• शनिबार-चैत-२-२०८१

विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा

 

म्याग्दी  : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति घटाउन, सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र सरोकार भएका निकायको क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ । 


प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको २३ नम्बर बाहिनीले आज  म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटा र वडा नं.–५ हाडेभिरमा आयोजना गरेको प्रदेशस्तरीय विपद् प्रतिकार्य नमूना अभ्यास कार्यक्रममा उहाँले विपद्बाट हुने क्षति घटाउन आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता हो भन्नुभयो । 


“भौगोलिक विविधतायुक्त गण्डकीमा बाढीपहिरो, डुबान, आगलागी, हिउँपहिराको जोखिममा रहेका स्थानको पहिचान गरी विपद्को पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनका लागि सुरक्षा र सरोकार भएका निकायको क्षमता बढाउन प्रदेश सरकारले नेपाली सेनालगायत सङ्गठित सङ्घसंस्थाहरुसँगको सहकार्यमा जोड दिएका छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । 


नेपाली सेनाको पश्चिम पृतनाका प्रमुख मधुकरसिंह कार्कीले विपद् व्यवस्थापनमा परिचालन हुने सुरक्षाकर्मीको क्षमता विकासका साथै समुदायस्तरमा चेतना अभिवृद्धिका लागि नमूना अभ्यास गरिएको बताउनुभयो । 

 

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, स्थानीय तहका जनप्रतिनिधि,सुरक्षा अधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको नमूना अभ्यास प्रदर्शनीको स्थानीयवासीले अभिरुचिपूर्वक अवलोकन गरेका थिए । नेपाली सेनाको टोलीले विपद् प्रतिकार्यका १० वटा अभ्यास प्रस्तुत गरेको थियो । 
 

प्रतिकृया दिनुहोस