नवराज सुवेदी(लठ्ठीबाबा), धवल शमशेर राणा र शिवसेना नेपाल प्रमुख अनिल बाबा
काठमाडाैं । नेपालमा राजतन्त्र पुनर्स्थापना गर्ने आन्दोलन जन्मिनासाथ विवादमा फसेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्ट, सल्लाहकार डा. राजेश झाहरू, नवराज सुवेदी (लठ्ठी बाबा-८६) नेतृत्वकाे संयुक्त आन्दोलन समितिबाट अलग भएका छन् । यसले आन्दोलनभित्र गहिरो मतभेद देखाएको छ।
आन्तरिक विवादको कारण के ?
(२०८१ चैत ४ गते, काठमाडाैं, नवराज सुवेदी (लठ्ठी बाबा-८६) नेतृत्वकाे संयुक्त आन्दोलन समिति घाेषणा गर्दै)
राजतन्त्र समर्थक शक्ति एक ठाउँमा आउने अपेक्षा गरिए पनि, नेताहरूबीच नेतृत्व, उद्देश्य, र रणनीतिका विषयमा मतभेद छ। गणतान्त्रिक व्यवस्थामा अवसर छाेपेर विभिन्न पद र प्रतिष्ठा आर्जन गरेका लिङ्देन र थापाले पहिल्यैदेखि संस्थागत लोकतन्त्रलाई स्वीकार गर्दै आएका छन्, तर कट्टर राजापक्षधर धार र केही समूहहरूको अतिवादी मागले उनीहरूलाई पछि हट्न बाध्य बनाएको देखिन्छ।
भारतको खेल: हिन्दू राष्ट्रको एजेन्डा ?
भारतले सधैं नेपाललाई आफ्नो रणनीतिक क्षेत्र मानेको छ। वर्तमान सन्दर्भमा भारतले नेपालको गणतान्त्रिक हिन्दू राष्ट्र एजेन्डालाई बल पुर्याउने नाममा राजतन्त्र पुनर्स्थापनाको आन्दोलनलाई आफ्नो पक्षमा प्रयोग गर्ने संकेत देखिएको छ । तर यसको पछाडि मुख्य उद्देश्य नेपालमा सत्ता सन्तुलनलाई आफ्नो अनुकूल बनाउने रणनीति हुन सक्ने विश्लेषण रजनीतिक क्षेत्रकाे रहेकाे छ ।
भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई सत्तामा ल्याउन चाहेको चर्चा काठमाडाैंमा चल्ने गरेकाे छ। ओलीले चुच्चे नक्साकाे विषय अगाडि सारेर संसदबाट नक्सा पास गरेपछि चिढिएकाे केपी शर्मा ओली सत्तामा रहेकाे भारतलाई मनपरेकाे छैन ।
एमाले नेताहरूका अनुसार, केपी शर्मा ओलीले नेपालमा ‘राष्ट्रवादी’ छवि बनाएका कारण भारत असन्तुष्ट रहेकाे बताउछन् । नेपाली कांग्रेसका सभापति देउवा भारतप्रति लचिलो देखिन्छन्। राजतन्त्र पुनर्स्थापना आन्दोलनलाई उक्साएर भारतले हिन्दू राष्ट्रको मुद्दालाई हतियार बनाउने सम्भावना रहेकाे विश्लेषण पनि गरिदैछ।
नेपालको भविष्य: दल र नेताहरूमा चेतना जरुरी छ
नेपालका नेता, दल, बुद्धिजीवी, नागरिकले बाह्य हस्तक्षेप र आन्तरिक कलह दुबैप्रति सचेत हुनुपर्छ। लोकतन्त्रलाई बलियो बनाउने कि राजतन्त्र पुनर्स्थापनामा लाग्ने भन्ने विषय गम्भीर छलफलको खाँचो छ। तर विदेशी शक्ति खेल्ने ठाउँ दिने गल्ती नगर्नु चाहिं अहिलेको आवश्यकता हो।
निष्कर्ष:
हिजाे राजतन्त्र जाेगाउन असफल रहेका वृद्ध महापञ्चहरूकाे झुण्ड निर्माण गरेर आजकाे युगमा निर्मल निवास कसरी सफल हुन्छ हाेला ? २०६१ साल माघ १९ गते 'कू' काे असफलता २०८१ चैत ४ गते महापञ्चहरूबीचको फुट र स्पष्ट दृष्टिकोणको अभावकै कारण याे पटककाे कथित आन्दाेलनले कुन रूप लिने हाे ? यदि नेपालका राजनीतिक शक्तिहरू राष्ट्रिय स्वाधीनताको पक्षमा एकजुट हुन सकेनन् भने बाह्य प्रभाव झन् बढ्नेछ। त्यसैले नेपालले आफ्नै निर्णय लिने आत्मनिर्भरताको बाटो रोज्नुपर्छ ।
प्रतिकृया दिनुहोस