काठमाडौँ, ५ चैत : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहनुभएकी मन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच आज भेटवार्ता भएको हो ।
भेटका क्रममा उहाँहरूबीच नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसीहितका साथै पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री डा देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
नेपाल र भारतबीच पछिल्लो समय भएका द्विपक्षीय भेटवार्ता, भ्रमणहरूको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशबीचको ट्रेड ट्राञ्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिबारे पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।
---
प्रतिकृया दिनुहोस