“हिन्दू आचरण प्रधान सनातन धर्म ब्रह्मनादको ध्वनिबाट ध्वनित भएर सृष्टिको समष्टिमा समाहित भएको सभ्य मानव समाजको दैनन्दिनी हो ! वेद पुराण उपनिषद रामायण महाभारत एवं षड्दर्शनको सार हो, मर्म हो, तन्त्रमन्त्र मष्टोको सम्मिश्रण हो सम्प्रेषण हो ।
विचार, आदत, जनरीति, रूढी प्रथा परम्पराको विकासक्रमबाट विकसित मानव संस्कार हो, सांस्कृतिक गौरव हो, धरोहर हो ! विश्व इतिहास साक्ष्य रहेको छ सभ्य मानव समाजको मूल स्रोत यही सत्य बोध हो ।
यो सत्य प्रकृया मानव संज्ञित प्राणीको कणकणमा समाहित छ, यो सत्य प्रकृयाबाट परिचालित नहुने हो भने मानव समाजको सभ्य प्रक्रियाको जटिलता समाप्त हुन्छ र मानव समाज असभ्य आदिम प्राणीशास्त्रीय समाजमा रूपान्तरित हुन्छ । हिन्दू आचरण प्रधान सनातन धर्म सभ्य मानव समाजको गौरव हो, धरोहर हो । यसमा नकारात्मक असर पर्ने अपाच्य शब्दहरूको स्थान छैन । यसले सहिष्णुता, सहनशीलता, सद्भावनालाई आत्मसात गर्ने निर्देशित आचरणको सम्प्रेषण गरेको छ।
यो मानव विकासको क्रममा विकसित सभ्य मानव समाजको पुञ्ज हो, समष्टि हो कुनै यौटा व्यक्ति विशेषको ठहर होइन, निर्देशित शब्द या वाक्य होइन। सृष्टिको समष्टि रुप यसको परिभ्रमण हो। ब्रह्मा, विष्णु, शिव शङ्कर महादेव महेश महेश्वरसम्म हिन्दू आचरण प्रधान सनातन धर्मका प्रतीक हुन”(मोहन राज चापागाई, पुष्पलालका अनुयायी पछि नेपाली कांग्रेस वीपी वादी ।
सामाजिक सञ्जालको भित्ताबाट । ३ गते चैत वि.सं.२०८१) जस्ता सदाचार एवं संस्कार प्रेरित शब्दहरु मेरा ।
राजनीति गर्नको लागि समाजमा घृणा तथा विभाजन हुने गरि कार्यनीतिक रुपमा र विश्व कब्जा गर्न रणनीतिक रूपमा फैलाउने धर्म सबै तिम्रा ।
एउटै घरमा थियौ हामी
तिमीले अंश वण्डा गर्न खोज्यौ, मिली बसौँ भनेको नै हो ।
तिमीले हुन्न भन्यौ, छिमेकीको कुरा सुन्यौ ।
पल्लो डाँडागाउँका तीनपत्ते खेलेर बिताउने जिम्दार
अरुले उनको कुरामात्र सुन्नु पर्ने–मान्नु पर्ने उर्दीदारसँग हिमचिम बढायौ ।
मैले नै घर छोडिदिएँ
तिमीले यताउति पो गर्छौं कि भनेर धर्मलाई उपरोक्त अनुसार नै गरौं
ल भैगो, अरु बाँकीलाई चाहिँ यस्तो अंशवण्डा गरौँ है त ?
सबै तस्कर अनि तस्करी गर्ने करोडौँ पनि तिम्रा, इमान्दार उधमी मेरा ।
सबै हुक्के–बैठके–हा हु भिड तिम्रा,
विमानस्थलमा मनभारी पारेर विदा गर्न र विदा हुन लागेका भिड मेरा ।
सबै गिट्टी बालुवा, डाँडा–थुम्का–खोल्सा–खोला–खहरे–तिम्रा, मातृभूमिको माटो मेरा ।
हत्यारा, ठग, चेलीबेटी तथा मानव तस्कर, चोर, डाका, माफिया,
डन, डिस्को सञ्चालक, ठूला होटलहरु, बैङ्क–सहकारीबाट लिलाम भएका घर जग्गा सवै तिम्रा ।
मजदुर, किसान, सहकारी एवं मिटर व्याजी पीडित
बेचिएका मानवहरुको दुख, बन्द भएका सटरहरुको पीडा सवै मेरा ।
मेहनती, इमान्दार, पेशागत मर्यादामा रहने सबै निर्माण व्यवसायी मेरा
पेश्की लिएर घरजग्गा कारोवार गर्ने, नेताहरुलाई चन्दा दिने र काम अधुरो छोड्ने सवै ठगदार तिम्रा ।
तिमीले अटेरी गर्दै हाँकेर ल्याएका दुराचार, भ्रष्टाचार, माफियातन्त्र, सेटिङ्ग, कुशासन, अलोकतन्त्र
सवै रोक्ने ट्राफिक रेड लाइट तथा लडाकु गजडीहरु मेरा,
तिम्राहरुलाई पाल्न आय आर्जन गर्ने भनेर सामाजिक विकृति भित्र्याउने गरी वेश्यावृत्ति रेडलाइट र गाँजाको नीतिगत तम्तयारी सबै तिम्रा ।
सबै अध्यादेशका हथकडी तिम्रा, स्वतन्त्र उडान सबै मेरा ।
तिमीले नाच्ने गरेका विदेशी बाजा र तालहरु तिम्रा
कर्नाल–नर्सिङ्ह–सहनाई–झ्याम्टा–ट्याम्को–दमाहा–बाँसुरीको मिठो स्वर सबै मेरा ।
कामचोर–भ्रष्ट–दुराचारी–अराजक कर्मचारी र मन्त्रीहरु सबै तिम्रा,
लगनशील–सदाचारी–अनुशासित, कर्मठ कर्मचारी र मन्त्रीहरु जति सबै मेरा ।
हुन्छ हैन त ? ल अब म अंशबण्डालाई कागजमा लेख्छु है त ।
“लेख्नलाई केही गर्नु पर्दैन, टाइपराइटरसँग बस्नुहोस् र आफ्नो रगत बगाउनुहोस्”(अर्नेस्ट हेमिङ्ग वे, साहित्यमा नोबेल पुरस्कार विजेता संयुक्त राज्य अमेरिकाका साहित्य लेखक तथा पत्रकार) ।
(छविचित्र सौजन्यः ड्रिम्सटायम डटकम–एन्थोनी सिजे । मार्फत गुगल इन्टरनेट अधोभार १९ मार्च ई.सं.२०२५ नेपाली समय साँझ ६.४१ बजे) ।
प्रतिकृया दिनुहोस