्त”(जीके बाजपाई,भारत । सामाजिक सञ्जालको भित्ताबाट । २६ मार्च ई.सं.२०२५)  पहिलो दृष्टिमा नै हेर्दा उता र यताको जन नियति उस्तै लाग्यो ।  


विगतको सामान तस्करी गरेको मुद्दा जिल्ला तथा उच्च अदालतले सरकारको पक्षमा फैसला गरेर तस्करलाई सजाय तोकेपछि पछि फेरि सर्वोच्चमा मुद्दा दायर गर्न तस्करहरु कसरी सफल भए ? फैसलामा किन ढिलो भैराखेको छ भनेर सरकारको हित चाहने न्यायको पक्षपाती प्रशासक वा पूर्व प्रशासकहरुलाई स्वभाविक जिज्ञाशा राख्न खोजेमा कसैलाई अचम्म लाग्नुपर्ने गरी सिर्जना गरिएको कुनै कृत्रिम जिज्ञासा हुन सक्दैन ।


नेपालमा सरकारका हितमा दायर गरिएका मुद्दाहरुको फैसला वा भैसकेका फैसलामा फेरि तोडमोड आधार खडागरेर पुनः अर्को मुद्दा किन पेश हुन्छन् र किन बहश पैरवी पछाडि सर्न थाल्छ भन्ने कुरा पनि बहशको विषय हुन सक्ला । 

 

दिल्लीमा न्यायधीशको करोडौँ रकम आगोले जलेर नष्ट भएपछि अनेकौँ बहश शुरु भएका छन् सञ्चार माध्यममा(लोकतन्त्र हो भन्ने ठानेर होला नडराई भारतीय व्यङ्गचित्रकार काजलकुमारले व्यङ्गचित्र पनि बनाउनु भयो) ।


भारतमा विहारका पूर्व मुख्य मन्त्री तथा पूर्व केन्द्रीय रेल मन्त्री लालु यादवको जमानत ३ महिनामा भयो अनि फैसला १७ वर्षपछि ,जय ललिताको जमानत १५ दिनमा तर फैसला १८ वर्षमा र अभिनेता सलमान खानको ३ घण्टामा जमानत र फैसला १३ वर्षमा भएको थियो भनेर भारतमा सोसल मेडियामा चर्चा पाएको सन्दर्भमा भारतका स्पष्ट, स्वच्छ तथा कानूनी सिद्धान्त पालना गर्ने राम्रामा गनिएका चर्चित केशवानन्द भारतीविरुद्ध केरला राज्य ई.सं.१९७३ को मुद्धा हेर्ने पूर्व प्रधान न्यायाधीश विश्वेस्वर नाथ खरेको–“पैसा नभए अदालततिर हेर्नु पनि अपराध हुन्छ” भन्ने भनाई पनि सामाजिक सञ्जालमा ट्रोल भएका छन् । नेपालमा तुरुन्त हुनुपर्ने ढिला गर्ने र नगर्दा पनि हुने तर तुरुन्तै गर्ने गरेका फैसलाहरु पनि छन् कि छैनन् होला भनेर उल्लेख गर्न आवश्यक नपर्ला–पाठकहरु जानिफकार विवेकशील हुनुहुन्छ यस बारे ।


 नेपालमा हुनुपर्ने ढिला गर्ने र नगर्दा पनि हुने तर तुरुन्तै गर्ने गरेका फैसलाहरु पनि छन् कि छैनन् होला भनेर उल्लेखगर्न आवश्यक नपर्ला–पाठकहरु जानिफकार विवेकशील हुनुहुन्छ यस बारे । संविधानले कुनैपनि राजनीतिक दलको सदस्य नहुनुपर्ने योग्यता संवैधानिक निकायको नियुक्ति पाउनको लागि व्यवस्था गरेको छ ।

 

र, नियुक्ति कसरी हुन्छ, भैरहेको कसरी छ ? यो पंक्तिकार ५ वर्ष सरकारको वरिष्ठ प्रशिक्षक भएर कार्यरत हुँदा प्रशिक्षण दिन आमन्त्रित संविधानविद्, न्यायाधीशहरुबाट जे सुनियो, जे व्याख्या भयो त्यो बुझेपछि निर्धक्कसँग भन्छु-(क) प्रम केपी ओलीले गर्नु भएको संसद विघटन गलत थियो भनेर मैले फैसला नहुँदै सामाजिक सञ्जालमा लेखेको थिएँ ।

 

(ख) माओवादी केन्द्रसँगको हनिमून छुट्याउन गरिएको फैसला अनि ओली पछिको गठबन्धन सरकार निर्माण गर्ने आधार खडा हुनेगरी कानून तथा माग भन्दा माथि एवं राष्ट्रपति समक्षा पूरा गर्नुपर्ने एउटा प्रक्रिया गर्नै नपर्नेगरी आवश्यकता भन्दा बढी फैसला बोलेको अर्थात त्रुटिपूर्ण थियो ।


(छविचित्र सोजन्यः व्यङ्गचित्र काजलकुमारको सामाजिक सञ्जालको भित्ताबाट  र अरु टीबी थापा सहितको लेखक स्वयंबाट) ।

 

प्रतिकृया दिनुहोस